ह्याकरको कब्जामा गएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट अझै फिर्ता आएको छैन। मंगलबार (माघ १६ गते) देखि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.tuexam.edu.np ह्याकरको कब्जामा छ।
आइतबार दिउँसो साढे १ बजे यो समाचार तयार पार्दासम्म वेबसाइट खुल्दैन। वेबसाइट खोल्दा बनाइरहेकाे भनेर देखाइएको छ।
वेबसाइट ह्याक भएको हप्ता दिनसम्म पनि सेवा सूचारु हुन नसक्दा सेवाग्राही भने मारमा परेका छन्। परीक्षा नियन्त्रण कार्यालयले माघ १५ गते ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम सबै अनलाइनबाट दिने घोषणा गरेको थियो।
त्यसयता वेबसाइट राम्रोसँग चल्न सकेको छैन। वेबसाइट नचल्दा परीक्षा नियन्त्रण कार्यालयले जारी गर्ने फारम भर्नुपर्ने सूचना, नतिजा प्रकाशनलगयतका सूचनाबाट पनि सेवाग्राही बञ्चित भएका छन्।
देशकै ठुलो र पुरानो विश्वविद्यालयको वेबसाइट बनाउन हप्ता दिनसम्म नसक्नुले त्रिविको क्षमतामाथि प्रश्न उब्जिएको छ।
हप्तादिनसम्म वेबसाइट बनाउन नसकेको विषयमा त्रिविले कुनै जानकारी गराएको छैन। बिएल नेपाली सेवाले परीक्षा नियन्त्रक पुष्पराज जोशीसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।