जब मिरमिरे बिहान हुन्छ, टिना घिमिरे मोबाइल उठाउँछिन् र ‘परदेशिए’का श्रीमानलाई फोन लगाउँछिन्।
उनको हरेक दिनको नियमित कर्म हो यो।
तर, दुई महिनादेखि श्रीमानको फोनमा न फोन लाग्छ न कुनै सन्देश नै जान्छ।
दुई महिनासम्म श्रीमान पदम घिमेरेको फोन नै आएको छैन। मात्र टिनाको श्रीमानसँग सम्पर्क टुटेको दिनहरू थपिइरहेका छन्।
श्रीमानको हालखबर के छ, कस्तो छ उनलाई केही थाहा छैन।
छ महिनाअघि उनलाई थाहा थियो, श्रीमान रुसी सेनामा भर्ना भएका थिए।
रुस पुगेको चार महिनासम्म पदमसँग श्रीमती टिनाको राम्रै सम्पर्क भइरहेको थियो। तर, हरेक दिनका फोनहरु भने नराम्रा हुँदै गएका थिए। पदमले फोनमा नमिठा पलहरु सुनाउन थालिसकेका थिए, रुस र युक्रेन युद्धको कठिन अवस्थाहरु ताजै हुनेगरी।
नमिठा दिनहरु सुनाउँदै गर्दा फेरि फोनमा उनी भन्थे, ‘मेरो पिर नगर्नु है!’
पदम रेड जोनमा पुगिसकेका थिए, युक्रेनको दुश्मन भएर। कतिबेला युक्रेनी सेनाले बम–बारुद र रकेट प्रहार गर्ने हो कुनै पत्तो थिएन। एक त अरुका देशका लागि लड्न पुगेको। त्यसमा पनि रुसी सेनाले फ्रन्टलाइनमा लड्न पठाएपछि सुरक्षित फर्किने आशै नहुने।
रेड जोनले चर्चित युक्रेनी सीमा क्षेत्रमा खटाएपछि पदम भाग्ने प्रयास नगरेका पनि होइनन्। दुई–दुई पटक भाग्न खोजे। तर, त्यहाँका कमान्डरहरुले उनलाई समाते। भाग्न दिएनन्।
सायद कुटपिट पनि गर्यो कि पदमको गाला र नाकमा घाउ थियो। ‘उहाँ मैदानमा गइसकेपछि दुई पटकसम्म भाग्न खोज्नुभएको थियो। भाग्दा म भाग्दैछु भनेर दुईपटक नै कल गर्नुभएको थियो,’ टिना भक्कनिइन्, ‘त्यसबेला उहाँको नाक र गालामा घाउ थियो। मैले रसियनले पिटेको हो? भनेर सोध्दा उहाँले हो मात्र भन्नुभएको थियो।’
टिनाको अन्तिम कल भएको त्यही नाक र गालामा घाउ देख्दा हो। त्यसपछि यता कुरा हुन नपाएको दुई महिना भइसक्यो। श्रीमानको कुनै पत्तो नहुँदा उनीसँग रुनुको कुनै विकल्प छैन।
छोरा-छोरीले बाबाको खबर सोध्न थालेका छन्। आफूलाई जसोतसो सम्हालेकी टिनाले छोरा-छोरीको बाबालाई सोध्ने प्रश्नले भने झन् मन पोल्ने गरेको छ।
‘छोराछोरी बाबा खै भन्छन्, कल गर्छन् भन्दै कुरेर बस्छन्’, उनले भनिन्, ‘आफूलाई त जसरीतसरी सम्हालेको छु। बच्चालाई कसरी यस्तो भयो भनेर बताउँ?’
