केही दिनअघि नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको थियो। गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेत गोष्ठीमा सहभागी थिए। त्यसको केही दिनमै सुर्खेतको वीरेन्द्रनगरमा शनिबार साँझ भएको गोली काण्डले नेपालगञ्जलाई ‘बेस’ बनाएर अपराध भएको अवस्था सार्वजनिक भयो। यो घटनाले नेपालगञ्जको सुरक्षा अवस्थालाई सतहमा ल्यायो। सुर्खेत घटनाको योजना र हतियारको व्यवस्थापन नेपालगञ्जमा भयो। भारतबाट ‘सार्प सुटर’ नेपालगञ्ज हुँदै सुर्खेत पुगेको विवरण सार्वजनिक भएका छन्।
सुर्खेत गोली काण्ड:
शनिबार वीरेन्द्रनगर– १ गैरीचोकमा तरूण दल सुर्खेतका जिल्ला सदस्य वीरेन्द्रनगर– १ का विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहार भयो। उनी विभिन्न व्यवसायमा संलग्न व्यक्ति पनि हुन्।
गोली प्रहारबाट गाडीको सिसा फुट्यो। गिरी जोगीएका छन्।
कैलालीको गौरीगंगा नगरपालिका– २ का इन्द्र विक, भरत भुल, वीरेन्द्रनगर– ४ का राजन गिरी र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्ज जोसीपन बस्ने रोहित राजपुतसहित केही पक्राउ परेका छन्।
भारतीय नागरिक राजपुत ‘सार्प सुटर’का रूपमा ‘हायर’ भएका थिए। हत्याका लागि हतियारसहित लेनदेनको डिल नेपालगञ्जमा बन्यो। यो घटनाको थप अनुसन्धान चलिरहेकै छ।
तर, नेपालगञ्जलाई आधार बनाएर हुने आपराधिक गतिविधिमाथि बाँके प्रशासन र प्रहरीको सक्रियतामा समेत प्रश्न उठ्छ। भारतबाट ‘सार्प सुटर’ र हतियार भित्रिँदा समेत बाँकेका सुरक्षा निकाय अनभिज्ञ हुनु ठुलो सुरक्षा चुंक हो।
सीमामा सशस्त्र प्रहरी छ। नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसहित प्रहरीका सादा पोसाकका घुमुवाहरु सक्रिय रहन्छन्। सादा पोसाकका घुमुवा प्रहरीहरु सुरक्षाका विषयमा भन्दा पनि आर्थिक संकलनमा लिप्त रहने विषय पटक-पटक समाचार बनिरहेका हुन्छन्।
बाँके प्रशासनको पटक-पटकको चुंक:
गएको असोजमा बाँकेको नेपालगञ्ज धार्मिक विवादमा फसेको थियो। असोज १६ बाट बाँकेमा लगातार केही दिन ‘कर्फ्यू’ लगाइएको थियो। हिन्दु र मुस्लिम समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि बाँकेका प्रमुख जिल्ला अधिकार विपिन आचार्य सरुवा भए। नयाँ प्रजिअमा श्रवणकुमार पोखरेललाई पठाइयो। हिन्दु र मुस्लिम समुदायको बिचमा दंगा भड्किएपछि सुरक्षा परिषद्को बैठकमा यो विषय छलफलमा पुगेको थियो।
लगत्तै बाँके प्रहरी प्रमुख सन्तोष राठौरको पनि सरुवा भयो। नयाँ एसपी सुवास बोहोराले जिल्ला सम्हाल्न पुगे। यसअघि पनि नेपालगञ्जमा सुरक्षा चुंक हुँदा स्थानीय प्रशासनका अगुवाहरु फेरवदल भइरहन्थे। यो सरकारको परिस्थिथिजन्य आवश्यकता भित्र पर्छ। तर, नेपालगञ्जको संवेदनशीलतालाई लिएर स्थानीय प्रशासनले बनाउने सुरक्षा रणनीति पटक-पटक असफल भएका उदाहरण प्रसस्तै छन्।
व्यक्ति हत्या, अपहरण, फिरौती, हातहतियार ओसारपसार, लागु पदार्थको खरिद/बिक्रीसहित सांगठनिक अपराधका सिलसिलाले नेपालगञ्जलाई बेला-बेला गिजोलिरहन्छ।
बाँकेमा किन हुन्छ त सुरक्षा अवस्था फितलो?
