काठमाडौँलाई टाउको दुखाइरहेका कुकुरहरू: कसरी सम्हाल्दैछ महानगर?

रातभर घरभित्र थुनिएको कुकुरलाई उज्यालो भएसँगै नन्दिता (परिवर्तित नाम)ले घर छेउको धोबी खोलामा शौच गर्न ल्याइन्। खोलामा शौच गराएर सडकमा ल्याइपुर्याएकी मात्र के थिइन्, महानगर प्रहरी देखिहाले।

प्रहरी आएर कुकुरलाई जबरजस्त च्यार्‍यापचुरुप समाते। महानगरको गाडीमा कोचिहाले। कुकुरलाई किन सडकमा ल्याएको भन्दै नन्दितालाई नगरप्रहरीले धम्काए। कुकुरसँगै गाडीमा बस्न उर्दी गरे।

उनी गाडीमा बस्न मानिन्। आनकानी के गरेकी थिइन्, प्रहरीले फेरि अर्को धम्की दिए। ‘किन बढी बोलेको, कुकुरलाई इन्जेक्सन लगाइदिउँ’, प्रहरीले भनेका थिए।

नन्दितालाई जस्तै सडकमा कुकुर डुलाउनेलाई काठमाडौँ महानगरपालिकाले कडाइ गर्दैछ। कुकुर पाल्नेहरुले घरमा कुकुरलाई शौच नगराएर बिहान–साँझ सडकमा ल्याएर शौच गराउँदै फोहोर बनाएपछि महानगरले कडाइ गर्दै जरिवाना गर्न थालेको हाे।

कुकुरलाई शौच गराउनेलाई महानगरले कडाइ गर्दै पाँचदेखि १५ हजारसम्म जरिवाना गर्ने गरेको छ। यसरी महानगरले कडाइ गर्न थालेपछि कुकुर पाल्दै आएका केही मान्छेहरू मर्कामा परेको बताउँछन्।

जसमध्ये एक हुन्– ३० वर्षदेखि कुकुर पाल्दै आएका शंखमूलका दिनेश कार्की। दैनिक कुकुरलाई लिएर मर्निङ वाकमा जाने बानी भएका उनी आजकाल एक्लै जान थालेको बताउँछन्।

कुकुरलाई सधैँ घरभित्र मात्र राख्नु पर्दा उनलाई समस्या भएको छ। घर बाहिर डुलाउन नपाएपछि अब कुकुरलाई कसरी पाल्ने भन्नेमा उनी चिन्ता व्यक्त गर्छन्।

‘कुकुर पालेपछि कहिलेकाहीँ त घुमाउनुपर्छ नि, चौबिसै घण्टा घरमा बाधेँर राख्नु पनि हुँदैन। अब तिनीहरुलाई के गर्ने भएको छ,’ कार्कीले भने, ‘पहिला कति रहर लागेर किनियो, कहीँ जाँदा सँगै हुन्थ्यो, साथी हुन्थ्यो। अब सडकमा डुलाउन नहुने भएपछि यही समस्या बन्न आएको छ।’

कार्कीलाई महानगरको दर्ता र अनुमतिपत्र लिनुपर्ने नियमसँग कुनै आपत्ति छैन। तर, उनलाई कुकुरको मलमूत्र व्यवस्थापन गर्न समस्या भएको छ।

‘सानैदेखि बाहिर लगेर दिसापिसाब गर्ने बानी लगाइयो, अब कुकुरले भित्र दिसा गर्न मान्दैन,’ उनी भन्छन्, ‘कुकुर पाल्न अनुमतिपत्र लिनुपर्ने त ठिक नै हो। तर कुकुरको दिसापिसाबलाई घरमा नै कसरी व्यवस्थापन गर्ने?’

तर महानगरले सूचना जारी गर्दै महानगरका सडकमा कुकुर डुलाउन प्रतिबन्ध लगाएको छ।कुकुरलाई सडकमा डुलाउँदा कुकुरका दिसापिसाबले सहर फोहोर हुने र त्यसबाट विभिन्न रोगहरु फैलने भन्दै महानगरले सडकमा कुकुर नडुलाउन भनेको छ।

घरधनीले रहरका लागि कुकुर पाल्ने र बिरामी भएपछि सडकमा अलपत्र छाड्ने क्रम बढेका कारण महानगरले माघ १२ गते सूचना सार्वजनिक गर्दै कुकुर पाल्न अनुमति लिनुपर्ने नियम लागू गरेको हाे।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार अब महानगरपालिकाभित्र कुकुर पाल्न कर पनि तिर्नुपर्ने हुन्छ। कर लिएपछि महानगरले सेवा दिने उनले बताए।

