बिहान ७ः५३मा बसेको त्यो मिटिङ जसले महरा पक्राउको नाम सार्वजनिक गर्‍याे

उमेश थापा

काठमाडौँ

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्ण बहादुर महरा राजधानीबाट पश्चिम जाँदै थिए। सोमबार बिहान करिब ६ बजेतिर उनी रुपन्देही पुगेका थिए। 

सुन तस्करी प्रकरणमा उनीमाथि छानबिन गर्न गृहमन्त्रालयले निर्देशन दिएपछि उनलाई प्रहरीले निगरानी गरिरहेको थियो। उनी पश्चिम जाँदैछन् भन्ने जानकारी राखेको प्रहरीले अब के गर्ने? उनलाई प्रहरीले पश्चिम जानबाट रोक्ने त योजना बनायो तर पक्राउ गर्ने  कि नगर्ने निर्णय लिन सकेन।

प्रहरीले अब के गर्ने भन्ने उच्च तहमा छलफल गर्ने सोच बनायो। गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई कानुन बमोजिम कुनै पनि काम गर्न निर्देशन कुर्नु नपर्ने आदेश दिइसकेका छन्।

तर प्रहरी प्रमुख वसन्त कुँवरले एक पटक गृहमन्त्रालयसँग छलफल गर्न गृहसचिव एक नारायण आर्याललाई सम्पर्क गरे। सचिव अर्याल बिहान ७ः५३ बजे सोही विषय छलफल गर्न प्रहरी हेर्डक्वाटर पुगे। 

यसबेलासम्म महरा पक्राउको सूचना चुहिएको थिएन। जब गृहसचिव अर्याल प्रहरी हेर्डक्वाटर पुगे त्यसपछि महरा पक्राउ परेको जानकारी प्रहरीले दिन थाल्यो। 

मिडियासँग रुपन्देही र कपिलवस्तुका प्रहरीले माथि नै बुझ्नुस भन्ने जानकारी दिन थाले। यता प्रहरी प्रमुख कुँवरले महरा पक्राउ परिसकेको र काठमाडौँ फर्काउने तयारी भएको जानकारी दिए। 

गृहमन्त्रालय स्रोतकाअनुसार आइजिपी कुँवर र सचिव अर्यालबीचको छलफलपछि मात्र महरा पक्राउ परेको सूचना बाहिर ल्याइएको थियो। रुपन्देही र कपिलवस्तुका प्रहरीले भने महरालाई पश्चिम जानबाट रोकिएको र काठमाडौँ फर्काइन लागेको मात्र भनेका थिए। 

तर जब प्रहरी प्रमुख र सचिवबीच छलफल भयो त्यसपछि महराको नाम सार्वजनिक गर्न सचिव अर्यालले निर्देशन दिएको बताइन्छ। 

स्रोतका अनुसार सचिव आर्याल र आइजिपी कुँवर अहिले पनि यस विषयलाई लिएर हेर्डक्वर्टर मै मिटिङ बसिरहेका छन्।

प्रकाशित मिति: : 2024-03-18 11:19:00

प्रतिकृया दिनुहोस्