मैत्रीपूर्ण टी-२० क्रिकेट: हङकङसँग नेपाल पराजित

मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङ्कङसँग पराजित भएको छ। हङ्कङले नेपाललाई ७३ रनले पराजित गरेको हो।

हङ्कङमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै हङ्कङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय १२ रन बनायो।

दुई सय १३ रनको लक्ष्य पाएको नेपालले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो। नेपालका लागि विनोद भण्डारीले २२ बलमा ४१ रन जोडे। कप्तान रोहितकुमार पौडेलले ३० रन र आरिफ शेखले ३८ रन बनाए।

यसअघि हङ्कङका लागि बाबर हयातले अद्र्धशतकीय पारी खेले। उनले ४९ बलमा तीन चौका र १३ छक्काको मद्दतमा एक सय १० रन बनाए। यस्तै मार्टिन कोइत्जीले ३१ र अंशी राथले ३९ तथा अजिज खानले अविजित २१ रन बनाए। बलिङतर्फ नेपालका लागि आजैको खेलमा टी–२० क्रिकेटमा डेब्यु गरेका आकाश चन्दले तीन विकेट लिए।

त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङ्कङ गएको थियो। नेपाल, हङकङ र पपुवा न्यूगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ। त्यसअघि नेपालले आज हङ्कङसित एउटा मैत्रीपूर्ण खेल खेलेको हो।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङ्कङसँग खेल्ने छ। यस्तै नेपालले फागुन २९ गते पवुवा न्यूगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङ्कङ गएको हो।

प्रकाशित मिति: : 2024-03-09 14:58:00

प्रतिकृया दिनुहोस्