राम सिन्दूर लिय हाथ सोन सुपारी के साथ, सीता उघारी लिय माँग सिन्दूर लयला…
यो साताभरि मिथिलाका लोकगीत र भजनले जनकपुरधाम गुञ्जायमान भयो।
अवध र मिथिला क्षेत्र सभ्यतासँगै संस्कृतिको धनी हो। अवध र मिथिला नेपाल-भारत दुवै देशलाई एकआपसमा जोड्ने कडीका रुपमा व्याख्या गर्न सक्नुपर्छ। सम्बन्ध र संस्कार गाँसिएका यी परम्पराहरू त्रेता युग देखिकै हुन्। धर्म, संस्कृति, कला र सामाजिक तथा सांस्कृतिक परम्पराको निरन्तरता दुवै देशमा उत्तिकै बरकरार छ।
दोस्रो विश्वयुद्धमा सहयोग गरेबापत नर्वेले बेलायत(लण्डनवासी)लाई सन् १९४७ मा क्रिसमस ट्री उपहारका रुपमा दिएको थियो। सुरुवातमा १५१० ताका लाटभियाले बत्तीहरूले सजिएको क्रिसमस ट्री बनाएर पर्वलाई उत्साहपूर्वक मनाउन सुरु गरेको इतिहास उदाहरणीय छ।
अर्को एउटा उदाहरणका लागि क्रिकेट कुटनीतिलाई ‘सफ्टपावर’ कुटनीतिका रुपमा लिइन्छ। बेलायतको एक अध्ययनले सफ्टपावर कुटनीतिमा भारतले समेत आफ्नो स्थान संसारको रेटिङ्गमा २८औँ स्थान कायम गरेको छ।
अमेरिका, जर्मनी, चीन र जापान सफ्टपावर अभ्यासमा अघिल्लो पंक्तिमा पर्छन्। यी अभ्यासहरू हेर्दा नेपालले पनि आफ्नो मौलिकतामा आधारित धार्मिक र आध्यात्मिक गतिविधिबाट कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सक्नुपर्छ।
मिथिला (नेपाल-भारत) दुवैतर्फका क्षेत्रमा सौहार्द खुसी र उमंगको महान पर्वहरूका रुपमा मनाइन्छ। राम-जानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत रामजानकीको वैवाहिक कार्यक्रम-स्वयम्वरको पनि हो। त्यसकै लागि हरेक वर्ष जानकी मन्दिरको प्राङ्गण भव्य रुपमा सजाइएको हुन्छ।
हरेक देशले आ-आफ्ना चाडपर्वलाई विभिन्न सफलतासँग जोडेर अघि बढाउने अवसरका रुपमा समेत प्रयोग गर्दछन्।
त्यसैमध्येको एउटा अर्को उदाहरण हो, अमेरिकाको दुई पटकको क्रिसमस।
सन् १७७६ र १७८३ को क्रिसमस अमेरिकाको इतिहासमा उपलब्धिमूलक रह्यो। जर्ज वाशिङटनको महाद्वीपीय सेनाले डेलावेयर नदी पार गर्यो र डिसेम्बर २५ मा अमेरिकी स्वतन्त्रताको जग बसेको थियो। सन् १७७६ देखि सन् १७८३ को अवधि ब्रिटिस उपनिवेशबाट अमेरिकी स्वतन्त्रताको महत्वपूर्ण अवधि थियो। अमेरिकी इतिहासमा सन् १७८३ को क्रिसमस ईभ महत्वपूर्ण रह्यो।
तर विवाह पञ्चमी! युगौँयुगदेखिको यति महत्वको कार्यक्रममा नेपालका न त कुनै रजनीतिक दलका नेताहरू पुगे, न त कोही सेलेब्रेटीहरु नै उपस्थित रहे।
धार्मिक तथा सांस्कृतिक महत्वको यति ठूलो र भव्य उत्सवमा राज्यको औपचारिक उपस्थिति भने प्राय शून्य रह्यो। केवल स्थानीय तह र मधेश प्रदेश सरकारको सीमित भूमिका मात्रै देखिन्छ।
संघीय सरकारका तर्फबाट यति भव्य कार्यक्रमलाई महत्वका साथ नलिइएको आभाष हुन्छ। राज्यका उच्च तहबाट दुई देशबीचको सेतुका रुपमा रहेको यो पर्वलाई व्यवस्थित गर्न खासै चासो नदिइएको स्पष्ट देख्न सकिन्छ।
