जनता समाजवादी पार्टी (जसपा)की सांसद मञ्जु शर्मा अन्सारीकाे निधन भएकाे छ।
लामाे समयदेखि अस्वस्थ अन्सारीकाे उपचारको क्रममा आइतबार बिहान सिभिल अस्पतालमा उपचारकाे क्रममा निधन भएको जसपाकी सांसद रञ्जुकुमारी झाे जानकारी दिइन्।
२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य भएकी थिइन्।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन्।
सभामुख देवराज घिमिरेले आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन्।
२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन्। उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन्।