गोरो वर्ण, अग्लो नाक, गोला आँखा, अनारका दाना जस्ता मिलेका दाँत, त्यहीँबाट निस्कने मिठो मुस्कान, रसिलो बोली, औषत उचाइ उनको चिनारी हो। उनी अर्थात् गोकर्ण कठायत। जो आफ्नो सम्पूर्ण जीवन स्वयंसेवा गरेर समाजसेवामा लगाउन चाहन्छन्।
बुबा विर्ष कठायत जडिबुटी व्यापारी थिए। यार्सागुम्बा, गुच्ची च्याउ, वन लसुन, समयो, भुल्त्या, बोजोलगायतका सरकारले अनुमति दिएका जडिबुटीको व्यापार गर्थे। उनको व्यापार राम्रो चलिरहेको थियो। आम्दानी राम्रो थियो। बजारमा राम्राे नाम चलेका व्यापारीको छोरा हुँदा गोकर्णको पनि मान, प्रतिष्ठा राम्रो थियो।
बुबाको घर कनकासुन्दरी-१ भ्युनाउला हो। तर बसाइँसराइ पातरासी गाउँपालिका-४ मा डोलकाँडीमा भयो। खेतीयोग्य जमिन राम्रो भएका कारण उनी बसाइँ सरेका थिए। त्यसपछि बजारमा व्यापार सुरु भएको हो। गोकर्ण जन्मे-हुर्केको बजारमै हो। उनी गाउँमा कहिले बसेनन् तर पनि उनको गाउँसँगको प्यार बढी छ। गाउँघरमा मान्छेलाई औधि रुचाउँछन्।
गाउँबाट गाउँ हुँदै व्यापारलाई सहारा बनाएर बजार पसेका उनका बुबालाई स्थापित हुन समय लागेन। समय राम्रो चलिरहेको थियो। एकदम चाँडै उनको परिवार मध्यमवर्गीय बन्न पुग्यो। गन्यमान्य व्यापारीको रुपमा परिचय पायो।
त्यसैले नै हो, गोकर्णको बाल्यकाल सुखसयलमा बित्यो। पढाइलेखाइ निजी शिक्षण संस्थामा हुन पायो। अभाव उस्तो थिएन। राम्रो पढ्ने र अनुशासित विद्यार्थीमा उनको नाम अग्रस्थानमा आउँथ्यो। कक्षा ९ र १० जनता मावि महत गाउँमा पढे। सरकारले एसएलसी हटाएर एसईई गरेका साल उनले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका थिए।
त्यसपछि उनी प्लस टु पढ्न भनेर ललितपुर बालकुमारीनेरको कान्जिरोवा नेसनल कलेजमा भर्ना भए। पढाइमा कुनै अवरोध आएन। दुई वर्षमा प्लस टु सकियो। वायोलोजी उनको मुख्य विषय थियो। त्यसभन्दा माथिको पढाइमा भने उनको रुचि भएन।
बुबाको व्यापार, बुबाले कमाएको पैसा र मान देखेर पनि उनलाई व्यापार गर्न मन लागेन। जागिर खाने विषयमा त झन सोच्दै नसोचेको उनले बताए।
तर विदेश जाने सोच थियो। आम नेपाली युवाहरु जस्तो उनी पनि विदेशमै भविष्य खोजिरहेका थिए। अवैधानिक तवरबाट वर्किङ भिसामा क्यानडामा जाने तयारी गरेका थिए। सबै फाइनल भइसकेको थियो। अनलाइन अन्तर्वार्ता दिए। पास पनि भए।
त्यसपछि चार महिना भित्र इन्डिया पुग्नुपर्ने थियोे। ठिक त्यही बेला विश्वभर कोरोना महामारी आयो। कोरोनाले नाकाहरु सिल भए। उनी इन्डिया जान नसकेका कारण क्यानडा जान पाएनन्। त्यसपछि क्यानडा जाने सोच पनि त्यसै मरेर गयो।
यता बुबा व्यापार व्यवसाय गरिरहेकै थिए। कोरोना अघि संकलन गरेको जडिबुटी भारत लैजान ठिक्क पारिएको थियो। त्यहीबेला कोरोनाले नाकाहरु सिल भए। जडिबुटी निकासी हुन पाएन। बुबाको समय सधैँ एकैनासको हुन सकेन। बुबाको व्यापारलाई कोरोनाले ठूलो नोक्सान गरिदियो। त्यसबेला व्यापार गर्नलाई ठिक्क पारेको करोड बढीको ह्याड्या(सेतो चिनी) बिक्री हुन पाएन। त्यसै कुहिएर खेर गयो।
त्यसबाट करोड बढीको नोक्सान भयाे। लाखको कारोबारबाट सन्तुष्टि लिइरहेका उनका बुबालाई एकमुष्ट करोड नोक्सान हुँदा उभो लाग्ने मेसो मिलेन। त्यसपछि सिंगो परिवार अप्ठ्यारोमा पर्यो। सुखसयलको जिन्दगी एकाएक अभावको खाडलमा धकेलियो।
