बहुराष्ट्रिय कम्पनीका ‘झन्डु’हरूलाई टक्कर दिइरहेको ‘सन्चो’

Breaknlinks
Breaknlinks

पछिल्लो केही वर्षदेखि लगातार नाफामा रहेको सरकारी संस्थानमध्ये एक हो, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड। 

२०३८ सालमा स्थापना भएको उक्त संस्थाले सुगधिन्त जडीबुटीहरू प्रशोधन मात्र होइन, उत्पादन पनि गर्दैआइरहेको छ। 

हाल कम्पनीले बाराको तामाको गढी, मोरङको बेलबारी, सुनसरीको तरहरा, कैलालीको टीकापुरमा व्यावसायिकरूपमा जडीबुटी खेती गर्छ। यहीँको खेतीबाट कम्पनीले आफ्ना उत्पादनका लागि कच्चा पदार्थ बनाइरहेको छ। 

‘हामीले बेच्ने गरेका जडीबुटीयुक्त औषधिहरू आफैंले उत्पादन गरिरहेका छौं’, कम्पनीका सूचना अधिकारी रेवतीराज अधिकारीले भने, ‘त्यसैले यहाँको औषधिहरू गुणस्तरीय छन्।’ 

२०७५/ ७६ सालदेखि नाफा कमाउन थालेको कम्पनीले पहिलोपटक कर तिरेर १ करोड ९२ लाख रुपैयाँ कमाएको थियाे भने २०७६/७७ सालमा कम्पनीले एक करोड २२ लाख रुपैयाँ नाफा कमायाे।

नाफा कमाउन थालेपछि अहिले कम्पनीले कर्मचारीहरूलाई समेत ‘बोनस’ बाँड्न पनि सुरु गरेकाे छ। 

वार्षिक कराेडाैं रूपैयाँकाे काराेबार गरिरहेकाे कम्पनीले त्पादन गरेको औषधीहरूको माग बढ्दो छ। विश्व बजारमा सुगन्धित तेलको माग वार्षिक १७.२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ भने सन् २०२७ सम्म वार्षिक ७.५ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ। 

नेपालले सन् २०१५ मा ५० लाख डलर बराबरको सुगन्धित तेल निर्यात गरेको थियो। यो विश्व बजारको मागको ०.०२ प्रतिशतमात्र हो।

तथ्याङ्क अनुसार नेपालमा जडीबुटीको अथाह सम्भावना रहेको छ। विश्व बजारमा जडीबुटीजन्य तेल तथा वस्तुको माग अत्यधिक छ, यसैले कम्पनीलाई सुगन्धित तेल तथा जडीबुटीजन्य सामग्रीको उत्पादनमा दक्षिण एसियाकै प्रमुख कम्पनीका रूपमा स्थापित गर्ने संस्थाको उद्देश्य छ।

सन्चोले धानेको कम्पनी 

नेपालमा दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छ। वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरिसकेको छ। हाल ३०० वनस्पति व्यापारिक रूपमा प्रयोग भइरहेको छ। त्यसमध्ये कम्पनीले ७–८ प्रकारका सुगन्धित तेलजन्य जडीबुटी उत्पादन गरिरहेको छ।

कम्पनीले ‘सन्चो’सँगै हिमालयन मसाज आयल, शिलाजित पेस्ट, सिट्रेनेला आयल, लेमनग्रास आयल जस्ता हर्वल केयर प्रोडक्ट उत्पादन गर्दै आइरहेको छ। कम्पनीमा अहिले सन्चो, जटामसी आयल, सिलाजित पेस्ट, सिट्रेनेला आयल, सन्चो बाम, तेजपत आयल, टिमुर आयल र सन्चो ह्यान्ड स्यानीटाइजरलगायतका औषधिहरू उपलब्ध छन्। जसको मूल्य ४० रुपैयाँदेखि ५६ हजारसम्म पर्छ।

