दाङ छुट्यो। सँगै हुर्किएको ठाउँ र कर्म छुट्यो।
छाड्न मन त कहाँ थियो र, दाङ त सबै थियो। आफ्नो घर थियो। साथी-संगीको साथ कम थिएन। यतिमात्र कहाँ हो र नवीन नेपालीलाई नवीन अभिलाषीको परिचय दिने ठाउँ पनि थियो, दाङ।
यति हुँदा–हुँदै नवीनको दाङ छुट्यो, २०७७ सालमा। सायद पश्चिमी वायुले छोयो कि, उनलाई समयले कोहलपुर पुर्यायो। कोहलपुरमा नयाँ कर्म छैन। दाङ हुँदा गरेकै कर्म हो, उही समाज सुसूचित गर्ने।
कोहलपुरमा पुगेपछि माध्यम भने फेरिएको छ। रेडियो, पत्रिका–अनलाइन हुँदै कोहलपुरले नवीनलाई टेलिभिजनकर्मीका रुपमा परिचय दिएको छ।
उनी सञ्चार जगतका हस्ती भन्ने जगजायरै छ। तर, उनको परिचय सञ्चारकर्मीमा सीमित छैन। कोहलपुरको भूमि टेकेपछि परिचय फराकिलो बनेको छ।
कोहलपुरले उनको कवि, कथाकारको परिचयलाई थप उचाइ दिएको छ। २०७९ साल जेठमा उनले ‘मौलामा बाँधिएको राँगो’ प्रकाशित गरे। जुन उनको प्रकाशित कविता संग्रहमध्ये सबैभन्दा चर्चित संग्रह हो।
‘मौलामा बाँधिएको कविता संग्रहले मलाई थप कविका रुपमा स्थापित गरायो,’ उनी भन्छन्।
कवि त उनी दाङको माटोमा हुँदा नै थिए। ‘मौलामा बाँधिएको राँगो’ प्रकाशन गर्नुअघि उनका ईश्वरको अस्थिर पञ्जर (२०७३) र एकात्म (२०७५) कविता संग्रह प्रकाशित छन्।
नवीनका यी प्रकाशित कविता संग्रह हुन्। अप्रकाशित कविता उनले सयौँ पेजमा लेखेका छन्। ती कति सुरक्षित छन् कति त्यसै मसी उडेर गएजस्तै हराइसकेका छन्।
‘कथा, कविता, मुक्तक त कति लेखियो–लेखियो। ती धेरै च्यातिएका कपिसँगै हराइसके,’ उनले भने।
तर, हाम्रा कवितामाथि अग्रजबाट धावा बोल्ने काम हुन्थे। यस्तो पनि कविता हुन्छ भन्दै पद्य कवितालाई मात्र कविता भन्ने यो हो भन्ने गर्थे। त्यसरी लत्कार्ने काम थुप्रै अग्रजबाट भए।
कविको परिचय उनको यसै बनेको होइन। नवीनले कवितामार्फत् यसरी समाजलाई छेडेका छन् कि जसले उनलाई बिद्रोही कविको उपमासमेत दिएको छ।
उनलाई चिन्नेहरु उम्दा कवि भन्छन्।
संसद् एक कुरुक्षेत्र हो
तनक्क तन्केको वाणका आवाजहरू सुनिन्छन्।
भेटिन्छन् संसद्मै
टोलटोलमा कटारी देखाउनेहरू
सीमानामा अफिम र आफ्नै चेली बेच्नेहरू
मध्यरातमा खोला उधिन्नेहरू
उनको यो ‘मौलामा बाँधिएको राँगो’ कविता संग्रहमा समावेश कविता हो। कवितामार्फत् सत्ता, शक्ति र समाजलाई उनले छेडिरहेका छन्। जसले परिवर्तनको आवाजलाई उधनेका छन्।
नवीन विद्रोह
नवीनको कवि चेत कहिले आयो? उनको सम्झनामा तिथि–मिति आउँदैन। यति भने उनी भन्छन्, ‘जब साहित्य चेत आयो गजल, मुक्तक, निबन्ध, कथा लेखें अनि कवि चेत आयो कि!’