नेपाल-भारत सम्बन्धका लागि समेत महत्वपूर्ण कडीका रुपमा रहेको राम-जानकी विवाह पञ्चमीलाई कूटनीतिक रुपमा समेत नेपालले अघि बढाउन सक्नुपर्छ। तर त्यसो हुन सकिरहेको छैन। कतिपय देशहरूमा गल्फ कुटनीति, क्रिकेट कुटनीतिले समेत दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइरहेका हुन्छन्।
युगौँयुगदेखि मनाइँदै आएको राम-जानकी विवाह पञ्चमीलाई सरकारले उच्च प्राथमिकतामा राख्न चुकेको छ। विवाह पञ्चमीमा तिर्थालु भक्तजनहरूको यातायात र बसोबासको उचित व्यवस्थापनका हिसाबले पनि कमजोर रह्यो। आध्यात्मिक तथा धार्मिक पर्यटनका पक्षबाट यति ठूलो अवसरलाई गतिलो आर्थिक कारोबारका रुपमा समेत अघि बढाउन सक्नुपर्ने अवसरबाट सरकार चुकेको छ।
फागु पूर्णिमा(होली), रामनवमी, जुडशितल, मध्य मिथिला परिक्रमा, धनुषाधाम मकर मेला नेपालको मात्रै होइन, यी त भारतीय सांस्कृतिक र धार्मिक आस्थासँग गाँसिएका कुरा पनि हुन्। जो दुबैतिर साझा छन्।
राम-जानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत रामजानकीको वैवाहिक कार्यक्रम(स्वयम्वर) भव्य मनाइन्छ। नेपाल र भारतका विभिन्न ठाउँहरुबाट सर्वसाधारण श्रध्दालु भक्तजनहरूको उपस्थिति भने उत्साहजनक रह्यो।
विवाह पञ्चमी विधिवत जानकी मन्दिरबाट निस्कने माता सीताको डोला (दुलही) पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला (दुल्हा) पक्षको टोली जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा पुगेर मिलन भयो। जनकपुरस्थित रङ्गभूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि उपस्थित तीर्थालुबीच मिथिला परम्पराअनुसार स्वयम्वर कार्यक्रम उत्साहपूर्वक सम्पन्न भयो। स्वयम्वर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएका लाखौँ श्रद्धालुको उपस्थितिले यो पर्वको गरिमालाई थप बलियो बनाएको छ।
स्वयम्वर कार्यक्रमको समापनपछि रङ्गभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्त रुपमा निस्कने शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्राङ्गण पुगेपछि विवाह पञ्चमी उत्कर्षमा पुग्यो। जानकी मन्दिरकै प्राङ्गणमा भारतको अयोध्याबाट जन्तीका रुपमा आएका साधु सन्तको उपस्थितिमा भगवान राम र सीताको विवाह सम्पन्न हुन मध्यरात लाग्यो।
मिथिलाको विधि विधानअनुसार अबेर रातिसम्म चलेको वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्राङ्गण र पूरै जनकपुरधाम हरेक वर्ष तयार रहन्छ। हजारौँको सङ्ख्यामा तीर्थालुहरूको उपस्थिति हुन्छन्। डिजिटल माध्यमबाट ड्रोनको प्रयोगमा मन्दिरका श्रव्यदृश्य प्रत्यक्ष प्रसारणसमेत भए।
पर्यटन प्रवर्द्धन, धार्मिक तथा आध्यात्मिक गन्तव्य र नेपाल-भारतबीचको सम्बन्ध सुधारका लागि दुवै देशको हितमा राम-जानकी विवाह पञ्चमीलाई कुटनीतिक उपायका हिसाबले समेत प्रयोग गर्न सक्नुपर्ने देखिन्छ।
देशले धर्म निरपेक्षताको नाममा महत्वपूर्ण चाडपर्व, संस्कृति र परम्परालाई उपेक्षा गर्न थालेको जनगुनासो पछिल्ला वर्षहरुमा बढिरहेको पनि छ।