‘चर्को स्वरमा चर्कै कुरा गर्ने’ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र स्टन्टबाज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती हिजोआज सामाजिक सञ्जालतिर चर्चाको केन्द्रमै छन्।
लुम्बिनी विकास कोषको तालाचाबी सुम्पिएका ल्यारक्याल लामाको नियुक्तिबारे सत्तासीन दलकै सांसद खतिवडाले आइतबार सदनमा चर्को विरोध गरेपछि उनीविरुद्ध जाइलागेका छन् पर्यटनमन्त्री किराँती।
संसद् तताउने कांग्रेस नेता खतिवडा र फेसबुक तताउने माओवादी नेता किराँती यतिबेला संसद् र फेसबुक दुवैतिर तातिइरहेका छन्। सांसद खतिवडाले विवादास्पद व्यक्ति ल्यारक्याल लामाको नियुक्ति र वर्षाैंअघि ‘लकरमा गोली लुकाएको प्रकरण’ उम्काएपछि उस्तै शैलीमा मन्त्री किराँतीले ‘ल्यारक्याललाई बहादुर’ भन्दै खतिवडालाई सात वर्षअघिको ‘घडी काण्ड’को झटारो हानेका छन्।
०००
आइतबारको संसद् बैठकमा पर्यटनमन्त्री सुदन किराँती र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामालाई लक्षित गरेर सांसद रामहरि खतिवडाले भनेका थिए, ‘ल्यारक्याल लामाजस्ता मान्छेलाई नियुक्ति गरिएको छ, लुम्बिनी विकास कोषमा। गौतमबुद्ध शान्तिका दूत, शान्तिका दूतको नाउँमा लकरमा गोली राख्ने मान्छेलाई नियुक्ति गरेपछि देशको हालत के होला!’
शान्ति क्षेत्रको नेतृत्व गर्ने लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति लामालाई नियुक्त गरिएपछि उनको विवादित पृष्ठभूमि सतहमा आएको हो।
लामा उनै पात्र हुन्, जसलाई २०७२ फागुन ३० गते नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय लकरमा १४ थान गोली राखेको अभियोगमा पक्राउ गरिएको थियो।
खतिवडाले लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाको प्रतिपक्षकै शैलीमा विरोध गरेपछि मन्त्री किराँती रिसाएका छन्। सदनमा खतिवडाले ल्यारक्यालको विषय उठाएको २४ घण्टा नबित्दै उनले ‘रामहरि खतिवडालाई घडी चोरेको आरोप’ लागेको विषय सम्झाइदिएका छन्।
पर्यटनमन्त्री सुदन किराँतीले खतिवडालाई जवाफ फर्काउँदै भनेका छन्, ‘विवादित मान्छे लकरमा गोली लुकाउने! बहादुरले गोली लुकाउँछ, कायर र लाछीलेचाहिँ घडी लुकाउँछ’ त्यो घडी लुकाउने मान्छे आज बोलेछ, त्योप्रति मेरो दया जागेर आयो।’
सांसद खतिवडा र मन्त्री किराँतीको जुहारी चलिरहेकै बखत सोमबार एमाले सांसद गोकुल बाँस्कोटाले ‘विवादित ल्यारक्याल लामाको नियुक्ति र रोलेक्स घडी चोरेको प्रकरण’ सदनमै उठाएका छन्।
त्यसो त कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्री किराँतीले नियुक्ति दिएका ल्यारक्याल लामाको विषय संसद् बैठकमा उठाएपछि किन उठ्यो ‘घडी प्रकरण!’ सबैतिर चासो छ।
२०७३ साल पुषतिरको कुरा हो। उतिखेर पनि सांसद नै रहेका खतिवडामाथि एकाएक रोलेक्स घडी चोरेको आरोप लाग्यो। त्यो पनि र्याडिसन होटलको जिम क्लबबाट।
उनले चोरेको भनिएको १४ लाख मूल्य बराबरको घडी थियो– पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको।
खतिवडा जिम क्लबबाट निस्किनुअघि घडी हराएको हल्ला चल्यो। घडी हराएको हल्लीखल्ली हुँदा उनी क्लबबाट नबोली हिँडेका रहेछन्। उनलाई देख्नेहरू भन्छन्।
भोलिपल्ट रामहरिको कपडाको गोजीभित्र एउटा घडी भेटियो। उनले गुरुङलाई फोन गरे। तर घडी हराएको भनिएका व्यक्तिले फोन रिसिभ गरेनन्।
पर्सीपल्ट र्याडिसनभित्रको क्लबको काउण्टरमा लगेर खतिवडाले त्यो घडी बुझाइदिए। लगतै, आमसञ्चार र सामाजिक सञ्जालमा रामहरि खतिवडाले रोलेक्स घडी चोरेको हल्ला फैलियो।
खतिवडाले त्यतिखेरै भनेका थिए, ‘कसैले मेरो कपडामा षड्यन्त्रपूर्णक घडी राखिदिएको रहेछ। मैले घडी चोर्नूपर्दैन, त्यो घडी इमान्दारितापूर्वक फिर्ता गरेँ।’