साहित्य चेत कहिले आयो? ‘त्यस्तै म ३ कक्षा पढ्दा नै साहित्य चेत आयो होला,’ उनले सम्झिए। नवीन तीन कक्षा पढ्दा गीत लेख्न थालिसकेका थिए। प्रतियोगितामा प्रतिस्पर्धी बन्ने भइसकेका थिए। उनी भन्छन्, ‘६–७ पढ्दा त घोराहीमा चर्चित भइसकेको थिएँ।’
नवीन ६–७ कक्षा पढ्दा जिल्ला, अञ्चलस्तरी निबन्ध, गजल लेखेनमा भाग लिन थालिसकेका थिए। वि.सं. २०६४ मा एलएलसी दिएका उनी २०६७ साल साउन २६ मा सञ्चार जगतमा प्रवेश गरे।
त्यसपछि पत्रकारितासँगै साहित्यमा बढी सरिक भएको उनी बताउँछन्। उनले गजल, मुक्तक, कविता लेखे। जिल्ला, अञ्चलस्तरीय प्रतियोगिताको उनी टप प्रतिस्पर्धीका रूपमा परिचय बनाए। थुप्रै प्रतियोगितामा प्रथम, द्वितीय मेडलहरु हात पारेका छन्, नवीन।
जब साहित्य विधामा कविता सशक्त विधा भन्ने उनलाई लाग्यो त्यसपछि बढी कविता लेख्न थालेको उनले बताए। अनि जिल्लाका थुप्रै साहित्यिक कार्यक्रममा सहभागी भए।
साहित्यका अग्रजलाई कविता सुनाए। तर, उनले अग्रजबाट मूल्यांकन भएको कहिल्यै महसुस गरेनन्। आफ्नो अवमूल्यन भएको उनको मस्तिस्कमा अहिले पनि ताजै छ।
‘मैले गद्य कविता लेख्ने। गद्य कविता लेख्ने माहोल बढिरहेको थियो। सुन्नेहरु बढिरहेका थिए,’ उनले डेढ दशकअघिको दिन सम्झिए, ‘गद्य कविताको माहोल भयङ्कर थियो। तर, हाम्रा कवितामाथि अग्रजबाट धावा बोल्ने काम हुन्थे। यस्तो पनि कविता हुन्छ भन्दै पद्य कवितालाई मात्र कविता भन्ने यो हो भन्ने गर्थे। त्यसरी लत्कार्ने काम थुप्रै अग्रजबाट भए।’
त्यसपछि हो, साहित्यमा नवीनले ‘नवीन’ बिद्रोह गरेको। अग्रजलाई चुनौती दिँदै जिल्लामा छुट्टै साहित्यिक कार्यक्रम गर्न थालेको। ‘नयाँको भावनालाई लत्कारेपछि प्युठानका घनश्याम अस्तित्व, म र रोल्पाका विष्णु सन्यास मिलेर हामीलाई अग्रजबाट पत्याइएन भन्ने भयो,’ उनले भने, ‘त्यसपछि हामीलाई लाग्यो हामी बाँच्ने हो भने भविष्यमा बाँच्ने हो। भविष्यका मार्गका लागि अहिले एउटा रणनीति तय गर्नुपर्छ भन्दै छुट्टै कार्यक्रम गर्न थालेको।’
