नेपालको प्रजातान्त्रिक अभ्यासमा सरकारको नेतृत्व गर्ने र नेपाली काँग्रेसको नेतृत्व गर्ने राजनीतिक अनुहार र तिनका उमेरका विषयमा बेलाबखत चर्चा भइरहन्छ।
वि.सं. २००७ आसपासदेखिको परिवेशलाई केलाउँदा काँग्रेस नेतृत्वकर्ताहरुको क्षमता, अवधि र उमेरको हिसाबकिताब उतारचढावले भरिएको छ।
काँग्रेसलाई यसो फर्केर हेर्दा मातृका प्रसाद कोइराला लगभग ४२ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए। ३८ वर्षको उमेरमा पार्टीको सभापति भइसकेका थिए।
नेता वीपी कोइराला लगभग ४५ वर्ष नपुग्दै प्रधानमन्त्री र सभापति भइसकेका थिए।
काँग्रेसका अर्का नेता सुवर्णशम्शेर राणा पनि ४८ वर्ष पुग्दा सभापति र प्रधानमन्त्री भइसकेका थिए। वि.सं.२०१२ सालमा सभापति निर्वाचित हुँदा राणा ४५ वर्षका थिए। वि.सं.२०१५ सालमा प्रधानमन्त्री हुँदा राणा ४८ वर्षका थिए।
दोस्राे पटक प्रजातन्त्र वहालीपछि काँग्रेसबाट प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई उमेरले लगभग ६६ पुग्दा प्रधानमन्त्री भएका
थिए। २०३४ सालमा भट्टराई कार्यवाहक सभापति हुँदा ५३ वर्ष पुगेका थिए।
वीपी कोइरालाको स्वास्थ्यमा समस्या भएपछि उनले कार्यवाहक भएर पार्टी सञ्चालन गरे। त्यो अवधि लगभग १० वर्ष थियो। २०४८ मा सर्वसम्मत सभापति चयन हुँदा भट्टराईको उमेर लगभग ६७ पुगेको थियो।
काँग्रेसका अर्का सभापति गिरिजाप्रसाद कोइराला पहिलो पटक प्रधानमन्त्री चयन हुँदा लगभग ६७ वर्षका थिए। उनी पहिलो पटक पार्टी सभापति हुँदा उमेरले ७२ वर्षको हाराहारीमा थिए।
काँग्रेसका अर्का सभापति सुशील कोइराला सभापति निर्वाचित हुँदा लगभग ७१ वर्षका थिए भने प्रधानमन्त्री नियुक्त हुँदा उमेरले ७४ वर्ष पुगेका थिए। यतिबेलाका सभापति शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा पुराना नेता सुवर्णशम्शेरकै आसपास ४८ वर्षका थिए। तर पार्टी सभापति निर्वाचित हुँदा वर्षले लगभग ६९ पुगेका थिए।
२०३३ सालमा वीपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्केकै साल थियो (नेपाली काँग्रेसका महामन्त्री) गगनकुमार थापाको जन्म भएको।
२०३९ साउन ६ गते वीपीको निधन भयो। कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक अध्यक्ष बनाइयो। गिरिजाप्रसाद कोइराला महामन्त्री भएका थिए।
काँग्रेसमा महामन्त्री भएका धनमानसिंह परियार, बालचन्द्र शर्मा, राजेश्वरीप्रसाद उपाध्याय, सूर्यप्रसाद उपाध्याय, श्रीभद्र शर्मा, गणेशमान सिंह, महेन्द्रनारायण नीधि, (प्रथम राष्ट्रपति) रामवरण यादव, रामचन्द्र पौडेल(हाल राष्ट्रपति), कुलबहादुर गुरुङ, तारानाथ राणाभाटलगायतकाहरु सभापति हुन सकेनन्, न त प्रधानमन्त्री नै भए। डा.तुल्सी गिरी, विश्वबन्धु थापा र परशुनारायण चौधरी त काँग्रेसबाट दूर नै भए।
सभापति बन्ने आशामा प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्कासम्म महामन्त्री भइसकेका फेहरिस्तमा छन्।
त्यसमा थपिएका छन्, विश्वप्रकाश शर्मा र गगनकुमार थापा। पार्टी एकीकरण र स्थापनाकालका सभापति महेन्द्रविक्रम शाह र कृष्णप्रसाद भट्टराईका हकमा भने सभापति र महामन्त्री दुवै पदले साथ दियो। कृष्ण प्रसाद भट्टराई र सुशील कोइराला दुई जनाको हकमा कार्यवाहक सभापति पद पनि सुखद संयोग थिए।
प्रजातन्त्र स्थापनामा टंकप्रसाद आर्चाय र डा.डिल्लीरमण रेग्मीका हकमा बेग्लै अवस्था थियो।
यतिबेला काँग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो सक्रिय राजनीतिको 'कटअफ डेट' स्वयंले उमेर ५५ वर्षसम्म तोकिसकेका छन्। ५५ वर्षको टाइमलाइनमा गगन थापालाई पार्टी सभापति र प्रधानमन्त्री बन्ने परिस्थिति रहन्छ वा रहँदैन अहिले नै आँकलन गरिहाल्नु हतार र ढिला दुवै हुन्छ।
महामन्त्री थापा आफ्नै उमेर हद तोकेर राजनीतिक यात्रामा हिँडिरहेका सम्भवत: पहिलो व्यक्ति हुन्। महामन्त्री थापालाई पछिल्ला नेतृत्वकर्ताहरुसँग दाँज्दा र अघिल्ला नेतृत्वहरुसँग तुलना गर्दा अवसर र चुनौती दुवै छन्।
समग्रमा, काँग्रेसको नेतृत्व गर्ने र काँग्रेसबाटै सरकारको नेतृत्व गर्नेहरुको उमेर एउटा रोचक विषय छ।
भर्खरै सम्पन्न काँग्रेसको महासमिति बैठकले काँग्रेसलाई केही उर्जा त दियो तर नेतृत्वका लागि कसरतरत अनुहारहरुलाई चुनौती पनि थपेको छ।
काँग्रेसको परम्परालाई भत्काएर नविन बाटो तय गर्न यतिबेला नेतृत्वका आकाङ्क्षीहरुमा संसय देखिन्छ। खासगरी तोकिएको अवधिमा महाधिवेशन हुन्छ वा हुँदैन! भइहाले पनि नयाँ समीकरणका डोबहरु र पुराना गुटको ओजमा को-कहाँ कोपभाजनमा परिने हो भन्ने आशंकाका बादल मारिन थालिसकेको देखिन्छ।
नीतिगत तहमा उति ठुलो बदलाव आउने गुञ्जायस छैन। केवल नयाँ र पुराना समूहको अस्तित्व के हुने भन्ने विषय प्रधान हुँदै गइरहेको देखिन्छ।