हरेक मुलुकको संरचनात्मक रूपान्तरणसहितको दिगो विकासका निम्ति संरचनात्मक परिवर्तन ज्यादै महत्वपूर्ण छ । हार्वर्ड विश्वविद्यालयका प्रोफेसर डानी रोड्रिक भन्छन्– आधारभूत संरचनात्मक परिवर्तनबाटै दिगो आर्थिक वृद्धि र विकास सम्भव छ । यसका निम्ति आर्थिक क्रियाकलाप (अर्थात् उत्पादन र श्रम दुवै) परम्परागतबाट आधुनिक संरचनातर्फ परिवर्तित हुनुपर्छ ।
किनकि, आर्थिक विकासको परम्परागत मोडेलमा उत्पादनका साधन (पुँजी र श्रम दुवै) को भरपूर उपयोग हुन सक्दैन र नतीजास्वरूप उत्पादन न्यून हुन पुग्छ । अर्थतन्त्रको यस्तो संरचनात्मक परिवर्तनको प्रभाव भने चक्रीय हुन्छ ।
सन् १९७० को दशकअघिदेखि नै जापान, दक्षिण कोरिया, ताइबान, चीनजस्ता धेरै एसियाली र दक्षिण–पूर्वी एसियाली मुलुकले औद्योगिक विकास गरे । आदर्शवादभन्दा पनि व्यवहारवादप्रतिको उनीहरूको विश्वास, इच्छाशक्ति र निर्यातमुखी औद्योगीकरणतर्फको तेज गतिले नै तिनलाई सफल बनायो । तर, कतिपय ल्याटिन अमेरिकी र अफ्रिकी मुलुकले निर्यात प्रवद्र्धनभन्दा आयात प्रतिस्थापनतर्फ जोड दिएका कारण ‘वासिंटन कन्सेन्सस’जस्ता उदारवादी विचारमा अचाक्ली भर गरेका कारण र उक्त मोडेलअनुरूप संरचनात्मक परिवर्तनमार्फत अर्थतन्त्रको संरचनात्मक रूपान्तरण स्वतः हुन्छ भन्ने विश्वासका कारण पछि परे । नेपालमा पनि अहिलेको आर्थिक अस्तव्यस्तता, पुँजी र श्रम पलायनको स्थितिजस्ता समस्याबाट मुक्ति पाउन र दिगो आर्थिक विकासका निम्ति विद्यमान अर्थतन्त्रमा संरचनात्मक परिवर्तनको खाँचो छ ।