बाँके भारतसँग सीमा जोडिएको जिल्ला हो। त्यसमाथि पनि उत्तर प्रदेशसँग। उत्तर प्रदेश भारतको आपराधिक गतिविधि हुने उच्च दरको प्रदेश हो। नेपालगञ्ज र आसपासका नाकाबाट वारि र पारि दुवैतर्फ आपराधिक गतिविधि सञ्चालन गर्न सकिने अपराधिका लागि अनुकल ठाउँ हो। सीमापारि नेपाली नेटवर्कका मोबाइल चल्छन भने वारिसम्म भारतीय मोबाइल नेटवर्कले काम गर्छ। अपराधको आधार सञ्चारको कामका लागि नेपालगञ्ज ‘ट्रान्जिट प्वाइन्ट’ झैं छ।
त्यसमाथि स्थनीय प्रशासनले शान्ति-सुरक्षाको विषयलाई भन्दा तस्करी, चोरी पैठारीबाट कमाइ हुने विषयमा बढी ध्यान दिइनुले गर्दा पनि नेपालगञ्ज असुरक्षित बन्छ। त्यसमाथि हिन्दु र मुस्लमान बिचको तिक्कतताले पनि बेलाबखत मलजल दिइरहन्छ।
बाँकेमा व्यक्ति हत्या, अपहरण, फिरौती र हतियार ओसारपसारका गतिविधिले मलजल पाउनुमा उत्तर प्रदेशसँगको सीमा पनि एउटा कारक हो। त्यसमाथि यहाँको सुरक्षा रणनीति असफल हुनुमा स्थानीय प्रशासन जिम्मेवार रहन्छ। कतिपय अवस्थामा सुरक्षा अवस्था कमजाेर पार्ने कारण अपराधको राजनीतिकरण पनि हो।
स्थानीय प्रहरी र प्रशासनका नेतृत्वकर्ताहरु बाँकेको भू-धरातललाई मध्यनजर गरी सुरक्षा रणनीति नबनाउँदा नेपालगञ्जमा आपराधिक गतिविधि निरन्तर चलिरहेकै हुन्छन्।
नेपालगञ्जको सुरक्षा अवस्थालाई चुनौती दिइरहेको अर्को पाटो यहाँको ‘क्यासिनो’ व्यवसाय पनि हो।
सिमावर्ति बजार जमुनाह-रुपैडिया नाकामा क्यासिनोका ‘कन्ट्याक्ट अफिस’हरु वर्षौंदेखि चलिरहेका छन्। नगरका विभिन्न होटलहरुमा मापदण्डविपरित समेत क्यासिनो व्यवसाय चलिरहेका छन्। जहाँ भारतीय र नेपालीहरुले विभिन्न खाले अवैध गतिविधिमा योजना बनाउने र सम्पर्कसूत्र स्थापित गर्ने गर्दछन्।
नेपालगञ्ज आपराधिक गतिविधि मात्रै नभई आतङ्कवादी गतिविधिको समेत शेल्टरका रुपमा पटक-पटक प्रयोग भइरहन्छ। विगतमा भारतीय नक्कली नोट, अन्तर्राष्ट्रिय आतंकवादी गतिविधिमा संलग्न रहेकाहरुले नेपालगञ्जलाई सुरक्षित स्थानका रुपमा प्रयोग गरेका दृष्टान्त पनि छन्। याकुब मेनन, अब्दुल करिम टुन्डा र याशिन भट्कलसहितका आतङ्कवादी संगठनका सदस्यहरूले पनि नेपालगञ्जलाई अनुकूल ठानेर यात्रा शेल्टर बनाएका थिए। उनीहरुलाई अनौपचारिक रुपमा भारत प्रहरीको जिम्मा लगाइएका घटना पनि थिए।
भारतीय अवैध नोटसहित नेपालगञ्ज उपमहानगरपालिका– १६ भन्सारकै जाँच पार गर्दा भारतबाट पैदल आउँदै गरेका दिल्ली जफ्फारावादका ५४ वर्षीय मुनवर खान २०७७ सालको फागुनमा १० लाख अवैध नोटसहित पक्राउ परेका थिए।
अपराधको जालोलाई तोड्न बाँके प्रशासन पटक-पटक असफल भइरहन्छ। स्थानीय प्रहरी, गुप्तचर, सशस्त्र प्रहरी र ठुलो संख्यामा परिचालन हुने सादा पोसाकका सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको काम बाँकेका लागि पटक-पटक असन्तुष्टको कारक बनिरहन्छन्।
पछिल्लो समय बाँके त्यसमाथि पनि नेपालगञ्ज पुग्ने सरकारी सुरक्षा अधिकारीहरु आर्थिक प्रलोभनमा पर्ने र सीमित घेराका राजनीतिक दल निकट, व्यापारी, व्यवसायी र सीमापारिबाट गरिने तस्करीका विचौलियासँग रुमलिने गरेको जनगुणासाहरु स्थानीय समाचारका खुराक बनिरहेका छन्।
परिणामत: गैरकानुनी क्रियाकलाप, आपराधिक गतिविधि, तस्करी, नदिजन्य पदार्थको दोहन र अवैध आर्जनका गतिविधिले नेपालगञ्ज उचाइ छुन्छ।
अपराध, राजनीति, तस्करी, प्राकृतिक स्रोतको दोहन र धार्मिक सम्प्रदायका नाममा बाँके त्यसमाथि पनि नेपालगञ्जको शान्ति सुरक्षा अक्सर कमजाेर सावित भइरहन्छ।
बाँके आसपासमा यस्ता गतिविधि बढ्नुमा मुख्यगरी नेपाल प्रहरी र स्थानीय प्रशासनको कमजाेरी देखिन्छ।