युगाण्डाबाट प्रचण्डले भने– हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको हितमा छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु सबैको साझा हितमा रहेको बताएका छन्। युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए। 

‘हिमालयको देशबाट आएको हुनाले यो महत्त्वपूर्ण सम्मेलनमा हिमालको विषयमा केही भन्नैपर्छ, हिमाल विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर हो । यसले सबै जीवित प्राणीलाई विश्वव्यापी सेवा प्रदान गर्दछ । तर उनीले ठूलो पीडा भोगिरहेका छन्’, प्रधानमन्त्री दाहालले भने। 

उनले हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको बताए। प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको विनाशकारी प्रभावका कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीका स्वरुप र यसले कैयनको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडालाई नजिकबाट महसुस गरिएको बताए। 

साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गर्न आह्वान गर्दै प्रधानमन्त्री दाहालले कसैलाई पनि पछि नछोडी न्यायपूर्ण, समतामूलक, शान्तिपूर्ण, दिगो र समृद्ध विश्व निर्माण गर्न ‘नाम’लाई बलियो बनाऔँ भने। 

प्रकाशित मिति: : 2024-01-19 18:27:00

प्रतिकृया दिनुहोस्