'कोरोनाले बुबाको व्यापार डुबायो। जसबाट मेरो परिवारले अभावको जिन्दगी जिउनुपर्ने अवस्था आइलाग्यो। मेरो भविष्य कर्णाली नदीसँग बगेर इन्डिया गयो। तर म भने जान पाइनँ,' उनले भने, 'हाम्रो परिवारले सोचेजस्तो भएन। व्यापार र विदेशको चक्करमा असन्तुष्टि बढी मिल्यो। त्यसैले अब मैले सोचेजस्तो गर्छु भनेर स्वयंसेवा रोजेको हुँ।'
अभावको खाडलबाट उम्किन नसके पनि गोकर्णले स्वयंसेवाको गोरेटो छोड्न मानेनन्। बरु त्यसैमा सन्तुष्टि लिन सिके। अहिले जिल्लाका कोही मान्छेहरु समस्यामा परेको खण्डमा सबैभन्दा पहिला उनी नै सक्रिय हुन्छन्। विदेश वा स्वदेशमा समस्यामा परेका हरकोहीको मद्दत गर्नु उनी आफ्नाे दायित्व सम्झिन्छन्।
'कोही विदेशमा अलपत्र परेकाे खबर आउने बित्तिकै म उहाँहरुको सम्पर्कमा जाने कोसिस गर्छु। उहाँहरु विदेश जाँदा ठिक पारेका कागजात माग्छु,' उनले भने, 'त्यसपछि उहाँहरुलाई पठाउने म्यानपावर कम्पनी र दुतावासम्म पुग्छु। श्रम स्वीकृति र श्रम विभागकका कागजी प्रक्रिया पूरा गरेपछि हाम्रो काम सकिन्छ। अलपत्र परेका नागरिक स्वदेशमा आउन पाउँछन्।'
यति गर्दा उनी कहिले चर्चा खोज्दैनन्। मैले यो गरेँ, त्याे गरेँ भनेर भन्दै पनि हिँड्दैनन्। यति गर्दा उनलाई केही इनाम पनि मिल्दैन। तर मन शान्त हुन्छ। गर्वानुभूति हुन्छ। मनमनै हर्षित हुन मन लाग्छ। त्यसैमा जीवनको गहिरो अर्थ भेट्छन्। असिम आनन्दानुभूति गर्छन्।
उनी संसदीय चुनावमा ज्ञानेन्द्र शाहीको पक्षमा खुलेर लागे। त्यही कारण उनी ज्ञानेन्द्र शाहीको सचिवालयका जिम्मेवार सदस्य छन्। सुरुदेखि नै उनको चुनावी अभियानमा सक्रिय गोकर्णले जुम्लाका सबै गाउँ पुग्ने अवसर पाए। त्यहाँका पीर मर्का र त्यहाँका बालबालिकाको अवस्था राम्ररी बुझेका उनले तिनको सेवा कसरी गर्न सकिन्छ भनेर सोचिरहेका थिए।
रास्वपाबाट निर्वाचित सांसद विनिता कठायतले हिमानी ट्रष्ट छोड्नुपर्ने अवस्था आयो। उनी जुम्ला जिल्लाको संयोजक थिइन्। उनले आफ्नो पदमा गोकर्णलाई सिफारिस गरिन्। गोकर्णले त्यसलाई सेवा गर्न सकिने माध्यमको रुपमा अपनाए।
ट्रष्टको माथिल्लो तहसम्म सम्बन्ध स्थापित गर्न लागेका उनले जुम्लाको दुर्गम भेगका बालबालिकाको अवस्था सुझाए। ट्रष्टले अत्यधिक चिसो हुने ठाउँका बालबालिकालाई न्यानो कपडा दिन वचन गर्यो। साथमा स्टेसनरी र स्कुले झोलासमेत दिएपछि गोकर्णलाई विकट भूगोल र सत्ताको नजरबाट दुर्गम देखिने क्षेत्रमा कठिन जीवनयापन गरिरेहका बालबालिकालाई सेवा गर्न सकिएको ठाने।
'त्यसपछि म पटकपटक गाउँ गएँ। गाउँ जाँदा न्यानो कपडा लगाएर निस्फिक्री खेलिरहेका बच्चाहरु देख्दा मन प्रफुल्लित हुन्छ,' उनले भने, 'हिमानी ट्रष्टबाट विशुद्ध समाज सेवा भइरहेको छ। आगामी दिनमा यसलाई निरन्तरता दिनु मेरो दायित्व हुनेछ।'
उनलाई थाहा छ, यो बाटाेमा पैसा छैन। हुनेसँग मागेर नहुनेलाई दिनुपर्नेछ। संसारभर आफ्नो आम्दानीको केही हिस्सा समाजसेवामा लगाएर मन शान्त बनाउनेहरु धेरै छन्। उनीहरुसँग सम्पर्क स्थापित गरेर आफ्नो मन शान्त र आनन्दित तुल्याउन लागेका छन्, गोकर्ण। हेरौँ, उनले कतिसम्म सेवा गर्न सक्छन्?