‘सरकारी कम्पनीले व्यापार मात्र गर्दैन। सर्वसाधारणहरूको स्वास्थ्यलाई पनि ध्यानमा राख्छ। त्यसैले हामीले गुण्स्तरीय औषधिहरू बनाइरहेका छौं’, बिएल नेपाली सेवासँग अधिकारीले भने, ‘हामीले प्रशोधन गरेको औषधिहरूमा कुनै खोट छैन।’ 

कम्पनीको लोकप्रिय उत्पादन हो, सन्चो। जुन नेपालको उच्च पहाडी क्षेत्रमा पाइने धसिङघरे, टिमुर लगायत फरक तेलजन्य वनस्पतिको सम्मिश्रणबाट सन्चो तेल उत्पादन हुन्छ।

रुघाखोकीलगायत स्वास्थ्य समस्याका लागि उपयोगी मानिने सन्चो प्रयोग गर्नेको संख्या दिनप्रति दिन बढ्ने गरेको कम्पनीको दाबी छ। सोहीकारण ग्राहकहरूलाई सहजै सन्चो उपलब्ध गराउन कम्पनीले नयाँ प्रविधि भित्र्याएको छ। कुनैबेला ३० लाख उत्पादन हुने सन्चो अब ८० लाख उत्पादन हुने भएको छ। 

कम्पनीले हाल उत्पादित सन्चोको फिलिङ्ग र प्याकेजिङ्गको कामलाई प्रविधियुक्त बनाउने कार्यलाई विशेष प्राथमिकतामा राखेको छ। 

सन्चो परम्परागत हाते प्रविधिबाट फिलिङ्ग र प्याकेजिङ्ग हुन्थ्यो तर अब आधुनिक प्रविधिको विकाससँगै कम्पनीले अत्याधुनिक उत्पादन भवन र मेसिनको प्रयोग गरी स्वाचालित प्रविधिबाट आफ्ना उत्पादनहरू बजारमा ल्याउने भएको छ। 

स्वचालित फिलिङ्ग मेसिनले ‘सन्चो’को गुणस्तर र उत्पादन क्षमतासमेत वृद्धि हुने कम्पनीको भनाइ छ। अहिले मानिसले नै फिलिङ्ग गर्दै आएको सन्चो दैनिक करीब २० हजार सिसी मात्रै उत्पादन भइरहेको छ। तर जडान गरिएको मेसिन प्रतिघण्टा ६ हजार सिसी उत्पादन क्षमताको रहेको कम्पनीले जनाएको छ। 

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई चिनाइरहेको सन्चो हाल ५ एमएलमा उत्पादन हुँदै आएको छ। तर, स्वचालित मेसिन सञ्चालनपछि ‘सन्चो’ १० एमएलमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।  

अहिले त्यसैको तयारीमा जुटिरहेको छ, कम्पनी। 

नयाँ भवन विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यासको मापदण्डलाई सम्बोधन गर्ने किसिमले तयार गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उक्त भवनमा एच।भी।एसी। प्रणालीमार्फत हावाको शुद्धता कायम राखी सफा कोठाको व्यवस्था गरिएको छ । यस प्रविधिले भवनमा उत्पादित वस्तुलाई दुषित हावाबाट जोगाई जनसुरक्षित, गुणस्तरीय र प्रभावकारी वस्तुको उत्पादनमा टेवा पुर्याउने कम्पनीले जनाएको छ ।

अब सञ्चालनमा आउन लागेको उत्पादन नयाँ भवन विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यासको मापदण्डलाई सम्बोधन गर्ने किसिमले तयार गरिएको छ। 

कम्पनीका अनुसार उक्त भवनमा एच.भी.एसी. प्रणालीमार्फत हावाको शुद्धता कायम राखी सफा कोठाको व्यवस्था गरिएको छ। यस प्रविधिले भवनमा उत्पादित वस्तुलाई दुषित हावाबाट जोगाई जनसुरक्षित, गुणस्तरीय र प्रभावकारी वस्तुको उत्पादनमा टेवा पुर्याउने कम्पनीले जनाएको छ।

