अप्रिलको पहिलो दिन सिरियामा रहेको इरानको दूतावास परिसरमा इजरायली फौजले गरेकाे आक्रमणको बदला स्वरुप शनिबार राति इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोनहरू बर्षायो। यो दुई देशबीचको लडाइँ हो तर उसै पनि केही वर्षदेखि खलबलिएको मध्यपूर्वको तनाव झन बढ्नेछ अनि त्यसको असर पूरै विश्वमा देखा पर्ने निश्चित छ।
दुई वर्षदेखि चलिरहेको रुस-युक्रेन युद्ध र इजरेल हमासको युद्धको प्रभावले विश्व आपूर्ति चक्र नै बिथोलिएको यो बखत फेरि सारा विश्वको ध्यान इजरायल-इरान युद्धतिर केन्द्रित छ।
इरान-इजरायलबीच बढ्दो तनावले मध्यपूर्व-खाडीमा रहेका लाखौं नेपाली श्रमिकलाई पनि असर पर्नसक्छ। रुस-युक्रेन अनि इजरायल र हमासबीचको लडाइँमा कैयौं नेपालीको ज्यान गइसकेको छ।
इरानको आक्रमणपछि इजरायल र अमेरिका फेरि एकपटक आक्रमणका थप निर्णय एकसाथ गर्ने अवस्थामा पुगेको देखिन्छ। इरानबाट इजरायलमाथि भएको आक्रमण लगत्तै उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडनले जि- ७ को बैठकसमेत बोलाएर छलफल अघि बढाइसकेका छन्।
इरानले इजरायलमाथि गरेको आक्रमणलाई अप्रेसन ट्रू प्रमिस नाम दिएको छ। इरान पश्चिम एसियामा रहेको विशाल इस्लामिक देश हो। इसापूर्वको चौथो चरणमा एलमाइट साम्राज्यसँगै यहाँको सभ्यता स्थापित भएको थियो।
पृष्ठभूमिमा इरान र इजरायल
इजायलसँग मिसाइलहरूबाट सुरक्षित रहने एयर डिफेन्स सिस्टम निकै बलियो छ। तर, इरानसँग त्यो क्षमता छैन्। इजरायलको आयरन डोम, डेविड स्लिंग र एरो डिफेन्स सिस्टम मिलाएर बहुस्तरीय रक्षा प्रणाली छ। उदाहरणका लागि एरो-१, एरो-२, एरो-३ रिन पाइन राडारजस्ता प्रविधिले इजरायलले विकसित गरेको छ।
सन् २०१९ जुन २१ मा अमेरिकी शक्तिशाली जासुसी ड्रोन ट्राइनलाई इरानले खसालेको थियो। त्यसयता इरान र अमेरिकाबीचको सम्बन्धमा थप चिसोपन आउन थालेको हो। उसै पनि कैयौँ घातक क्षेप्यास्त्र अनि परमाणु हातहतियारको उत्पादन र व्यापार गर्दै आएको इरानसँग अमेरिकी सम्बन्ध कहिल्यै राम्रो भएन। संसारभरिबाट प्रतिबन्ध लगाउँदा पनि इरान अमेरिकासँग गलेको छैन।
नयाँ वर्ष सन् २०२०को सुरुवात जनवरी २ र ३ मा अमेरिकाले गरेको एयर स्ट्रइकमा इरानका निकै लोकप्रिय मेजर जनरल कासिम सुलेमानीसँगै केही सैनिकको ‘हत्या’ भएको थियो।
उतिबेला इरानले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्यसमेत तोकेको थियो। त्यसअघि नै अमेरिकाले मारिएका सुलेमानीलाई आतङ्ककारी घोषणा गरेको पृष्ठभूमिमा यो घटनाचक्र विकसित भएको थियो।
सुलेमानी इराकका कार्यकारी प्रधानमन्त्री अदिल अब्दूल मेहदीको निमन्त्रणामा इराक पुगेका बखत अमेरिकी सैन्य कारबाहीमा मारिएका थिए। सुलेमानी मारिएको घटनालाई इराकले राजनीतिक हत्या बताउँदै आफ्नो देशमा रहेका अमेरिकी सैनिकलाई देश छाड्न भनेको थियो।
