स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार: मेडिकल व्यवसायी पण्डितसहित ६ जनाविरुद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार आइतबार उनीहरूविरुद्ध विशेष अदालत मुद्दा दायर गरेको हो।

हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह विश्वकर्मा, खोप अधिकृत उदेश श्रेष्ठ र हस्पिटेक इन्टरप्राइजेज प्रालिकाे काठमाडाैँस्थित तीनकुनेका बजार व्यवस्थापक मनोज कुमार आचार्यविरुद्ध मुद्दा दायर भएकाे हो।

अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबी गरेको छ।

होस्पिटेक इन्टरप्राइजेज प्रालि र सञ्चालकलाई विपक्ष बनाइएकाे मुद्दामा अख्तियारले भनेकाे छ, ‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) देहाय (ञ) बमोजिमको कसुरमा मतियारको भूमिका निर्वाह गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) बमोजिम मूल कसुरदारलाई हुने सजायलाई आधार मानी निजहरुलाई सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक व्यवस्था बमोजिम मुख्य कसुरदारलाई हुने सजाय बरावर नै सजाय हुन माग दाबी लिइएको छ।’

प्रकाशित मिति: : 2024-03-31 15:49:00

प्रतिकृया दिनुहोस्