योसँगै कम्पनीले अब वार्षिक ३० टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ।

अन्तर्राष्ट्रिय बजारमा ‘सन्चो’ पठाउने तयारी 

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा बनेका औषधिहरू अन्तर्राष्ट्रिय बजार पठाउने तयारी भइरहेको छ। 

कम्पनीका मार्केटिङ अधिकृत गोविन्दकुमार शर्माका अनुसार यही वर्षदेखि औषधिलाई विदेश पठाउने योजना बनेको छ। ‘त्यो तयारी अन्तिम चरणमा पुगिसकेको छ’, उनले भने।  

भलै, कम्पनीले पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा औषधि पठाउन लागेको होइन। यसअघि पनि कम्पनीले स्वीडेनमा औषधि पठाइसकेको छ। तर सीमित। 

यो पटक भने कम्पनीले छिमेकी देशहरूलाई लक्षित औषधि पठाउने भएको छ।

‘हाम्रा नेपाली दाजुभाइहरू धेरैजसो गल्फ कन्ट्रीमा हुनुहुन्छ, त्यसैले हामीले त्यही देशहरूलाई टार्गेट गरेका छौं’, उनले भने, ‘नेपालीहरू भएको देशमा सन्चोलाई चिनाइरहनु पर्दैन। हामीलाई बजारीकरणमा सजिलै हुन्छ।’

‘गल्फ कन्ट्री’ पछि यूरोपमा पनि औषधि पठाइने उनले बताए। नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सजिलो नभएको उनको भनाइ छ। 

शर्माका अनुसार स्वीडेनको कानूनी सहज भएकै कारण औषधि पठाउन सकिएको हो। तर अब ठुलै परिणाम अन्य देशमा पनि कम्पनीका उत्पादन निर्यात हुनेछ। 

नेपाली ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन कम्पनीले प्रतिस्पर्धा गरिरहेको उनी बताउँछन्। इण्डियाबाट वर्षेनी करोडौ रुपैयाँमा आर्यात हुने ‘झन्डु बाम’सँग जडीबुटी कम्पनीमा उत्पादन भएको ‘सन्चो बाम’ भिडिरहेको छ।

याे बहुराष्ट्रिय कम्पनीकाे उत्पादन हाे। 

तर प्रतिस्पर्धा सहज छैन।

‘झन्डु बामको माग धेरै छ। त्यसैले प्रतिस्पर्धा गर्न मुश्किल छ तर नेपालमा बनेको उत्पादन पनि कम छैन’, उनी भन्छन्,  ‘अब हामीले नेपाल र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनलाई चिनाउने लक्ष्य लिएका छौं।’

देशभर स्वदेशी औषधिलाई चिनाउने दृढ लिएको कम्पनीले सात वटै प्रदेशमा आफ्ना उत्पादन बेचिरहेको छ। जसमध्ये बागमति प्रदेशमा सबैभन्दा धेरै औषधि बिक्री भइरहेको छ।

‘मानिसहरू धेरै भएको ठाउँमा ब्रिकी हुनु स्वभाविक हो। हाम्रो टार्गेट पनि त्यही हो कि सर्वसाधारणहरूले स्वदेशी उत्पादन सहजै पाओस्’, उनले बताए। 

नेपाली उत्पादनलाई माया गर्नुपर्छः महाप्रबन्धक

जडीबुटी कम्पनीमा उत्पादित औषधिहरू गुणस्तरीय रहेको संस्थाकी महाप्रबन्धक संगिता यादव बताउँछिन्। उनका अनुसार सरकारी संस्थाले व्यापार मात्र गर्दैन, नेपाली जनताहरूको स्वास्थ्यलाई पनि ध्यानमा राखेकाे छ। 

