अयोध्यामा ‘प्राण-प्रतिष्ठा’को भव्यता: ‘राममय’ भारत-नेपाल 

Breaknlinks
Breaknlinks

लाखौँ हिन्दु समुदायको आस्था जोडिएको अयोध्यामा आज भव्य राम मन्दिरको प्राण-प्रतिष्ठा हुँदैछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राम मन्दिरमा ‘भगवान’को मूर्तिमा प्राण-प्रतिष्ठा गर्नेछन्।

यो प्राण-प्रतिष्ठा गर्ने प्रमुख ‘कर्ता’ प्रधानमन्त्री मोदीले त्यसका लागि केही दिनदेखि निकै कठिन ‘अनुष्ठान’को प्रण गरेका थिए। यसअघि उनले भारतका धार्मिक स्थलहरूमा पुगेर पूजाआजा गरिरहेका छन्।

उनले ११ दिनदेखि अन्न खाएका छैनन्। नरिवलको पानी र फलफूलमात्रै खाएका छन्। प्राण-प्रतिष्ठाका अघिल्ला तीन रात मोदीले आफ्नो विलासी बिछ्यौना छोडेर च्यादर ओढेर भुइँमै बिताएका छन्।

लामो ऐतिहासिक र पौराणिक ‘कथा’ बोकेको यो राम मन्दिरमा हुने प्राण-प्रतिष्ठाले अहिले पूरै भारत ‘राममय’ भएको छ।

नेपालमा पनि त्यसको चासो र चर्चा बढेको छ। हिन्दु धर्ममा आस्था राख्ने धेरै नेपाली त्यो समारोहमा सहभागी हुन अयोध्या पुगिसकेका छन्।

नेपालका कतिपय ठाउँमा धार्मिक कार्यक्रमहरू भएका छन्। सोमबार हुने राम मन्दिरको प्राण-प्रतिष्ठाको अवसरमा यहाँका कतिपय स्थानीय पालिकाहरूले आफ्नो क्षेत्रमा सार्वजनिक बिदा पनि दिएका छन्।

भगवान रामको ‘ससुराली’ जनकपुरबाट यसअघि नै कोसेली लिएर सयौँ स्थानीय अयोध्या पुगेका थिए। अयोध्याका राम र जनकपुरकी सीताको विवाहको दिनलाई स्मरण गर्दै परापूर्वकालदेखि नै जनकपुरमा हरेक वर्ष ‘विवाह पञ्चमी’ मनाइन्छ।

भारतमा यो प्राण-प्रतिष्ठालाई एउटा उत्सवका रुपमा मनाइएको छ। राजनीति, सञ्चारमाध्यमदेखि हरेक क्षेत्र अहिले ‘राम’ अनि अयोध्यामय भएका छन्।

प्रधानमन्त्री मोदी आफैँले यो क्षणलाई आफ्नो जीवनकै ‘शौभाग्यशाली’ र ‘अभूदपूर्ण’ अवसर भनेका छन्।

यो प्राण-प्रतिष्ठाका लागि देशविदेशका हजारौँ मानिसलाई निम्त्याइएको छ।

के हो प्राण-प्रतिष्ठा?

प्राण-प्रतिष्ठा भनेको हिन्दु तथा जैन धर्ममा गरिने एउटा विशिष्ट खालको ‘अनुष्ठान’ हो। अनुष्ठान गर्दै मन्त्र तथा भजन-कीर्तनका साथ मन्दिरमा ‘भगवान’को मूर्ति स्थापना नै प्राण-प्रतिष्ठा हो।

प्राणको अर्थ जीवन हो। अनि प्रतिष्ठा भनेको स्थापना। दुई शब्द जोडिएर बनेको ‘प्राण-प्रतिष्ठा’को शाब्दिक अर्थ जीवन शक्तिको स्थापना हो अर्थात् देवतालाई जीवनमा ल्याउनु हो।

प्राण-प्रतिष्ठान हिन्दु धर्मभित्रको एउटा महत्वपूर्ण अनुष्ठान(रीत) हो। प्राण-प्रतिष्ठाभन्दा अघि कुनै पनि मूर्ति पूजा योग्य हुँदैन। अर्थात् त्यसमा जीवन हुँदैन। प्राण-प्रतिष्ठा नगरिएको मूर्तिलाई ‘निर्जीव’ मानिन्छ। प्राण-प्रतिष्ठापछिमात्रै त्यो मूर्तिमा जीवनशक्ति भरिएको मानिन्छ र बल्ल त्यसलाई देवता मानिन्छ।

