नेपाली चिकित्सकका चारवटै अनुरोध अमेरिकी अदालतबाट अस्वीकार, यस्तो आयो फैसलाको पूर्ण पाठ

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी अदालतले युएसएमएलई स्कोर रद्द भएका ८३२ नेपाली चिकित्सकका चारवटै अनुरोध अस्विकार गरेर उनीहरूलाई राहत मिल्ने आशाका सबै ढोका बन्द गरिदिएको छ। वासिङ्टन डीसीस्थित युएस डिस्ट्रिक्ट कोर्टले बुधबार गरेको निर्णयको शुक्रबार सार्वजनिक गरिएको पूर्णपाठबाट सम्बन्धित नेपाली चिकित्सक मर्माहत भएका छन्। 

न्यायाधिस क्रिस्टोफर कुपरले सार्वजनिक गरेको ३२ पृष्ठ लामो निर्णयमा युएसएमएलई स्कोर रद्द गर्ने नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको निर्णय कार्यान्वयनमा रोक लगाउनलगायत गरिएका चारवटै अनुरोध अस्विकार गरिएको छ।

अस्विकार गरिएका अनुरोधमा इमर्जन्सी मोशनको अनरोध, वर्ग प्रमाणीकरणको अनुरोध, स्कोर रद्द भएका परीक्षार्थीलाई नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको इमेलमा जवाफ दिन म्याद थपको अनुरोध र पुनरावेदन अदालतले मुद्दाको समीक्षा गरुन्जेलका लागि स्कोर रद्द गर्ने निर्णय कार्यान्वयमा रोक लगाउनका लागि गरिएको अनुरोध रहेका थिए ।

२०२३ को आसपासमा युएसएमएलई परीक्षा दिएका ८३२ नेपाली चिकित्सकले परीक्षामा ठगी गरेको अभियोग लगाउँदै उनीहरुको स्कोर रद्द गरिएको र पुन: परीक्षालगायतका तीन विकल्पका छान्न म्याद दिइएका इमेल पठाइएको भनेर २०२३ जनवरी ३१ मा प्रेस स्टेटमेन्ट जारी गरेपछि यो विषय सतहमा आएको थियो। विकल्प रोज्ने म्याद फेब्रुअरी २३ सम्मलाई दिइएको थियो ।

यो विषयलाई सहज रूपमा लिने कि मुद्दाको विषय बनाउने भन्नेमा दुई थरि मत आइरहेकै बेला यो निर्णयबाट प्रभावित एक चिकित्सक डा. लतिका गिरीले फेब्रुअरी १२ मा वासिङ्टन डीसीस्थित युएस डिस्ट्रिक्ट कोर्टमा मुद्दा दायर गरिन्। नेपाली चिकित्सकलाई आफ्नो भनाइ राख्ने मौकासमेत नदिई गरिएको यो निर्यणलाई नेपालीविरूद्धको विभेदका रूपमा चित्रण गर्दै मुद्दामा चारवटा अनुरोध गरिएका थिए।

अदालतले फेब्रुअरी १२ मै सुनुवाई गर्दै अन्तरिम आदेश नदिए पनि दुबै पक्षलाई आफ्ना लिखित तर्क पेश गर्न एक साताको समय दिइएको थियो। निर्धारित समयमा दुबै पक्षले आआफ्ना तर्क पेश गरपछि मंगलबार न्यायाधीश क्रिस्टोफर कुपरले बुधबार ११ बजे दुबै पक्षलाई आफ्ना मौखिक तर्क राख्न उपस्थित हुन आदेश दिएका थिए। बुधबार दुबै पक्षका तर्क सुनेपछि न्यायाधीश कुपरले इमर्जेन्सी मोसनको अनुरोध अस्विकार गर्ने निर्णय सुनाउँदै बाँकि अनुरोधका बारेमा पूर्णपाठमै विस्तृत प्रकाश पार्ने निर्णय सुनाएका थिए।

पूर्णपाठमा उनले यो मुद्दाकी वादी डा.गिरीले आफ्नो दाबी पुष्टि हुने आधार दिन नसकेको भन्दै उनले पुनरावेदनबाट पनि आफ्नो पक्षमा निर्णय गराउन सक्ने सम्भावना लगभग नभएको उल्लेख गरेका छन्। नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले युएसएमएलई स्कोर रद्द गर्नुपर्ने तथ्य र तर्क स्थापित गरेको उल्लेख गर्दै यसलाई एक सुनियोजित ठगीका रूपमा हेर्न सकिने पनि पूर्णपाठमा उल्लेख छ। यस्तो कारबाहीमा नेपाली मात्र नपरी जोर्डनी र पाकिस्तानी पनि परेको प्रमाण नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले प्रस्तुत गरेकाले यसबाट नेपालीलाई मात्रै विभेद गरिएको दाबी स्थापित हुन नसक्ने उल्लेख छ।