र, सरकारीले कम्पनीले रोजगारी पनि दिइरहेको छ। 

सन्चोलगायतका औषधिलाई कम्पनीले प्रशोधन गर्नका साथै सुगन्धित तेलहरूको खेती पनि गरिरहेको छ। जसका लागि कम्पनीले सात सय जना भन्दा धेरै किसानहरूलाई काममा लगाएको छ। त्यही पनि मात्र तीन महिना।

‘हामीले किसानहरूको एक वर्ष लिएका छैनौं’, कम्पनीले किसानहरूलाई रोजगारी दिइरहेको बताउँदै उनी भन्छिन्, ‘उहाँहरूको हामी मात्र ९० दिन लिन्छौं। त्यहीपनि गहुँ काटिसकेपछि र धान रोप्न अघि। त्यही खाली समय किसानहरूले कमपनीको लागि खेती गर्नुहुन्छ।’

तर कसरी बन्छ सुगन्धित तेल?

महाप्रबन्धक यादवका अनुसार कृषकहरूले उमारेको घाँसबाटै सुगन्धित तेल निकालिन्छ। ‘किसानहरूले खेती गर्नुभएको घाँसलाई कम्पनीले निचोरेर तेल निकाल्छ अनि उहाँहरूलाई त्यही तेलअनुसारको भुक्तानी गरिन्छ’, उनले भनिन्, ‘जडीबुटी उत्पादनमा किसानहरूको मेहनत छ।’

किसानहरूलाई थप खेतीमा आवद्ध र रोजगार बनाउनका लागि कम्पनीले गोरखाको सिलान्चोकमा शाखा स्थापना गर्ने तयारी गरिरहेको छ। 

‘जिल्लामा भएका जडीबुटीहरूलाई संकलन गर्नका लागि नयाँ शाखा सञ्चालन गर्न लागिएको हो’, उनले भनिन्, ‘त्यहाँ नयाँ शाखा सुरु गर्दा स्थानीयहरूले पनि रोजगारी पाउनुहुनेछ।’

त्योसँगै कम्पनीले जाजरकोटमा पनि शाखा सुरु गरेको छ। भवन निर्माणका साथै मेसिन पनि जडान भइसकेको छ। अब महिना दिनभित्रै शाखा सञ्चालनमा आउने यादवको भनाइ छ।  

निकट भविष्यमा हिमाल, पहाड र तराई। तीन वटै ठाउँमा शाखा खोल्ने कम्पनीको उद्देश्य छ। ‘सबै जिल्लाहरूबाट जडीबुटी संकलन गर्ने र त्यसलाई प्रशोधन गरेर बजारसम्म पुर्याउने हाम्रो लक्ष्य छ’, उनले बताइन्। 

सरकारी कम्पनीहरूले व्यापारसँगै सर्वसाधारणहरूको स्वास्थ्यलाई पनि ध्यानमा राखेको उनी बताउँछिन्। सोहीकारण नेपाली जनताहरूले पनि नेपाली उत्पादनलाई माया गर्नुपर्ने महाप्रबन्धक यादवको बुझाइ छ। 

‘हामी जनता सबै जनाले नेपाली प्रोडकहरूलाई माया गर्ने हो भने स्वदेशी पैसा बाहिर जादैन। यसले गर्दा खस्किएको अर्थतन्त्रमा पनि प्रभाव पार्दछ’, सर्वसाधारणहरूसँग उनी आग्रह गर्छिन्, ‘हामीले सरकारलाई सर्पोट गर्नका लागि नेपाली उत्पादन नै प्रयोग गर्नुपर्छ।’

सरकारको स्वामित्व रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड नेपालीहरूको मन र मस्तिकमा बस्न सफल भएको उनको दाबी छ। महाप्रबन्धक भन्छिन्, ‘हाम्रो कम्पनी तबसम्म रहनेछ, तबसम्म नेपाली जनताहरूले हाम्रो कम्पनी र उत्पादित औषधिहरूलाई माया गरिरहनु हुनेछ।’ 

भिडियाे :

प्रकाशित मिति: : 2024-01-01 17:00:00

प्रतिकृया दिनुहोस्