उदयपुरबाट रोजगारी खोज्दै काठमाडौँ आएका पदम यहाँको कमाइले परिवार पाल्न नसकेपछि विदेशिने योजना बनाएका थिए। त्यसैबेला पदमको भेट रुसी सेनामा पठाउने दलालसँग भएको थियो। दलालले रुसी सेनामा भर्ती भए धेरै तलब पाउने प्रलोभन देखाउँदै पदमलाई रुसी सेनामा जान भनेका थिए।
पदमले पनि दलालले भने बमोजिम ७ लाख रुपैँया बुझाएर रसिया उडे। उनी रुस पुगेपछि घरमा भनेका थिए– पहिला त त्यस्तो केही हुँदैन रहेछ, खाली बन्दुक चलाउने र सिक्ने हो। तालिम सकिएपछि मात्रै सीमामा जाने हो। अब मेरो पनि तालिम सकियो। अब चाहिँ सीमा (रेड जोन)मा जानुपर्छ। पिर नगर्नु सबै ठिक हुन्छ।
तर, ठिक हुन्छ भनेका पदम हाल भने बेपत्ता छन्। उनी कुन अवस्थामा छन्? परिवारलाई थाहा छैन। श्रीमानलाई खोजी गरिदिन टिना सरकारलाई आग्रह गर्छिन्।
०००
इलामकी सीतामाया बल पनि भालेको डाकोसँगै युद्धभूमिमा होमिएका श्रीमान्लाई फोन गर्छिन्। श्रीमान् सन्तोष केरुङ गत असोज ८ गते रुसी सेनामा भर्ना हुन गएका थिए।
८ लाख बुझाएर रुसी सेनामा भर्ती भएका उनी हाल युद्धभूमिमै छन्। युद्धभूमिबाटै आफन्तसँग भक्कानिदै कुरा गर्छन्। उनलाई पनि दलालले रुसी सेनामा भर्ना भए महिनामै साढे तीन लाखसम्म कमाइ हुने प्रलाेभन देखाउँदै रुस पुर्याएको थियो।
‘हामीलाई त रुस र युक्रेन युद्धकोबारेमा धेरै थाहा पनि थिएन। युद्ध यति धेरै चर्किसकेको रहेछ। दलालले सीमामा गार्डको काम गर्ने हो केही गर्नु पर्दैन भन्दै श्रीमान्लाई फकाएर ८ लाख लिएर उता पठायो। अब कतिबेला के हुन्छ, केही थाहा छैन’, सीताले भक्कानिदै भनिन्।
सीताको श्रीमान्सँग कुरा त हुन्छ। तर, श्रीमानका कुराले उनको मन ढक्क भएर फुल्छ। उनका श्रीमान् सन्तोष युद्धभूमिबाट भन्छन्, ‘युद्ध मैदानमा धन कमाउन धेरै गाह्रो छ। कतिबेला मरिन्छ थाहा हुन्न।’
सन्तोषले रुसी सेनाबारेमा सुनाउँदा सीतामाया भक्कानिन्छिन्। ‘अहिले एउटा युद्ध सकाएका छौँ। अब फेरि कुन ठाउँमा पठाउँछ थाहा छैन। युद्धमा सबैभन्दा अघि हामी नेपालीलाई फ्रन्ट लाइनमा पठाउँछ’, सन्तोष फोनमा यस्तै भन्ने गर्छन्।
उनले रुसी सेनामा आफूहरुले निकै दु:ख पाइरहेको बताउने गरेका छन्। ‘यहाँ नेपालीहरु मर्याे भने यसै हाँसेर उडाइदिन्छ, केही फरक पर्दैन। तर, रसियन मर्यो भनेर हामीलाई आएर गाली गर्दै कुट्छ। हामी घाइते हुँदा समेत रसियनसँग राखेर उपचार गराउँदैन। छुट्टै कहाँ लग्छ थाहै हुँदैन’, श्रीमानको भनाइ उद्धित गर्दै सीतामायाले सुनाइन्।
दुबई जाने भनेर तयारी गरेका सन्तोष दलालको फन्दामा परेर रुस पुगका थिए। ‘यहाँ जति दुःख गर्दा पनि केही पार नलाग्ने भएपछि दुबई जान्छु भन्नुभएको थियो,’ उनले भनिन्, ‘तर, अब त्यो धनको के अर्थ? ज्यान नै रहँदैन भने के काम?’
