सिंजामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जुम्लाको सिंजा गाउँपालिकामा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सिंजा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा क्यान्सर तथा पाठेघर सम्बन्धि ८ र ९ गते  नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे हाे।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले चुनावी घोषणापत्र मार्फत जनतालाई नि:शुल्क स्वास्थ्य उपचारको बन्दोबस्त गरिने बाचा गरेका थिए। सोही बमोजिम निश्चित समयको अर्न्तरालमा स्वास्थ्य शिविर मार्फत उपचारको बन्दोबस्त गरिँदै आएको अध्यक्ष धितालले बताए।

‘हामीले स्वास्थ्य शाखा र स्वास्थ्य चौकीलाई राखी चुस्त राखेका छौं। जनस्वास्थ्यलाई ख्याल गरि स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘सरकाले ९२ प्रकारका ओैषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। तर हामीले सय भन्दा बढी प्रकारका ओैषधि उपलब्ध गराउँदै आएका छौं।’

उनका अनुसार गम्भीर प्रकृतिका रोगको समेत नि:शुल्क उपचारको प्रबन्ध मिलाउन पालिकाले बेलाबेला स्वास्थ्य शिविर संचालन गर्दै आएको छ।

दुई दिने नि:शुल्क स्वास्थ्य शिविरबाट दुई सय ५० जनाले प्रत्येक्ष सेवा लिएको सिजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए। 

उनका अनुसार पाठेघरको क्यान्सर जाँच गरिएका एक सय ४६ जनामा पाँच जना महिलाको पाठेघरमा रिङ राखिएको छ।

‘पालिकाले संचालन गरेको स्वास्थ्य शिविरबाट तीन जनाको सर्जरी गर्नु पर्ने देखिएको छ भने स्वास्थ्य परिक्षणबाट पाँच जनामा क्यान्सर भएको शंका गरिएको छ,’ उनले भने, ‘तीन जनामा क्यान्सरको संक्रमण देखिएको छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विकट क्षेत्रका १३ जिल्लाका विभिन्न पालिकामा डाक्टर पठाएर सेवा दिदै आएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

‘विभिन्न क्षेत्रमा आयोजना गरिने स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सक पठाएर सेवा दिदै आएका छौं,’ उनले भने, ‘सिंजामा पनि हामीले कर्णालीमा लामो अनुभवी हासिल गरेका दक्ष चिकित्सकबाट सेवा दियौं। जसले धेरै नागरिकले सेवा लिन पाएको महसुस भएको छ।’

कर्णालीका ग्रामिण भेगका अधिकांश महिलामा स्वास्थ्य समस्या देखिने गरेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर राजिब शाहले बताए। 

उनले भने, ‘अधिकांश महिलालाई पाठेघरको समस्या छ। कठोर परिश्रमले महिलाको स्वास्थ्य जटिल बन्दै गएको छ।’

प्रकाशित मिति: : 2024-02-22 13:44:00

प्रतिकृया दिनुहोस्