रुकुम (पूर्व)को भूमेमा नि:शुल्क मानसिक स्वास्थ्य शिविर सुरु

बिएल संवाददाता

रुकुम (पूर्व), काँक्री
तस्वीर: चन्द्र विसी
तस्वीर: चन्द्र विसी

रुकुम (पूर्व)को काँक्रीमा दुई दिने नि:शुल्क मानसिक स्वास्थ्य शिविर सुरु भएको छ।

स्थानीय नागरिककाे स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै भूमे गाउँपालिका- २ को त्रिवेणीमा रहेको काँक्री स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो।

भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठको अध्यक्षता रहेको उद्घाटन समारोहमा लुम्बिनी प्रदेशसभाका सदस्य सुरुल पुनकाे प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति रुकुम (पूर्व)का उप-प्रमुख मोहनबहादुर केसीको विशेष आतिथ्यता रहेको थियो। भने, सरकारी तथा विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।

स्थानीय नागरिककाे स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गरेर शिविर सञ्चालन गरिएकाे गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए।

शिविरमा उल्लेख्य रुपमा स्थानीयकाे सहभागीता रहेकाे थियाे। गाउँपालिकाकाे याे कार्य अत्यन्तै प्रशंसनीय रहेकाे स्थानीयकाे धारणा रहेकाे थियाे।

मनोचिकित्सक डा. वासुदेव कार्कीले मानिस स्वस्थ वा राेगी हुनुकाे कारणमध्ये मनाेवैज्ञानिक पनि एक भएकाे उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन सबैलाई अनुराेध गरे।

मन्तव्यको क्रममा जिल्ला समन्वय समिति रुकुम (पूर्व)का उप-प्रमुख केसीले नेपालको संविधानले जनताको स्वस्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेता पनि जनतामाझ स्वस्थ्य सेवा सहज ढंगले प्रवाह नभएकाे बताए। उनले जनताकाे स्वास्थ्यका विषयमा अन्य निकायहरुले चासाे नदिएकाे अवस्थामा भूमे गाउँपालिकाले सञ्चालन गरेकाे शिविर सञ्चालन कार्यकाे प्रशंसा गरे।

त्यस्तै गाउँपालिका अध्यक्ष श्रेष्ठले स्थानीय जनताको मानिसक स्वस्थ्यप्रति उच्च प्राथमिकता राख्दै आएको बताउँदै गत वर्षबाट सुरु गरिएकाे अभियानलाई यस वर्ष निरन्तरता दिइएकाे बताए। उनले शिविर सञ्चालन अभियानमा सहयाेग गर्ने सबै संघ संस्थाहरुलाई धन्यवाद दिए।

उनले आगामी वर्षहरुमा पनि शिविर सञ्चालनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै प्रमुख अतिथि पुनले जनताको शिक्षा र स्वस्थ्यप्रति राज्यको दायित्व रहेको बताउँदै जनप्रतिनिधिहरुले त्यसतर्फ ध्यान दिन जरुरी भएकाे बताए। १० वर्षे जनयुद्धका क्रममा जनताकाे मानसिक स्वास्थ्यमा असर परेकाे बताउँदै उनले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्न आवश्यक रहेकाे बताए।

उनले पनि भूमे गाउँपालिकाकाे याे कदमकाे खुलेर सम्मान गरे।

त्यस्तै नेपाल जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारी र युएमएन रुकुम (पूर्व) क्लस्टरका टोली प्रमुख नवीनप्रसाद चौधरीले आफ्नाे संस्थाले आगामी दिनहरुमा पनि यस्ता किसिमका स्वस्थ्य शिविरहरु सञ्चालनको लागि निरन्तर सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

पाटन अस्पताल ललितपुरबाट आएका मनोचिकत्सकहरु डा. सुमन अर्याल, डा. बासुदेव कार्की, डा. रमेश झा, जिल्ला अस्पताल रुकुमकोटका मेडिकल अधिकृत थिरालाल पाण्डेद्वारा नि:शुल्क स्वस्थ्य परीक्षण, मनोपरामार्स, औषधि सिफारिस तथा वितरण गरिएको भूमे गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरक्षक सञ्जिव खड्काले जानकारी दिए।

पहिलो दिन रुकुम (पूर्व)का तीनवाटै स्थानीय तहबाट करिब २ सय बढी सेवा लिएका थिए।

भूमे गाउँपालिकाको आयोजना, नेपाल जनजागरण मञ्च र युएमएन रुकुम (पूर्व) क्लस्टरको आर्थिक तथा प्राविधिक सहयोगमा तथा पुथाउत्तरगङ्गा, सिस्ने गाउँपालिका, स्वास्थ्य कार्यालय रुकुम (पूर्व), जिल्ला अस्पताल रुकुम (पूर्व)को समन्वयमा शिविर सञ्चालन गरिएको हो।

प्रकाशित मिति: : 2024-03-27 21:47:00

प्रतिकृया दिनुहोस्