मन्दिरको मुख्य द्वारमा मूर्ति ल्याएर त्यसलाई विशिष्ट स्वागत र सत्कार गरिन्छ। अनि त्यसमाथि सुगन्धित लेपहरू लगाएर दूधले नुहाइन्छ। अनि बल्ल त्यसलाई गर्भगृहमा राखेर पूजाको प्रक्रिया सुरु गरिन्छ। पूजाको समाप्तीसँगै मूर्तिको प्राण-प्रतिष्ठा सकिन्छ।

अयोध्यामा राम मन्दिर पुगेपछि प्रधानमन्त्रीले विधिपूर्वक स्नान गर्नेछन्। अनि उत्तर द्वारमा जानेछन् र त्यसपछि पूर्व द्वारबाट प्रवेश गर्नेछन्। जहाँ मन्दिरको मुख्य द्वार छ। मन्दिरमा प्रवेशपछि उनले सबैभन्दा पहिला सन्यासीहरूलाई भेट्नेछन्।

मन्दिरमा प्रवेशपछि विभिन्न मन्त्रसहित १० पटक अलग-अलग स्नान गर्नुपर्छ। त्यसपछि १० पटक जल छर्किनुपर्छ। त्यसपछि प्रधानमन्त्री मोदीले १० फरक फरक दान दिनेछन्। 
त्यसपछि उनी मन्दिरको गर्भगृहमा प्रवेश गर्नेछन्। प्राण-प्रतिष्ठाको प्रक्रिया करिब १२:२० बजे सुरु हुनेछ भने कम्तीमा ५० मिनेटजति त्यो पूजा चल्नेछ।

अयोध्या र राम मन्दिरको इतिहास

अयोध्याको राम मन्दिरको इतिहास पछ्याउँदै जाँदा लगभग साढे पाँच सय वर्षअघिको ऐतिहासिक पानाहरूमा पुग्नुपर्छ। यी पनि त्यति प्रस्ट छैनन्।

तर मुगल शासकहरूबारे लेखिएका कतिपय दस्तावेजहरूले त्यहाँ ‘मन्दिर-मस्जिद’को विवाद र त्यसले निम्त्याएको रक्तपातहरू पनि बिम्बित गरेका छन्।

लिखित र अलिखित इतिहास अनि इतिहासकारहरूका अनुसार सन् १५२८ तिर अयोध्यामा हिन्दु समुदायहरूले भगवान रामको जन्म भएको भनिरहेको स्थानमा मस्जिद बनाइएको थियो।

त्योबेला भारतमा मुगल शासन थियो। त्यसको लगभग ३२० वर्षपछि त्यहाँ धार्मिक विवादहरू उत्पन्न हुन थालेका थिए। मुगल शासक बाबरको आदेशमा त्यहाँको राम मन्दिर भत्काएर ‘बाबरी मस्जिद’ बनाइएको कथन र ऐतिहासिक दस्तावेजहरूले केही हदसम्म प्रस्ट पारेका छन्।

सन् १८५३ तिर त्यहाँ धेरै धार्मिक हिंसाहरू भएको र कैयौँ मानिस मारिएका घटनाहरू इतिहासकारहरूले उल्लेख गरेका छन्।

ब्रिटिस साम्राज्य विस्तार हुँदै गर्दा १९औँ शताब्दीको मध्यतिरमात्रै मुगल शासनको अन्त्य भएको थियो। तर त्यसअघि ब्रिटिस शासकहरूले नै सन् १८५९ तिर त्यो क्षेत्रलाई तारबार गरेका थिए। त्योबेला भित्रतिर मुस्लिमहरूले ‘प्रार्थना’ गर्थे र बाहिरतिर हिन्दुहरूलाई पूजा गर्ने अनुमति दिइएको थियो।

१९औँ शताब्दीको आधातिर आइपुग्दा बाबरी मस्जिदभरि भगवान रामका केही मूर्ति र तिनका अवशेषहरू फेला परेको इतिहास छ। मुस्लिम समुदायले त्यहाँ रामका कुनै अवशेषहरू नभएको तर हिन्दु समुदायले जानजान त्यहाँ लगेर ती अवशेषहरू राखेको आरोप लगाएका थिए।