इरानको विशिष्ट सैन्य वल कुर्दस फोर्सका प्रमुख रहेका सुलेमानी इरानी नेता अयातुल्लाह खुमैनी पछिका सबैभन्दा लोकप्रिय र शक्तिशाली नेता थिए। स्वयम् खुमैनीले ‘नमाज–ए–जनाजा’ पढेर सुलेमानीको अन्तिम बिदाइ गरेको विषय चर्चामा थियो। सुलेमानीको अन्तिम बिदाइमा लाखौँ नागरिक सहभागी भएका थिए।
मारिएका सुलेमानीको बिदाइसँगै तेहरानमा अवस्थित मस्जिद–ए–कुममा रातो झन्डा फहराइएको थियो। इस्लामिक परम्पराअनुसार मस्जिदमा रातो झन्डा फहराइनुलाई औपचारिक रूपमा युद्ध घोषणाको संकेत मानिन्छ।
अमेरिका र इरानबीचको सम्बन्ध सधैजसो तनावपूर्ण रहँदै आएको छ। अनि इजरायलसँग भनेर अमेरिकाले भ्रातृ सम्बन्ध नै विकसित गरेको छ। उसको सबै साथ सहयोग इजरायललाई नै छ।
यसबीचमा सन् २०१५तिर अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा तनावपूर्ण सम्बन्धलाई कम गर्न ‘ज्वोइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन’ सुरु भएको थियो। डोनाल्ड ट्रम्प प्रशासनले त्यो प्रतिबद्धतालाई एकतर्फी ढगंले तोडेपछि सम्बन्धमा अलिकति चिसोपन आउन थालेको थियो।
यतिबेला मलाई इरानी राजा सुल्तान रेजा शाह पहलवीले आयोजना गरेको रात्रिभोजलाई इरानका लोकप्रिय नेता अयातुल्लाह रुहोलिया खुमैनीले ‘भूतको भोज’ भनेर भनेको घट्नालाई सम्झन मन लाग्यो।
रोचक त के छ भने त्यो शाही भोजमा युगोस्लाभियाका तत्कालीन राष्ट्रपति जोसेफ ब्रोज टिटोमोनाका प्रिन्स रेनिअर र राजकुमारी ग्रेस, अमेरिकी उपराष्ट्रपति सिप्रो आग्नेयु र सोभियत सङ्घका नेता निकोलोई पोगानीहरू रमाइरहेका थिए।
सन् १९७०–७१ मा नै अमेरिका र इरानबीच सम्बन्धमा दरार आइसकेको थियो। सन् १९७९ ताका भएको इस्लामिक क्रान्तिभन्दा पहिले खुमैनीले टर्की, इराक, फ्रान्सलगायतका देशहरूमा निर्वासित जीवन बिताएका थिए। खुमैनीको दलिल थियो कि तिनै राजा पहलवीले गर्दा अमेरिकी परनिर्भरता बढेको हो। अझै अर्को ऐतिहासिक घटना त के हो भने सन् १९५३ मा मोहम्मद मोसादेगको लोकतान्त्रिक सरकारलाई अमेरिका र ब्रिटेनले अपदस्थ गरी राजा पहलवीलाई सत्ता सुम्पेको थियो। देशमा मोसादेगलाई नै तेल उद्योगको राष्ट्रियकरण गरेको श्रेय दिन्छन् इरानी जनता।
सन् १९८०को दशकमा जब इराक र इरानबीच युद्ध भयो त्यतिबेला सद्दाम हुसैनलाई अमेरिकाले पनि साथ दिएको थियो। करिब १० वर्ष चलेको त्यो युद्धमा इरान र इराकका झन्डै ५ लाख सैनिक मारिएका थिए। त्यो लडाइँमा सोभियत संघ पनि इराकको साथमा थियो। यता जब इरानमा खुमैनी सत्तामा फर्किए उनी वामपन्थी धारका आन्दोलनसँग दूरी बढाउँदै जान थाले। सन् २००२को आसपासमा त इरानले पनि परमाणु कार्यक्रम सुरु गरिसकेको अन्तर्राष्ट्रिय समुदायको बुझाइ छ।
