झरी, बादल
खोँच, हिमाल
पहाड, तराई
नदी, समुन्द्र
सब्बै सब्बै लेखिसकेपछि
एउटा लेखकलाई पनि लाग्दो हो,
- अब त केही पृथक लैखूँ !
लाग्दो हो-
- विकासका कविता लेखूँ
- समृद्धिका कथा लेखूँ
- जनताको खुसीका लामा उपन्यास लेखूँ
अनि लेखूँ,
- लेखकले लेखेरै पेट पालेका नियात्राहरू पनि..!
हत्या,
हिंसा,
बलात्कार
लाजनीति
र परनिर्भरताका
स्तम्भ लेख्दा लेख्दा
- घरीघरी घोत्लिँदो पनि होला
- भयका काला बादल मडारिँदा हुन् मन र मस्तिष्कमा
अनि सुस्केरा हाल्दै भन्दो हो-
धत् अब त अत्ति भो ! केही रोचक लेख्नुपर्छ
- जनताका हक लेख्नुपर्छ
- लेख्नुपर्छ भ्रष्टहरूको अवसानका सत्यकथा
- लेक्नुपर्छ लाजनीति साच्चिँकै राजनीतिको गन्तव्यमा
पुगेको नियात्रा
- लेख्नुपर्छ देशको आत्मनिर्भरताका ठुला उपन्यासका ठेली
- लेख्नुपर्छ कथा-कविता सुरक्षित भएका चेली।
र, अन्तमा लाग्दो हो,
‘के गर्छस्?’ भनि कसैले सोध्दा
- ‘लेख्छु’ भन्ने जवाफमा
दोहोर्याएर प्रश्न नगरियोस्-
- अनि काम चाहिँ के गर्छस्...?