अग्रजबाट साथ नपाएपछि नवीहरुले कलेज कविता अभियान सुरु गरे। कलेजमा जाने नेपाली पढ्ने विद्यार्थीलाई कविता सुनाउने काम उनीहरुले गरे। दाङसँगै साविकका राप्ती अन्चलका प्युठान, रोल्पासम्म पुगेर उनीहरुले अग्रजले कविता नमानेको कविता सुनाए।
युवामाझ कविता यस्तो पनि हुन्छ भन्ने सिकाए। जसले आफूलाई कविको दर्जा दिएको उनी बताउँछन्। ‘त्यसपछि हामीलाई यिनीहरुले पनि लेख्छन् है। अब स्थान दिनुपर्छ भन्ने अग्रजलाई पनि भयो,’ उनले भने।
त्यही बिद्रोहस्वरुप दाङमा साहित्यिक कार्यक्रम गर्ने उद्देश्यले ‘उदाहरण समूह नेपाल’ बन्यो। जसमा ५० बढी नयाँ युवाहरु जोडिए, ०७२ तिर। भूकम्पपछि त्यही उदाहरण समूह बन्यो। उक्त समूहले दाङमा नयाँ तरिकाले साहित्यिक कार्यक्रम गरेको र समर्थन पाउँदै गएको उनको भनाइ छ।
डेढ दशक अघिको त्यो नवीन बिद्रोह आज आएर सार्थक बनेकोमा नवीन खुसी व्यक्त गर्छन्। ‘आज गद्य कविता लेख्ने बढेका छन्। पढ्ने बढेका छन्। हिजो यस्तो पनि कविता हुन्छ र! भन्नेहरु यो पनि कविता हो है भन्न थालेका छन्। हाम्रो त्यो बिद्रोह सार्थक बनेकोमा खुसी लाग्छ,’ उनी भन्छन्।
कम्ता दुःखमा हुर्किएनन् ‘नवीन’
नवीनको जन्म प्युठानको एरावती गाउँपालिका– ६ बिजुलीकोटको चिउरापानीमा २०४७ सालमा भयो। १० वर्षको हुँदा माओवादी द्वान्द्वले गर्दा उनको परिवार दाङको घोराही– ३ लक्ष्मीपुरमा आयो।
बुबा प्रहरी थिए। द्वान्द्वकालमा माओवादीले उनको परिवारलाई दुःख दिन थाल्यो। माओवादीबाट बच्न उनीहरु घोराही झरे, बबई नदीको छेउमा। जब घोराही झरे, त्यसपछि दुःखका अनेकन भङ्गलाहरु पार गर्नु परेको नवीन सुनाउँछन्।
२०५६ साल फागनु ६ गते बुबालाई माओवादीले गोली हान्यो। रोल्पाको नुवागाउँ चौकीबाट बन्दीलाई सार्ने क्रममा उनका बुबा गाइते भए। हातमा गोली लाग्यो। त्यही चोटले उनका बुबाले २०७० सालमा संसार छाडे।
‘हामीलाई प्युठानमा माओवादीले बस्न नदिएपछि एउटा डोकामा भाँडाकुडा बोकेर २०५७ सालमा रातारात भागेर दाङ आएका हौँ। त्यसपछि हाम्रा दुःखका दिन सुरु भएका हुन्,’ नवीन भन्छन्।
पत्रकारितासँगै साहित्यलाई उचाइ दिइरहेको नवीन अहिले कथा लेखनमा लागेका छन्। केही समयमा पश्चिम नेपालका विषयमा लेख्न छुटाइएका विषय समेटेर कथा ल्याउन तयारीमा उनी छन्।
