उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय नभत्काउन आदेश दिएकाे छ।
बुधबार न्यायाधीश हरि प्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले राप्रपाको धुम्बाराहीस्थित कार्यालय नभत्काउन आदेश दिएको हाे।
काठमाडौँ महानगरपालिकाले गत साउनमा राप्रपाको कार्यालय भवन मापदण्डविपरीत बनेको भन्दै डोजर लगाएर भत्काउने निर्णय गरेपछि त्यसकाविरुद्ध राप्रपाले अदालतमा रिट निवेदन दिएकाे थियाे।
उच्च अदालतले भदाै १४ गते रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकको जग्गामा निर्मित भवन नभत्काउन अन्तरिम आदेश दिएको थियाे।
अदालतले मिसिल संलग्न जग्गाधनी दर्ता प्रमाण पूर्जा कागजातबाट निवेदनमा उल्लेखित कित्ता नं ७०७ को जग्गा निवेदक प्रभा चापागाईंको नाममा रहेको देखिएको र कित्ता नं २१४ को कल्याणी राजभण्डारीको जग्गामा बनेको भवनको सम्बन्धसम्म निर्णय भएको देखिएकाले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म त्यहाँ निर्मित भवन नभत्काउन भनेकाे थियाे।