‘पशुपतिमा गाँजा बेचबिखन गरे साधुसन्तलाई पनि कारबाही हुन्छ’ (भिडियाे)

गाँजालाई भगवान पशुपतिनाथसँग जाेड्न मिल्दैन- प्रवक्ता अधिकारी

शनि शाक्य

काठमाडाैं
फाइल तस्विर
फाइल तस्विर

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले महाशिवरात्रिकाे नाममा पशुपति क्षेत्रमा गाँजा बेचबिखन गरे कारबाही हुने बताएका छन्।

गाँजा कानुनले बर्जित गरेकाे कुरा भएकाले बेचबिखन गर्ने जाेसुकैलाई पनि कानुन बमाेजिम कारबाही गरिने अधिकारीले बताए।

‘हामीले साधुसन्तकै भेषमा गाैशाला प्रहरीमा राखेका छाैँ, कारबाहीमा पुर्‍याएका छाैँ। अब साधुकै भेषमा लागुपदार्थ बेचबिखन गर्ने, युवाहरुलाई कुलतमा फसाउनेलाई त कानुनले समातिहाल्छ’, प्रवक्ता अधिकारीले भने।

महाशिवरात्रिकाे अवसरमा शिवका भक्तहरुले गाँजा सेवन गर्ने परम्परा भएपनि भगवान शिवले गाँजा सेवन गरे भन्दैमा सबै सेवन गर्न नहुने अधिकारीकाे भनाइ छ।

‘गाँजालाई भगवान पशुपतिनाथसँग जाेड्न मिल्दैन, भगवान पशुपतिनाथले त सबै कुरा पचाउन सक्नुहुन्थ्याे, नीलकण्ठ विष पनि कण्डमा राखेर संसारलाई बचाउन सक्ने क्षमता भगवानमा छ’, उनले भने, ‘हामीसँग त्याे क्षमता छ र? छैन नि त’, प्रवक्ता अधिकारीले भने।

उनले अगाडि भन्छन्, ‘हामीले कसैकाे नक्कल गर्ने भनेकाे आफ्नाे क्षमताले भ्याउन सक्नेसम्म हाे, क्षमताले सकेन भने त्यसले क्षति गर्छ। शिवरात्रिकाे अवसर पारेर कतिले गाँजा सुरु गर्ने गरेका छन्, त्याे त युवाहरुले गलत बाटाे समातेकाे हाे नि त।’ गाँजा सेवन गरेर आफ्नाे भविष्य बिगार्न नहुने उनकाे भनाइ छ।

तीन दिन अगाडि देखिनै पशुपति क्षेत्रमा सादा पाेसाकका प्रहरी खटाइएकाे र कसैले गाँजा बेचबिखन गरेकाे पाइएमा नेपाल प्रहरीले कारबाही गर्ने उनले जानकारी दिए।

भिडियाे:

प्रकाशित मिति: : 2024-03-06 12:38:00

प्रतिकृया दिनुहोस्