प्रचण्डबाट ठूलो धोका भएको छ, यसको जवाफ मतदाताले दिनुहुनेछ: नेता खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र)ले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन्।

आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उपसभापति खड्काले यस्ताे बताएका हुन्।

‘यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रुपमा ठूलो धोका भएको छ’, उनले भने, ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ।’

उपसभापति खड्काले तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका बाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए।

‘कांग्रेससँगको गठबन्धन तोड्नुको कारण राजनीतिक दृष्टिकोणले प्रचण्डले आफ्ना धारणा राख्नुहोला’, उनले भने, ‘तर, तीन तहका सरकार बनाउँदा निर्वाचनका बेला जनतासँग गरेका बाचाको जवाफ उहाँले दिनुपर्छ।’

निर्वाचनका बेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानुन निर्माण गरेर संघीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा आम मतदातालाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने बाचा गरेर जनतासँग मत मागिएको स्मरण गरेेका छन्।

उपसभापति खड्काले असंवैधानिक तरिकाले पटक–पटक संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थालिएपछि संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि विचार मिल्ने राजनीतिक शक्तिहरु प्रतिगमनका विरुद्ध मिलेर तीनै तहको निर्वाचनमा जनतासँग मत मागिएको उल्लेख गरे।

निर्वतमान उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको शीर नझुक्ने गरेर काम गरेको दाबी गरे। ‘एघार महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने गरेर कुनै पनि काम गरेका छैनौँ’, ‘बाँकी कुराहरु समयक्रममा राख्दै जाउँला,’ उनले भने।

उपसभापति खड्काले पार्टीको नीति अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको बताए। ‘महासमितिबाट आएका सुझावहरुलाई समेट्दै चाँडै केन्द्रीय समिति बैठकमार्फत पारित गरेर पुस्तकका रुपमा प्रकाशन गरेर देशभरी पठाउने छौँ’, उनले भने, ‘नीति अधिवेशनमार्फत पारित प्रस्तावहरुलाई आम जनतामाझ लिएर जानेछौं।’ उनले समुदायसँग कांग्रेस अभियानलाई फेरि सुरु गरिने समेत बताएका छन्।

प्रकाशित मिति: : 2024-03-10 17:18:00

प्रतिकृया दिनुहोस्