फैसलाको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोला

वासिङ्टन डीसीस्थित युएस डिस्ट्रिक्ट कोर्टको यो निर्णयसँगै यो च्याप्टर लगभग बन्द भयो भने पनि हुन्छ। डा. गिरीले गरेको केही अनुरोधका आधारमा पुनरावेदन गर्न सकिए पनि ती आधार पार लगाउन सकिने खालका छैनन्। संसारकै सबैभन्दा महंगो न्याय रहेको अमेरिकामा यो मुद्दालाई अगाडि बढाउने आर्थिक हैसियत पनि निर्णयबाट प्रभावित नेपाली चिकित्सकमा छैन। अमेरिकी सपना चकनाचुर भएर बज्रपात भएका नेपाली चिकित्सक यो ट्रमाबाट सहजै बाहिर आउन सक्ने अवस्था छैन।

रद्द भएकै युएसएमएलई स्कोरको आधारमा थुप्रै संख्यामा नेपाली चिकित्सकले अमेरिकामा विभिन्न चरण पार गर्दै रेसिडेन्सी सुरू गरिसकेका छन्। यो स्थितिमा आइपुग्न ४०-५० लाख खर्च गरिसकेका त्यस्ता नेपाली चिकित्सकहरूसामु अबको ६० दिन भित्र अर्को भिसा स्टाटस बदल्ने वा नेपाल फर्कने विकल्प बाँकि रहन्छ। अमेरिकामा भिसा स्टाटस परिवर्तन आफैंमा सहज नहुँदा उनीहरू नेपालबाटै ल्याएको लगेज बोकेर नेपाल फर्कनुपर्ने विकल्प लिन बाध्य हुन्छन्।

यो स्थिति भनेको सर्वथा युद्ध हारेको सिपाहीको जस्तो अवस्था हो। पैसा, उत्साह, उमंग, सपना सबै सकिएर रित्तिएको अवस्थामा उनीहरू नेपाल फर्कनुपर्ने हुन्छ। नेपाली समाज यसै पनि स्याडिस्ट छ। यस्तो समाजमा अहिले नै उनीहरू आफ्नो नाम बताउन पनि सकिरहेका छैनन् भने चिटिङ गरेर युएसएमएलई पास गरेको एक ठगका रूमा कलंकको टीका पनि उनीहरूको निधारमा रहिरहने छ।

अर्कोतिर यी ८३२ कै कारण अमेरिका नेपाली चिकित्सकहरूको लागि अमेरिका बन्द हुने भयो भनेर बाँकिले लाञ्छित पनि गर्छन् । अहिले नै पनि केही चिकित्सकहरू यिनीहरूले गर्दा अमेरिकामा नेपाली चिकित्सक र नेपालकै प्रतिष्ठा बर्बाद भयो भनेर आरोपित पनि गरिरहेकै छन्।

जे होस्, यी ८३२ का लागि यो युएसएमएलई स्कोर रद्द प्रकरण एक किसिमको कहिलै खाटा नबस्ने घाउजस्तै भएको छ। तर, सत्य के हो भने समयक्रममा हरेक खाटा भरिन्छ नै। किनकि समय नै सबै घाउको अन्तिम ओखती हुनछ।

यी समाचार पनि पढ्नु होला:

सयौँ नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा रद्द, तुहिदैछ अमेरिकी सपना

युएसएमएलईलाई नेपाल र नेपाली चिकित्सकको मानमर्दन गर्ने स्टेटमेन्ट सच्याउन आग्रह

नेपाली चिकित्सकहरूको युएसएमएलई प्रकरण पुग्यो अदालतमा, यस्तो भयो आदेश

अमेरिकी सिनेटर चार्ल्स शुमरद्वारा ‘युएसएमएलई–नेपाल प्रकरण’मा कदम चाल्ने आश्वासन

आज अमेरिकामा ८३२ नेपाली चिकित्सकको 'युएसएमएलई स्कोर' प्रकरण को फैसला हुँदै

अमेरिकामा नेपाली चिकित्सकहरूको युएसएमएलई स्कोर रद्दसम्बन्धी मुद्दाको सुनुवाई बुधबार ११ बजे

अमेरिकी अदालतद्वारा नेपाली चिकित्सकको इमर्जेन्सी मोशन खारेज: ८३२ को युएसएमएलई स्कोर रद्द

प्रकाशित मिति: : 2024-02-24 08:25:00

प्रतिकृया दिनुहोस्