यसअघि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइएइए)ले इरानले परमाणु हतियार बनाएर मिसाइल परीक्षण गर्न खोजिरहेको रिर्पोट तयार पारेपछि अन्तर्राष्ट्रियस्तरको दबाब र नाकाबन्दीको सामना गर्दै आइरहेको इरानसँग ‘पी ५ प्लस १’ (अमेरिका, फ्रान्स, जर्मनी, ब्रिटेन, रुस र चीन)को लगातारको दबाबपछि २०१५ मा भियानामा परमाणु सम्झौता भएको थियो। सम्झौता युरेनियम भण्डारणको हद ३ सय केजी मात्रै र बाँकी तयारी युरेनियम रुसला हस्तान्तरण गर्ने तय भएको थियो। रुसले १ सय ४० टन प्राकृतिक युरेनियम ‘एल्लो केक’ इरानलाई दिने सहमति बनेको थियो।
चीन र भारत इरानबाट तेल खरिद गर्ने दुई मुख्य ठुला देश हुन्। पछिल्लो इजरायल र इरानको तनावमा भारतले यो अवस्थाबारे गम्भिर चिन्ता ब्यक्त गरेको छ।
इरानमा हुने कूल तेल उत्पादनको १० प्रतिशत कच्चा तेलको बजार भारत एक्लै हो। तर, बदलिँदो परिवेशका कारण दक्षिण कोरिया र जापानले पनि इरानबाट तेल खरिद गरिरहेका छन्। अहिले इरानको सेन्ट्रल बैङ्कलाई अन्तर्राष्ट्रियस्तरका आर्थिक गतिविधि गर्न पनि प्रतिबन्ध छ।
इरानमा १९७९ मा अमेरिकी दूतावासका ५२ जना कर्मचारीलाई करिब एक वर्षसम्म बन्धक बनाइएको थियो। उक्त घटनामा खुमैनीको समर्थन रहेको अमेरिकाको बुझाइ रहँदै आएको छ। अमेरिकी सेनाले गरेको ‘इगल कल आर्मी अपरेसन’ इरानमाथि असफल भएको थियो। हलिउडको फिल्म ‘आर्गो’ त्यही अपरेसनमा आधारित चलचित्र हो। उक्त चलचित्रलाई अफलिकले निर्देशन गरेका छन् भने जर्ज कोलोनी र ग्रयान्ट हेश्लभले लगानी गरेका थिए। इरानकै विषयलाई लिएर अमेरिकाका तत्कालीन राष्ट्रपति जिम्मी कार्टर दोस्रो कार्यकाल राष्ट्रपति हुन नसकेको समेत चर्चा भएको थियो।
इरानमा सिया समुदायका मुसलमानको सङ्ख्या उल्लेख्य छ। आइआइएफएसएसका अनुसार इरानमा ५ लाख २३ हजार सेना छन्। तिनै सेनाभित्र ‘इस्लामिक रिभोल्युसनरी गार्डस्’ इस्लामिक कानुन र व्यवस्थालाई मजबुत बनाउन ४० वर्ष अघि स्थापना भएको थियो।
इरानलाई हमास, हिज्बुल्ला र हूती विद्रोही समूहहरूको साथ र समर्थन रहेकाले इरान र इजरायलबीचको युद्धले विश्वभरि तनाव पैदा गाराउन सक्ने देखिन्छ। त्यसमाथि रुस, उत्तर कोरिया र चीनको साथ इरानलाई मिल्नसक्छ। अर्कोतर्फ युरोप इजरायलको पक्षमा उभिएको छ। संयुक्त राष्ट्रसंघले पनि यो युद्धलाई लिएर चिन्ता ब्यक्त गरिसकेको छ।
एकातिर विश्वका केही देशहरू आपसमा लडिरहेका छन् भने अर्कोतिर ती युद्धका विषयमा विश्वका शक्ति राष्ट्रहरू एकअर्को समर्थन र विरोधमा बाँडिएका छन्। शक्ति राष्ट्रहरूको ‘वाक युद्ध’ले हतियारबन्द ती युद्धहरूलाई प्रोत्साहित गरिरहेको छ।
साना देशहरूको यो युद्ध र शक्ति राष्ट्रहरूको यो चर्को ध्रुवीकरणले विश्वका सयौँ ‘असंलग्न राष्ट्र’हरूलाई नराम्रो प्रभाव पर्नसक्छ।