एक दिदी, एक बहिनीसहित तीन जना छोराछोरीलाई हुर्काउन नवीनकी आमाले नगरेका सायदै काम छन्। १२ वर्षको हुँदा २ विघासम्म जमिन जोतेको नवीनलाई अहिले पनि ताजै लाग्छ। ‘बुबा घाइते भएपछि सरकारले पनि हेरेन। त्यसपछि निकै दुःख सहनुपर्यो। आमाले घाँस बेच्नुभयो, गिट्टी कुट्नुभयो। मैले मैले १२ वर्षको हुँदा २ विघासम्म खेत जोतेँ,’ उनले ती दिन सम्झिए।
यति गर्दा पनि नवीन पढाइमा कहिल्यै दोस्रो हुनु परेन। एसएलसी प्रथम श्रेणीमा पास गरे। यसअघि स्कुल प्रथमसमेत भएका नवीनले जागिरे जीवन सुरु भएसँगै पढाइलाई १२ कक्षामा रोकेका छन्।
पढ्न नपाएको ‘बोर्डिङ स्कुल’
उम्मेरले एक दशक पुग्दासम्म नवीन अभिलाषीलाई लाग्थ्यो– बोर्डिङ स्कुल (निजी विद्यालय) र सरकारी स्कुलमा पढ्ने मान्छे नै फरक–फरक हुन्। हल्का गोरो अनुहार। चुच्चे नाक। सिधा कपाल भएका मान्छे मात्र बोर्डिङमा पढ्न पाउँछन्।
अर्थात् पाँच कक्षा पढ्दासम्म उनको बाल मस्तिष्कले भन्थ्यो– बाहुन, क्षेत्री भन्ने छुट्टै मान्छे हुन्। उनीहरुले बोर्डिङमा पढ्न पाउँछन्। कामी, दमाई, सार्की भन्ने छुट्टै मान्छे हुन्। उनीहरुले सरकारी स्कुलमा मात्र पढ्न पाउँछन्।
तर, बुझ्दै जाँदा उनले पाए– जोसँग पैसा छ, ऊ बोर्डिङ पढ्ने रहेछ। जोसँग पैसा छैन, ऊ सरकारीमै पढ्ने रहेछ। यो त विभेदले गर्दा, हिजोको सत्ताको थिचोमिचोले गर्दा भएको रहेछ। मान्छे–मान्छेबीचको विभेद पनि यहाँको व्यवस्थाले गर्दा पो भएको रहेछ।
उनले यो संसारमा सबैको उत्तिकै महत्व, अधिकार र अस्तित्व रहेछ भन्ने १०–१२ वर्ष हुँदा थाहा पाए। दाङ झरेपछि दलितमाथि विभेद भएको उनले महसुस गरे।
विभेद त उनले बिजुलीकोट हुँदा पनि थियो। माओवादीकालमा घरम बस्न नपाएर अरुका घरमा बस्दा उनीहरु आँगनमा सुत्थे। भित्र सुत्ने दिँइदैन्थ्याे।
यो उनले विभेदका रुपमा बुझेका थिएनन्। बालमस्तिकले विभेद बुझेको थिएन। जन्मथलो प्युठानको बिजुलीकोट छाडेर दाङ झरे, हुर्किँदै गए, अनि थाहा पाए दलितमाथि विभेद भएको रहेछ।
त्यसपछि उनी बिद्रोही भए। बिद्रोहका मुक्तक लेखे, कविता लेखे, कथा लेखे। सायद उनलाई बिद्रोही कवि भन्नुमा यसले काम गर्यो कि!
जब आमाले सिकेको सीप फरक रहेछ भन्ने थाहा भयो...
