एमाले भन्छ- गठबन्धनले राष्ट्रियसभामा हामीलाई सिट छुट्याउने भनेर माओवादीले हल्ला चलायो

File Photo
File Photo

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले एमालेलाई केही सिट छुट्याउने विषय हल्ला भएको बताएको छ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीले यस्तो हल्ला फिँजाएको आरोप लगाए।

बुधबार साँझ ५ बजे एमालेसँग गठबन्धन दलहरुको बैठक बस्ने भन्ने विषय पनि हल्ला मात्र भएको उनको भनाइ छ। ‘हामीलाई अहिलेसम्म केही थाहा छैन। यो हल्ला मात्र हो,’ उपमहासचिव ज्ञवालीले भने।

राष्ट्रियसभाका लागि एमालेले कसैसँग सिट पनि नमागेको उनको भनाइ छ। एमालेलाई गठबन्धनले सिट छुट्याएको कुरा बाहिर आएको छ भन्ने विषयमा उनले भने, ‘कहिलेकाहीँ माओवादीका साथीहरुले यस्तै हल्ला फैलाउने गुर्नुहुन्छ। त्यही हल्ला होला।’

माओवादीका महासचिव देव गुरुङले पनि बैठक बस्ने र एमालेलाई सिट छुट्याउने विषय थाहा नभएको बताए।

राष्ट्रियसभामा रिक्त हुने १९ सिटमा एमालेलाई पनि केही सिट दिने विषयमा गठबन्धनभित्र छलफल भइरहेको बताइएको छ।

गठबन्धन भए १९ सिटमा एमालेले एक सिट पनि जित्न नसक्ने अवस्था छ।

प्रकाशित मिति: : 2024-01-03 13:18:00

प्रतिकृया दिनुहोस्