अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरुले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताएका छन्।

चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी–व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए।

अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेका बताउँदै उनले व्यवसाय गर्नेहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए।

‘उद्योगी व्यवसायी नै नकारनात्मक सोचका साथ हिँडेपछि कसरी अर्थतन्त्रमा सुधार हुन्छ’, उनले प्रश्न गरे। नियोजित किसिमले झुट्टा प्रचार हुँदा समाजमा नकारात्मक प्रभाव परेको उनले बताए।

अर्थतन्त्रका समस्या पूर्णरूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको उनको भनाइ थियो। उनले भने ‘अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन। पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ।’ सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उनले बताए।

बैंकहरुको लगानी शेयर बजार र जग्गामा धेरै हुँदा अहिले समस्या देखिएको भए पनि यसलाई खुकुलो गरिएको  बताउँदै उनले भने, ‘सबै लगानी अनुत्पादक क्षेत्रमा भएपछि राष्ट्र बैंकले कठोर मौद्रिक नीति बनायो जसका कारण समस्या आयो। अहिले यसलाई बिस्तारै खुकुलो बनाउँदै लगिएको छ।’

फरक प्रसङ्गमा अर्थमन्त्रीले निर्माण व्यवसायीलाई सरकारले माघअघि नै भुक्तानी दिने र माघपछि सबैको दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। विप्रेषणको भरमा मात्र अर्थतन्त्र चलायमान नभएको बताउँदै उनले त्यसमा राजश्वको पनि योगदान रहेको बताए।

प्रकाशित मिति: : 2024-01-06 16:26:00

प्रतिकृया दिनुहोस्