भेटी चोरीमा कोषाध्यक्ष सुवेदी नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै हुन्थ्याे १५ हजारसम्म चोरी

तेजन खड्का

काठमाडाैं
फाइल तस्विर
फाइल तस्विर

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै भेटी चाेरीमा संलग्न रहेको खुलेको छ।

पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएकाे भेटी चाेरी गर्दागर्दै साेमबार कर्मचारीसहित आठ व्यक्ति पक्राउ परेका थिए। उनीहरु काेषका काेषाध्यक्ष सुवेदीकाे निर्देशनमा  भेटी चाेरीमा संलग्न भएकाे खुलेकाे हाे।

पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको छ। कोषको नेतृत्वले महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको छ।

प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेकाअनुसार कोषका तर्फबाट भेटी चोरी भएको सूचना पाएपछि गएको प्रहरी टोलीले त्यसमा संलग्नलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा दिएक थिए।

कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी आएपछि सिसिटिभीको निगरानीमा राखिएको बताए। उनकाअनुसार सिसिटिभीको निगरानीका क्रममा सोमबार चोरी कार्यमा संलग्नको पहिचान भएपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएर पठाइएको हो।

‘मन्दिरका दर्शनार्थीले श्रद्धाले चढाएको रकम चोरी गर्ने गिरोह समातिएको छ। बाँकी प्रहरी अनुसन्धानबाट खुल्नेछ,’ थापाले भने।

पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख पचास हजार रुपैयाँसम्म भेटी सङ्कलन हुन्छ। कोषका प्रवक्ता रेवतीरमण अधिकारीले सङ्कलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको बत्तिसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने बताए।

उनकाअनुसार पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सिसिटिभी फुटेजमा देखिन्छ।

भेटी सङ्कलनको जिम्मेवारी पक्राउ परेका नवराज ढोडारीले हेर्दै आएका छन्। बाजा बजाउने कर्मचारीलाई आर्थिक नियमावलीविपरीत खटाएका हुन्, कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले। पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएका छन्। परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म लाने गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

कोषाध्यक्ष सुवेदीले बाजा बजाउने कर्मचारीलाई रकम सङ्कलनमा खटाउन नमिल्ने कोषले जनाएको छ। ‘आर्थिक नियमावलीअनुसार विशेष अवस्थाबाहेक बाजा बजाउने कर्मचारीलाई मात्रै होइन, अरुलाई पनि अर्को कुनै शाखामा पठाउन मिल्दैन, भेटी सङ्कलनमा त खटाउन पाइँदैन,’ उनले भने।

पक्राउ परेका परियारले ज्याकेट लगाएर आउनु भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका छन्।

‘सिसिटिभी छ, हामी यस्तो काम नगर्ने भन्दा केही हुँदैन, कसैले देख्दैन, गर गर भन्नुभयो, अनि गरेको,’ उनले बयानमा भनेका छन्। परियारसहित भेटी चोरीको गिरोहले सोमबार मात्रै नौ हजार रुपैयाँ लुकाएर लगेको बयान प्रहरीसँग दिएका छन्।

कोषाध्यक्ष सुवेदीले भेटी चोरीको विषय आफूलाई थाहै नभएको भनेर तर्किए। ‘कहिले कहाँ चोरी भएको रहेछ? मलाई थाहै छैन’, यत्ति भनेर उनले फाेन काटे।

प्रकाशित मिति: : 2024-05-21 15:22:00

प्रतिकृया दिनुहोस्