मन्त्री फेरेर भए पनि कामलाई गति दिन्छु: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेरेर भएपनि कामलाई गति दिने प्रतिबद्धता जनाएका छन्।

मोरङको मिक्लाजुङ–५ मा शुक्रबार नेकपा माओवादी केन्द्रले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सिंहदरबारमा विभिन्न मन्त्रालयलाई बाेलाएर उनीहरूका काम कसरी भएका छन्, अब ठिक ढंगले काम भएनन्, आफूले प्रतिबद्धता र सहमति जनाएका काम पनि कतिपय मन्त्रालयले पूरा गरेका छैनन्, त्यस्ता मन्त्रालयलाई पुनर्गठन गरेर, मन्त्री फेरेर भएपनि कामलाई गति दिनेतिर मैले प्रतिबद्धता व्यक्त गरेकाे छु।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि निरन्तरतामा क्रमभंग गर्दै विकास गर्ने प्रतिबद्धता जनाए।

‘तेस्राे पटक प्रधानमन्त्रीकाे जिम्मेवारी लिएकाे एक वर्ष पूरा हुँदैछ, याेबीचमा मैले सुशासनकाे पक्षमा, सामाजिक न्यायकाे पक्षमा र समृद्दिकाे पक्षमा, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपालकाे प्रतिष्ठा बढाउने पक्षमा धेरै भूमिका खेलेकाे छु। त्याे एक वर्ष पुगेकाे दिनमा नेपाल र नेपाली जनताकाे नाममा एउटा ठूलाे सम्बाेधन गर्दैछु। त्याे सम्बाेधन सबै कुरा उल्लेख हुनेछन्। अर्काे वर्ष निरन्तरतामा क्रमभंग गर्दै विकास गर्नेछु’, उनले भने। 

प्रकाशित मिति: : 2023-12-22 15:16:00

प्रतिकृया दिनुहोस्