बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्छ : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले असहाय बेवारिसे नागरिकको अभिभावक प्रदेश सरकार बन्ने बताएका छन्। हेटौँडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताए।


प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थाहरुलाई सहयोग गर्दै मानवताका र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले बताए। प्र्रदेश सरकार स्थापनादेखि हालसम्म मावन सेवा आश्रमको व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अन्तर्गत बजेट विनियोजन गर्दै आएको बताउँदै उनले प्रदेश सरकारले स्थापना कालदेखि हालसम्मको अवस्थामा ४ करोड रुपैयाँ भन्दा बढी रकम सहयोगस्वरुप लगानी गरेको उनले बताए। चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले ४० लाख रुपैयाँ सवारी खरिदका लगि विनियोजन गरेको उनको भनाई छ।

प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पनि आश्रमका विभिन्न काममा प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे। मुख्यमन्त्री जम्कट्टेलले नागरिकहरुको सहायताका विभिन्न विषयमा प्रदेश सरकारले लगानी गरिरहेको र मानव सेवाका काममा पनि निरन्तर रुपमा लगानी गर्ने सोच रहेकाले उचित योजनाका साथ प्रस्ताव पेश गर्न आग्रह गरे।

उक्त अवसरमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सडक मानव मुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकारले काम अघि बढाएको बताइन्। अभिभावक नभएका बालबालिका तथा असाहय नागरिक तथा वृद्धवृद्धाहरुको साथमा प्रदेश सरकार विगतदेखि नै रहँदै आएको र आगामी दिनमा पनि विभिन्न माध्यममार्फत् क्रियाशील रहने उनले बताइन्।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा संविधानले व्यवस्था गरेअनुसारको अधिकार जनतालाई दिलाउन राज्यका हरेक अंग तयार रहनुपर्नेमा उनले जोड दिइन्। सोहीअनुरुप मानवसेवा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान अघि बढिरहेको उनले बताइन्। आश्रममा आश्रित नागरिकहरुको विभिन्न समस्या समाधानमा प्रदेश सरकारले निरन्तर रुपमा सहयोग गर्दै आएको र नागरिकता लगायतका विषयमा रहेका जटिलता हटाउन संघीय सरकारसँग नियमित छलफल तथा समन्वय भइरहेको उनको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राजनीति पनि मानव सेवा कै लागि हुनुपर्ने बताए। उनले राजनीतिक दलहरुको मूल्य र मान्यता अन्य वादहरुमा भन्दा मानवतावादतर्फ केन्द्रीत हुन जरुरी रहेको बताए। मानव सेवा नै महान धर्म भएको उनको भनाइ छ। मन्दिर, गुम्बा, मस्जिद तथा चर्चहरु धर्मको आस्थाको केन्द्र भएपनि सबै धर्मको सार मानव सेवा नै रहेको उनले बताए।

मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश फैलने उनको भनाई छ। राज्यले गम्भिर ढंगबाट मानव सेवाको कामलाई अघि बढाउन जरुरी रहेको उनले बताए। सडक मानव मुक्त देश निर्माण अभियानमा राज्यले आफ्ना योजनाहरु केन्द्रीत गर्नुपर्ने सभापति बानियाँले बताए।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडा मानवताको शहरको रुपमा रहेको र हेटौंडाबाट मानवताको सन्देश विश्वभर फैलिने बताए। सुन्दर नगरीको रुपमा रहेको हेटौँडाको शोभा बढाउने काम मानव सेवा आश्रमले गरिरहेको र आश्रमको समस्याहरु समाधनमा हेटौँडा उपमहानगरपालिकाले निरन्तर सहयोग उपलब्ध गराउने उनको भनाइ छ।

उनले हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै नागरिकहरुको उचित व्यवस्थापन हुने गरी निर्णय गर्न जरुरी रहेको बताए। सडक विस्तारका क्रममा किनारमा भएका संरचना हटाउँदा नागरिकहरु सुकुम्बासी नहुने र विकासका काम पनि निरन्तर चल्ने प्रकृतिबाट गर्नुपर्ने उनको भनाई छ।

प्रकाशित मिति: : 2023-12-16 20:09:00

प्रतिकृया दिनुहोस्