०००
कैलालीकी चाँदनी बिष्टलाई चिन्ता कम छैन। उनका त एक जना होइन श्रीमान, देवर र नाती गरी तीन जना रुसी सेनमा युद्धरत छन्। उनीहरु गत मंसिर १९ गते रुसी सेनामा भर्ना हुनको लागि भन्दै नेपालबाट गएका थिए।
उनका श्रीमान् विराजन बिष्ट नेपाल आर्मीबाट राजीनामा दिएर सिंगापुर गएका थिए। सिंगापुरमा ७ वर्ष र दुबईमा चार वर्ष बिताइसकेका उनले नेपाल आएर राम्रो कमाइ हुने भन्दै भाइ र नातीलाई लगेर रुसी सेनामा भर्ना हुन गएका थिए।
चाँदनीका अनुसार उनीहरूले प्रतिव्यक्ति साढे ७ लाख रुपैयाँ दलाललाई दिएका छन्। चाँदीको श्रीमान् र देवरसँग बेला–बेला फोनमा कुरा हुन्छ। तर, केही दिन अगाडि तालिम सकेर युक्रेनी सीमा क्षेत्रमा खटाएपछि नातीसँग सम्पर्क नभएको उनी बताउँछिन्।
‘श्रीमान् र बाबुसँग त कुरा भइरहेको छ। तर, नातीसँग भने कुरा हुन पाएको छैन। नाती तालिम सकेर सीमामा खटिएको छु भन्थ्यो,’ उनले भनिन्, ‘खै अहिले कुरा हुनै पाएको छैन केही समस्या भयो कि के भयो।’
नातीसँग सम्पर्क हुन नसकेपछि उनको निद्राको चैन सबै खलबलिएको छ। सानैदेखि आफैँले हुर्काएकोको नातीलाई सम्झदै उनी भगवनसँग प्रार्थना गर्छिन्, ‘हे भगवान् मेरो नातीलाई केही नहोस्।’
तर, युद्धको भूमरीमा एकै परिवारको तीनजना परेपछि उनी उद्धारका लागि काठमाडौँ आएकी छिन्। उनी जस्तै थुप्रौ आमा, श्रीमती, दिदी, बहिनी दाइ-भाइहरु युद्धमा होमिएका आफन्तहरु सम्पर्कमा नआएको भन्दै सरकारसमक्ष सहयोगको याचना गर्दै काठमाडौँ आएका छन्।
तेस्रो मुलुक हुँदै रसियन सेनामा नेपाली कति भर्ती भए भन्ने सरकारसँग कुनै हिसाब छैन। कानुनी रुपमा उनीहरु सेनामा भर्ती हुन गएका पनि होइनन्।
अबैध रुपमा दलालको फन्दामा परेर हजारौँ युवाहरु रुसी सेनामा कार्यरत छन्। रुस–युक्रेन युद्धमा केहीले ज्यान गुमाइसके। नेपाल सरकारले पुष्टि गरेकोमा १० नेपालीको युक्रेनसँगको युद्धमा ज्यान गएको छ।
रुसी सेनामा धेरै गएको थाहा पाएपछि पुस १९ गतेदेखि वैदेशिक रोजगार विभागले सरकारको निर्देशनमा रूस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक लगाइसकेको छ। तर, अहिले पनि दलालको फन्दामा रुसमा पुगिरहेको बताइन्छ।
सरकारसँग रुसी सेनामा कति छन् भन्ने कुनै जानकारी नभए पनि त्यहाँ पुगेर फर्किएका धेरैले हजारौँको संख्यामा सेनामा रहेको बताउँछन्। १० जनाको मात्र होइन रुसी सेनामा पुगेका धेरैले ज्यान गुमाएको अनुमान गर्छन्।
भिडियाे :