‘सडकलगायतका सार्वजनिक स्थलमा दिसापिसाब गराउने र फोहोर त्यसै छाड्ने चलन समस्या बन्दै गएको र मानव स्वास्थ्यमा असर पुग्ने हुँदा महानगरले यसलाई कडाइका साथ लागू गर्न लागिएको हो’, उनले भने, ‘यसको लागि घरधनीले कर तिरेपछि महानगरले सेवा दिनेछ। दर्ता गरेको कुकुरलाई एक वर्षसम्म खोप, उपचार र आवश्यक परामर्श निःशुल्क गर्नेर्छौँ।’

यस्तै महानगरका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख डा. अवधेश झा सडकका छाडा कुकुर नियन्त्रण गर्न मात्र नभइ घरपालुवा कुकुरको अवस्थाको जानकारी लिन पनि नियम लागू गरिएको बताउँछन्।

उनले कुकुर दर्ता गर्दा पशुधनीको नाम, ठेगाना, घर नम्बर, फोन नम्बर, कुकुरको जाति, नश्ल, उमेर, बोलाउने नाम, रङ र लिंगको रेकर्ड राख्ने बताए। साथै कुकुर पाल्ने अनुमतिपत्रसँगै बेल्टमा ट्याग झुन्ड्याइन्छ र चिप लगाइन्छ।

जसबाट हराएका कुकुरहरु पत्ता लगाउन, हराएको कुकुरले कसैलाई टोकेमा घाँटीमा बाँधिएको बेल्टका आधारमा कुकुरधनी पत्ता लगाउन सहज हुने भएकाले दर्ताको नियम लागू गरिएको झा बताउँछन्।

यस्तै उनी यसरी दर्ता भएका कुकुरहरुलाई छाडा छोड्न नपाइने हुँदा सडकमा कुकुरहरु कम हुने विश्वास व्यक्त गर्छन्। ‘दर्ता प्रक्रियापछि अब यो समस्या आउँदैन,’ उनले भने, ‘ऐनबमोजिम दर्ता भएका कुकुरलाई छाडा छोड्न नपाइने, घरबाहिर दिसापिसाब गराउन नहुने प्रावधान छ।’

महानगरले कुकुर पाल्नका लागि कार्यविधि बनाएको छैन। डा. झा छिट्टै कार्यविधि बनाउने तयारी भएको बताउँछन्। महानगरपालिकालाई नमुना र सभ्य सहर बनाउने अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा समेत व्यवस्था गर्दै घरपालुवा जनावरको सम्बन्धमा कानुन बनाइएको थियो।

छाडा कुकुर व्यवस्थापनमा समस्या

घरमा पालेका कुकुरलाई सडकमा ल्याउन कडाइ गरेको महानगरले सडक कुकुरलाई भने कसरी व्यवस्थापन गर्ने भन्ने समस्यामा छ।

तत्काल भनेको जस्तै सडक कुकुरलाई कतै व्यवस्थापन गरिहाल्ने योजनामा महानगर छैन। सडक कुकुरको व्यवस्थापन गर्न बन्ध्याकरण गर्न महानगरले योजना बनाएको छ। तर त्याे त्यति सहज भने छैन।

हाल काठमाडौँमा करिब २२ हजारको हाराहारीमा छाडा कुकुर रहेको महानगरकै अनुमान छ।  घरपालुवा कुकुरको सङ्ख्या १० हजारको हाराहारीमा छ। छाडा कुकुर व्यवस्थापन गर्न महानगरले नि:शुल्क दर्ता गर्ने बताएको छ। तर ती कुकुर कसले लैजाने भन्ने अन्योल छ।

महानगरका प्रवक्ता मानन्धर छाडा कुकुर व्यवस्थापनमा केही समस्या हुने देख्छन्। ‘केही मान्छेले व्यवसायिक प्रयोजनको लागि सडकका कुकुर लिएर आफ्नो बनाए पनि बाहिरी देशका कुकुरहरुले त्यसलाई प्रतिस्थापन गर्दै आएको छ’, उनले भने, ‘सडकका कुकुरलाई लिएर उनीहरुको स्याहार र ज्ञान दिनै गाह्राे पर्छ। त्यसैले व्यवस्थापनमा समस्या भइरहेको छ।’

महानगर कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. झा भने चुनौती भएपनि व्यवस्थापन गरेरै छाड्ने आँट व्यक्त गर्छन्। ‘हामीले अहिले कुकुर व्यवस्थापन थालेको छौँ। अबको चार वर्षमा सडकमा तीन/चार हजारमा मात्रै कुकुर हुन्छ।’

महानगरले बन्ध्याकरण योजना बनाएर कुकुर व्यवस्थान गर्ने बताउँछ। ‘सडकमा छाडा कुकुर कम गर्न सबैभन्दा पहिला कुकुरको बन्ध्याकरण गराउनु नै हो’, झाले भने। 

प्रकाशित मिति: : 2024-01-30 18:27:00

प्रतिकृया दिनुहोस्