नवीन दाङ झरेपछि घरदेखि तीन किलोमिटर टाढा निमावी झिंङ्नी बन्जारीमा पढ्न थाले। तीन कक्षामा पढ्दा एकदिन कक्षा शिक्षकले गीत लेखेर ल्याउन भने। नवीनलाई लाग्यो, आमाले गीत गाउनुहुन्छ। उहाँले मलाई सिकाउनुहुन्छ।
घर पुगेर भने– आमा मलाई गीत सिकाइदिनुस्। तर जब आमाको कुरा सुनिन् उनले त्यो कहिल्यै कल्पना गरेका थिएनन्। सबैथोक आमा हुन् बुझेका उनलाई आमाले भनिदिइन्, ‘मैले गाउने गीत र तैले गाउने गीत फरक हुन्छन्।’
त्यसपछि नवीनलाई लाग्यो, आमाले सिकेको सीप फरक रहेछ। मेरो जीवनमा काम लाग्ने पो रहेनछ। आमाको कुराले त्यस रात सुत्न नसकेको उनले बताए।
‘आमाले तैँले गाउने गीत फरक हो भनेपछि कसरी लेख्ने, के लेख्ने भन्ने पिर भयो। भोलि फस्ट भइदैन कि भनेर रातभर रोए नि,’ उनले सम्झिए। तर, जसाेतसाे उनले एउटा गीत लेखे। भोलिपल्ट स्कुलमा सुनाए। प्रथम भएरै छाडे।
गीत गाएपछि उनी शिक्षकहरुको नजरमा परेको बताए। उनी यसै पनि प्रथम हुने विद्यार्थी थिए। ‘मैले लेख्न थालेको त्यहीँबाट हो। त्यसपछि गीत लेखेँ, गविता लेखेँ। स्कुलका सबै कार्यक्रममा सहभागी हुन थालेँ,’ उनले भने।
अनि कविबाट कथाकार भए ‘नवीन’
नवीनको साहित्यचेत त ९–१० पढ्दा नै आएको हो। यस समयमा उनी घोराहीमा चर्चित भइसकेका थिए। रेडियोमा नवीनका रचना बज्न थालेको थियो। पत्रिकामा छापिन थालेको थियो।
एसएलसी पास गरेपछि उनी काम खोज्न रेडियोमा धाए। तर, काम मिलेन। एक रेडियोले पार्टी सदस्य दिएपछि मात्र रेडियोमा काम दिने भनेको थियो। ‘तर, मैले लिएनँ,’ उनी भन्छन्।
रेडियोमा काम नपाए पनि उनी बालुवासँग खेले। ट्याक्टरमा ढुंगा लोड गर्ने काम गरे। सँगै गीत लेखे। डान्स सिकाए। कथा, कविता, मुक्तक लेखे।
२०६७ साल साउनदेखि रेडियो मध्यपश्चिममा आबद्ध भए, १३ वर्ष हुँदा। त्यही हो, उनको पत्रकारिताको प्रस्थानबिन्दु। २०७३ बाट गणतन्त्र दैनिकमा कार्यकारी सम्पादक भएर काम थालेको उनी बताउँछन्।
उनी रेडियोको गुरु जेएन सागर र पत्रिकाको गुरुको रुपमा टीका बस्नेतलाई सम्झन्छन्। ‘उहाँहरु हुनुहुँदैनथ्यो भने म पत्रकारिता हुँदैनथे। भए पनि सायद यस्तो हुँदैन्थेँ कि,’ उनले भने।
०७७ पछि नेपाल टेलिभिजनको क्षेत्रीय कोहलपुर प्रशारण शाखामा आबद्ध भएर नवीन कर्मरत छन्।
कोहलपुरमा बसेर पत्रकारिता गरिरहेका नवीन अहिले कविका रुपमा मात्र होइन। कथाकारका रुपमा पनि आफ्नो परिचयलाई उचाइ दिइरहेका छन्।
२०७९ सालमा भएको बाह्रखरी कथा प्रतियोगितामा उनको कथा प्रथम भएको थियो। ‘मलाई कविता लेख्छ भन्ने थाहा थियो। मौलामा बाँधिएको राँगो बजारमा आएपछि मलाई कविको रुपमा परिचित बनायो,’ उनी भन्छन्, ‘कविताले कथा लेखन आझेलमा थियो। बाह्रखरी कथा प्रतियोगितापछि कथाकारको परिचय पनि बनेको छ।’
पत्रकारितासँगै साहित्यलाई उचाइ दिइरहेको नवीन अहिले कथा लेखनमा लागेका छन्। केही समयमा पश्चिम नेपालका विषयमा लेख्न छुटाइएका विषय समेटेर कथा ल्याउन तयारीमा उनी छन्।
कविता र कथाका हिरो नवीन अभिलाषिलाई हार्दिक शुभकामना