यो विवाद चर्किँदै गर्दा सन् १९४९ तिर दुवै समुदायले स्थानीय अदालतमा मुद्दा हालेका थिए। विवाद सुल्झिन नसकेपछि त्यसबेला सरकारले नै त्यो पूरै क्षेत्र घेरिएको मुख्य द्वार बन्द गरिदिएको थियो।

त्यसको करिब ४ दशकपछि हिन्दु समुदायले रामभूमिलाई ‘मुक्ति’ गर्न भन्दै एउटा स्वतन्त्र समिति बनाएका थिए। विश्व हिन्दु परिषदको पहलमा बनेको त्यो समितिको नेतृत्व भारतीय जनता पार्टीका तत्कालीन नेता लालकृष्ण आडवाणीले गरेका थिए।

ढोका लगाएको पाँच दशकपछि सन् १९८६ तिर जिल्ला अदालतले विवादित मस्जिदको ढोका खोलेर हिन्दु समुदायलाई पूजा गर्ने अनुमति दिएसँग फेरि धार्मिक दंगाहरू फैलिन थाले। संघर्षका लागि मुस्लिम समुदायले पनि समूहहरू बनाएको थियो।

कट्टर हिन्दुवादी समूहले मस्जिदसँगैको जमिनमा ‘राम मन्दिर’ बनाउने भन्दै त्यसको जग खन्नसमेत सुरु गरिसकेको थियो। त्योबेला पनि हिंसा भड्कियो।

१९औँ शताब्दीको अन्त्यतिर अर्थात् ९०को दशकको सुरुवातमा भारतका धेरै ठाउँमा धार्मिक दंगाहरू फैलिए, त्यसमा कम्तीमा पनि २ हजारभन्दा धेरै मानिस मारिएका थिए।

खासगरी सन् १९९२ मा हिन्दु समुदायका एउटा ठुलो समूहले त्यहाँ रहेको मस्जिदहरू ‘ध्वस्त’ पारेको बनाइदिएको थियो। त्यसको करिब ६ वर्षपछि भारतीय जनता पार्टीले अलट बिहारी वाजपेयीको नेतृत्वमा गठबन्धन सरकार बनाएपछि राजनीतिसँगै भारतमा धार्मिक दंगा र हिंसाले पनि झन उग्र रुपमा लियो।

हिन्दु समुदायले जसरी पनि मन्दिर बनाएरै छोड्ने भनेर अभियान चलाउन थालेपछि त्यहाँ दुवै समुदायका मानिस ठूलो संख्यामा जम्ममा भएका थिए।

सन् २००२ को फेब्रुअरीमा अयोध्याबाट फर्किरहेका हिन्दु समुदायका मानिस चढेको रेलमा मुस्लिम समुदायले आगो लगाइदिएका थिए। त्योबेला कम्तीमा ५८ जना मानिस मारिएका थिए।

त्यो रेल काण्डपछि भारतभरि धार्मिक दंगा थामिनसक्नुभएको थियो। हजारौँ मानिस मारिएको यो दंगा नियन्त्रणका लागि अनेकन राजनीतिक र धार्मिक प्रयासहरू भए पनि विवाद साम्य भएको थिएन।

सन् २००२ को अप्रिलतिर भारतीय उच्च अदालतका तीन जना न्यायाधीशले त्यसको स्वामित्वका बारेमा फैसला सुनाउन फेरि सुनुवाइ गर्ने घोषणा गरेका थिए। त्यसपछि विवाद अलि साम्य भयो। र, दुवै समुदाय अदालती फैसलाको पर्खाइमा रहे।

करिब १७ वर्षपछि २०१९ को नोभेम्बरमा भारतको सर्वोच्च अदालतले विवादित त्यो भूमिमा राम मन्दिर बनाउने बाटो खुला गरिदियो। र, २०२० को अगस्ट ५ मा तोकिएकै स्थानमा भगवान रामको ‘भव्य’ मन्दिर बनाउनका लागि ‘आधारशीला’ राखियो। यसको मुख्य ‘कर्ता’ पनि प्रधानमन्त्री नरेन्द्र मोदी नै थिए, जसले आफ्नो दोस्रो कार्यकालको अझ भव्य सुरुवात गर्दै थिए।

प्रकाशित मिति: : 2024-01-22 07:05:00

प्रतिकृया दिनुहोस्