बालकुमारी घटनाका सम्बन्धमा मृतकका परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ।
शुक्रबार ललितपुरकाे बालकुमारीमा घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच साेमबार ४ बुँदे सहमति भएकाे हाे।
कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले शुक्रबार बालकुमारीमा गरेकाे प्रदर्शनका क्रममा भएकाे झडपमा अछामका २२ वर्षीय वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावतले ज्यान गुमाएका थिए।
सरकारले मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने सहमित भएकाे छ।
यसैगरी सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि आवश्यक सहजीकरण गर्ने सहमति भएकाे छ।
सहमतिअनुसार मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि आवश्यक कारवाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने भएकाे छ।
यस्तै मृतकका परिवारले आजै शव बुझ्ने र मृतकको शवलाई सम्बन्धित जिल्लामा पुयाउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने भएकाे छ।