पक्राउ पूर्जीबीच विप्लवले मनाउलान् जनयुद्ध दिवस? 

भोलि अर्थात फागुन १ गते जनयुद्ध दिवस। तत्कालिन माओवादी घटकहरूले यस दिवसलाई धुमधामका साथ मनाउने तयारी गरेका छन्। २०५२ साल फागुन १ गतेबाट तानाशाही साशनविरुद्ध बन्दुक उठाएर सुरु भएको सशस्त्र युद्धलाई माओवादीहरूले उत्सवका रुपमा मनाउने तयारी गरेका हुन्। 

तत्कालिन माओवादीमा रहेर जनयुद्ध गरेका नेताहरू हाल विभिन्न चिरामा छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र सरकारमा छ। मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द (विप्लव)लगायतका अन्य नेताहरूले आ–आफ्नो पार्टी बनाएर छुट्टै संघर्ष गरिरहेका छन्। 

तर उनीहरू पनि जनयुद्ध दिवस मनाउने तयारीमा भने छन्। माओवादी नेताहरूले जनयुद्ध दिवस मनाउने तयारी गर्दै गर्दा हाल नेकपाका महासचिवसमेत रहेका विप्लवलाई भने काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ। 

उनलाई ३५ दिने पक्राउ पूर्जी जारी भएको दुई महिना बढी भइसकेको छ। गएको मंसिर १८ गते उनलाई पक्राउ पूर्जी जारी भएको भए पनि उनी पक्राउ भने परेका छैनन्। उनीसहित नेकपाका पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो। 

चार जनालाई पक्राउ पूर्जी जारी भए पनि कोही पक्राउ परेका छैनन्। पार्टीकै महासचिवलाई पक्राउ पूर्जी जारी भएपछि नेकपाले जनयुद्ध दिवसमा सार्वजनिक कार्यक्रम गर्छ त? जिज्ञासा हुन सक्छ। 

नेकपाले भोलि जनयुद्ध दिवसमा भव्यरुपमा कार्यक्रम गर्ने तयारी गरेको छ। पार्टीका पोलिव्यूरो सदस्य चन्द प्रकाश खड्का (असल सी) धुमधामका साथ जनयुद्ध दिवस मनाउने तयारी भएको बताए। 

बिएल नेपाली सेवासँग कुरा गर्दै उनले देशभर विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउने र पार्टीको केन्द्रीय कार्यालयमा कपिलवस्तुमा पनि भव्य रुपमा कार्यक्रम हुने बताए। साथै असलले बिहान ९ बजे महासचिव विप्लवले देशबासीका नाममा सम्बोधन गर्ने जानकारी दिए। 

उनकाअनुसार बिहान विप्लवले देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् भने दिउँसो कार्यक्रममा सहभागी हुनेछन्।

यो पनि

प्रकाशित मिति: : 2024-02-12 20:37:00

प्रतिकृया दिनुहोस्