म्यान्मारको सत्तासीन सेनाले ‘आङ सान सुकी नेतृत्वको जननिर्वाचित सरकार’लाई हटाउँदै सत्ता कब्जा गरेको बिहीबार तीन वर्ष पूरा भएको छ।
‘सैन्य–जुन्ता’ले आशिंक स्वतन्त्रताको घाँटी निमोठ्दै शासन–सत्ता हातमा लिएपछि ‘म्यान्मार गृहयुद्ध’मा रुमल्लिलिएको छ। यो म्यान्मारमा फैलिँदै गएको स्वभाविक हो। यो जनता बर्मेली लड्नै–पर्ने ‘जनताको लडाइँ’ हो।
‘बर्मेली प्रजातन्त्र’का हिमायतीहरू दशकौँदेखि सेनाविरुद्ध लडिरहेका छन्। उनीहरू सैन्य क्रूरताको ‘घिनलाग्दो रबैया’बाट आजित छन्। बर्मेलीहरू युद्ध लड्दा–लड्दा थाकेका छन् तर हारेका छैनन्। उनीहरू हिजोआज पनि प्रदर्शनमै छन्। लडाइँमै छन्। सैनिकहरूलाई गाउँ–गाउँबाट भगाउँदै छन्।
‘बर्मेली याेद्धा’हरू शान्तिपूर्ण सडक आन्दोलनदेखि डराएका छैनन्, बरु ‘सशस्त्र विद्रोह’को राँको बाल्दै ‘जुन्ता’विरुद्ध जाइलागेका छन्। उनीहरू देशमा प्रजातन्त्र फर्काउन लागिपरेका छन्।
म्यान्मारको सत्तासीन सेनाविरुद्ध लाखौँ मानिसहरू आन्दोलित छन्। सैनिक शासन भगाउन युद्धमैदानमा उत्रिएका बर्मेलीहरू रत्तिभर डगमगाएका छैनन्। उनीहरू दिनरात नभनी लडिरहेका छन्। सैन्य साम्राज्य ध्वस्त बनाउँदै छन्।
‘कू’पछि प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको पक्षमा उर्लिएको जनमास देख्दा तानाशाही अत्तालिएको छ। गाउँ–सहरबाट बन्दूक बोकेर स्वतन्त्रता फर्काउन हिँडेको युवापंक्ति देखेर सैनिकहरू बौलाएका छन्।
वर्षौँदेखि म्यान्मारको मूलधारविरुद्ध लुकिछिपी लड्दै–भिड्दै आएका दर्जनौँ सशस्त्र जातीय विद्रोही समूह ‘कू’पछि ‘नागरिक आन्दोलन’मा सामेल भएका छन्। उनीहरू ‘जनताको नासो जनताकै हातमा ल्याउने’ तर्फमा सहमत छन्।
म्यान्मारमा दिन प्रतिदिन बढ्दो जनमत दबाउन क्रूर सेनाले हत्या–हिंसालाई बढवा दिएको छ। सैन्य सरकारले तीन वर्षमा कम्तीमा ४ हजार ४ सय ७४ जना बर्मेली निर्दोष नागरिकको हत्या गरेको छ। सेनाले हजारौँ गाउँ–बस्तीहरू जलाएको छ।
नागरिक आन्दोलनमा सामेल भएका २० हजारभन्दा बढीलाई सैन्य हिरासतमा थुनिएको छ। लाखौँ मानिसहरू विस्थापित भएका छन्। सेनाले घरमाथि बम खसाल्दा उनीहरू घरबारविहीन भएका छन्।
सेनाविरुद्धको आन्दोलन झन्–झन् चर्किंदैछ। मानिसहरू गाउँघर छोड्न तयार छन्। उनीहरू सेनाको अमानवीय गतिविधिलाई त्यसै प्रकारको जवाफ दिन र ‘सैन्य शासन’को जरा उखेल्न सशस्त्र युद्धमा होमिएका छन्।
म्यान्मारमा तीन वर्षदेखि चलिआएको गृहयुद्ध सैन्य ‘जुन्ता’का लागि गलपासो बन्दैछ। पछिल्लो ६ महिनामा हजारौँ ‘अमानवीय सैनिक’हरू नागरिक आन्दोलनको शिकार बनेका छन्। कतिपय कर्मचारी, सेना–प्रहरीका सिपाहीहरू सरकारी जागिर त्याग्दै ‘प्रजातान्त्रिक आन्दोलन’मा सहभागी भएका छन्।
म्यान्मारको विद्रोह र त्यसपछिको गृहयुद्धले चौथो वर्ष प्रवेश गर्दैगर्दा नागरिक मत बाक्लिँदैछ। योद्धाहरू मर्न तयार छन्। तर लडाइँबाट पछि हटेका छैनन्। उनीहरूप्रति लाखौँ बर्मेली जनताको साथ–समर्थन र उत्साह छ। म्यान्मारमा तानाशाही सेनाविरुद्धको ‘जनयुद्ध’ जारी छ।