प्रदेश संसदीय दलको नेताबाट भट्टलाई हटाउने निर्णय तत्काल सच्याउन माओवादीकाे निर्देशन

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता परिर्वतन निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ।

प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा बसेको माओवादी सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिएको हो।

संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बैठक बसी दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुराप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय तत्काल सच्याउन निर्देशन दिने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ।

‘यहि मिति २०८० माघ १२ गते नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारीबिना उपनेता कमरेड अक्कलबहादुर रावलको अध्यक्षता बसी दलनेता परिर्वतन र सरकार परिर्वतन गर्ने भन्ने कुराप्रति पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रदेश कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी परम्परा,विधिविपरीत केन्द्रीय निर्देशनको समेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौं कार्यकर्ताको मनोभावना विपरीतको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो।’

कमिटीले संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर अविलम्ब समाधानको लागि केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल गर्न आग्रह गर्ने निर्णय गरेकाे छ।

प्रकाशित मिति: : 2024-01-28 11:16:00

प्रतिकृया दिनुहोस्