राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

File Photo
File Photo

राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन्।

राष्ट्रियसभामा मंगलबार भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेकाे थियाे। मतदानमा ५६ जना सांसद उपस्थित भएका थिए भने एक सांसद तटस्थ बसेका थिए।

बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मिला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरिन्।

दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए।

यसैगरी दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो।

नेपाली कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गरेका थिए भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए।

प्रकाशित मिति: : 2024-03-12 13:03:00

प्रतिकृया दिनुहोस्