बाँकीकाे उद्दार कार्य जारी
जुम्लाको तातोपानी गाउँपालिका- ४ गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी संकलन गर्न गएर सम्पर्कविहीन भएकाहरुलाई हेलिकप्टरबाट उद्दार गरिएको छ।
हेलिकप्टरकाे सहायताबाट हराएका ८ जनामध्ये पाँच जनालाई उद्दार गरी विमानस्थल ल्याइएकाे छ। अब एक महिला र दुई पुरुषलाई उद्दार गर्न फेरि पुगेकाे तातोपानी- ४ का वडा अध्यक्ष अमरबहादुर रोकायाले बताए।
मुछालदेउका अत रावतसहित आठ जना जडीबुटी संकलक पाटनमा पुन: सम्पर्कविहीन भएका थिए।
सात जनामध्येका अत रावतसँग फोन सम्पर्क हुँदा ‘बजेडी पाटनको ओडारमा सुरक्षित बसेका छौँ’ भनेका थिए। मौसम खुलेपछि घर फर्किने खबर थियो। तर, सम्पर्कमा नभएपछि उद्दारका लागि पहल थालिएको वडा अध्यक्ष रोकायको भनाइ छ।
‘उद्धारका लागि जिल्ला प्रशासन कार्यालय जुम्लामा पत्राचार गरेका थियौँ,’ वडाध्यक्ष रोकायाले भने, ‘प्रशासनले पनि गृह मन्त्रालयमा पत्राचार गरेपछि हेलिकप्टर आएको हो।’
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेकाअनुसार हिमपातका कारण पाटनमा सम्पर्कविहीन भएका नागरिकको उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो।
उनले भने, ‘कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले हेलिकाेप्टरको खर्च व्यहोर्ने भएपछि उद्धार भएको हो।’