अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली विद्यार्थीको संख्या १३८ प्रतिशतले वृद्धि

बिएल संवाददाता

वासिङ्टन डीसी
Break n Links
Break n Links

अमेरिकाको विद्यार्थी भिसा पाउने नेपाली विद्यार्थीको संख्यामा एकसय ३८ प्रतिशतले वृद्धि भएको छ। अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी आर्थिक वर्ष २०२४ को पहिलो तीन महिना अक्टोबर, नोभेम्बर र डिसेम्बरको प्रतिवेदनमा यस्तो तथ्याङ्क देखिएको हो।

यी तीन महिनामा दुईहजार आठसय ९६ नेपाली विद्यार्थी र तिनका एकसय ११ आश्रितले अमेरिकाको भिसा पाएका छन्। प्रतिवेदनमा अक्टोबरमा पाँचसय आठ, नोभेम्बरमा सातसय ८४ र डिसेम्बरमा एकहजार छसय चार नेपाली विद्यर्थीलेले अमेरिकाको विद्यार्थी भिसा पाए।

तर, अघिल्लो आर्थिक वर्ष २०२३ को पहिलो तीन महिनामा भने एकहजार दुईसय १२ नेपाली विद्यार्थी र तिनका ८२ आश्रितले मात्र अमेरिकाको भिसा पाएका थिए। ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार  २०२२ को अक्टोबरमा एकसय २०, नोभेम्बरमा चारसय ७७ र डिसेम्बरमा छसय १५ नेपालीले अमेरिकाको विद्यार्थी भिसा पाएका थिए।

अमेरिकाको विद्यार्थी भिसा पाउँने धेरै नेपाली विद्यार्थीमा युएसएमएलई परीक्षा पास गरेर  चिकित्सा शिक्षा अध्ययन गर्न आउने विद्यार्थी र उनीहरूका आश्रित थिए। २०२३ मा मात्र एकहजार आठसय ८८ नेपाली चिकित्सकले अमेरिकाका लागि अनुमति पत्र जीएससी (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिएका थिए । तीमध्ये धेरैजसो अमेरिका आएका थिए। उनीहरूमध्ये आठसय ३२ नेपाली चिकित्सकको त केही समयअघि युएसएमएलई स्कोर नै रद्द भएको थियो । 

अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आधिकारिक तथ्याङ्क राख्ने ओपन डोर्स प्रतिवेदनका अनुसार अमेरिकामा २०२३ मा १५ हजार ९० नेपाली विद्यार्थी अध्ययनरत् छन् । यो संख्या अमेरिकामा अहिलेसम्म अध्ययनरत् नेपाली विद्यार्थीको सबैभन्दा ठूलो संख्या हो । यो संख्यासँगै नेपाल अमेरिकामा विदेशी विद्यार्थीको संख्याको आधारमा  ११औं स्थानमा पुगेको छ। 

प्रकाशित मिति: : 2024-02-25 23:27:00

प्रतिकृया दिनुहोस्