चार लाख तिर्न नसक्दा इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना महिना दिनदेखि अस्पतालमै बस्न बाध्य भएका छन्।
गत वर्ष बिरामी परेपछि उनी चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना भएका थिए।
छ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले बताए। डाक्टरले महिना दिनअघि नै घर लैजान भने पनि पैसा अभावमा घर ल्याउन नसकेको उनकाे भनाइ छ।
दुर्गाप्रसादको उपचारमा सात लाख १५ हजार खर्च भएको थियो। तीन लाख रुपैयाँ बुझाए पनि बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा उनी अस्पतालमै छन्।
अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको जनाउँदै गोपालले अहिले हिसाब कति पुग्यो थाहा नभएको बताए। ‘अस्पतालले बारम्बार फोन गरिरहेको छ,’ उनले भने।
दुर्गाप्रसाद भारतीय जेलमा लामो समय बसेका व्यक्ति पनि हुन्। २०७७ सालमा उनी स्वदेश फर्किएका थिए। दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनीमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको थियाे।
इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो। उनी २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए।
घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका थिए।
विभिन्न सङ्घसंस्थाको पहलमा उनलाई २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो। अहिले उनकी आमाको निधन भइसकेको छ।
इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो। कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो।
उनको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर रहेका दुर्गाप्रसादको जीवन सहज बनाउन ५० हजार रुपैयाँ नगद प्रदान गरेको थियो। उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो।
लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको स्थानीय रोहित आचार्यले बताए।