राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैकाे खाेयाले हान्ने लम्जुङका सन्ताेष रानाभाट हिरासतमै छन्।
रानाभाटले शनिबार पाेखराकाे अमरसिंहचाैरमा आयाेजित पार्टीकाे सभालाई सम्बाेधन गरिरहेका रवि लामिछानेमाथि मकैकाे खाेया प्रहार गरेका थिए।
भाषण गरिरहेका लामिछानेमाथि मकैकाे खाेया प्रहार भएपछि वडा प्रहरी कार्यालय रामबजारकाे टाेलीले रानाभाटलाई नियन्त्रणमा लिएकाे थियाे। र, उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा पुर्याइएकाे थियाे।
उनी अहिलेसम्म हिरासतमै रहेकाे र अनुसन्धान जारी रहेकाे जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए। उनकाअनुसार रानाभाटमाथि अनुसन्धान जारी छ।
मुद्दा अगाडि बढाउने या रिहा गर्ने भन्नेबारे दिउँसाेसम्म थाहा हुने उनकाे भनाइ छ।
रानाभाटबारे थप कुरा खुलाउन नचाहेका डिएसपी विकले उनी रवि लामिछानेका व्यवसायिक पार्टनर जिवी राईकाे सूर्यदर्शन सहकारीका सदस्य नरहेकाे कुरा भने हतार-हतार बताए। ‘उहाँबारे अरु केही कुरा पत्ता लागेकाे छैन, उहाँ पाेखरामा जीविका चलाइरहेकाे सामान्य व्यक्ति हाे भन्नेमात्र खुलेकाे छ। अनि, उहाँ सहकारीकाे सदस्य हाेइन है सर’, डिएसपी विकले भने।
त्यस्तै आफूमाथि खाेया प्रहार गर्ने व्यक्तिलाई कारबाही नगर्न र सुरक्षितरुपमा घर पुर्याइदिन रविले गरेकाे आग्रहलाई प्रहरीले अस्वीकार गरेकाे छ। रविले भनेका थिए, ‘विनम्रतापूर्वक सुरक्षाकर्मीहरुलाई अनुरोध छ, मलाई दिएको फूलमध्ये सबैभन्दा बढी मगमगाउने फूल दिएर उहाँलाई घर पुर्याइदिनुहोला। सुरक्षाकर्मी साथीहरु मैले यतिञ्जेलसम्म बिन्ति गरेँ, देशको पूर्वउपप्रधान तथा गृहमन्त्री भएका आधारले तपाईंलाई आदेश दिँदैछु कि साथीलाई सकुशल घर पुर्याइदिनुस्।’
यद्यपि, रविले भनेकाे उक्त भावनात्मक कुरा एकातिर रहेकाे र कानुनी प्रणाली अर्काेतिर रहेकाेले रानाभाटलाई नछाेट्ने प्रहरीकाे भनाइ छ।
अन्तत: रविकाे बिन्तीलाई बेकार बनाउँदै प्रहरी रानाभाटमाथि कारबाही प्रक्रिया अगाडि बढाउनेतिर उन्मुख छ।