बाराको सिम्रौनगढ नगरपालिकामा आन्दोलनरत शिक्षक-कर्मचारी र प्रहरीबीच झडप भएको छ।
बुधबार दिउँसाे भएकाे झडपका क्रममा १ स्थानीय मृत्यु भएकाे छ भने एक स्थानीय र १० जना प्रहरी कर्मचारी घाइते भएका छन्।
प्रहरीले हवाई फायर गर्दा वडा नम्बर १ ननसगरा घाटका अन्दजी २३ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएकाे प्रहरीले जनाएको छ।
नगरप्रमुख किशोरी साह कलवारले नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर आन्दोलनकारीहरुले एक्कासी ढुङ्गा मुढा गरी गाडी र नगरपालिकाको भवनमा तोडफोड गरेको थिए।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा अश्रुग्यास तथा हवाई फायर गर्ने क्रममा मुखिया गम्भीर घाइते भएका थिए। घाइते उनलाई नारायणी अस्पतालमा उपचारका लागि लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
यसैगरी आन्दोलनकारीकाे ढुङ्गामुढाबाट १० जना प्रहरी कर्मचारी घाइते भएको र अहिले स्थिति समान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक शोभन बिक्रम राणाले जानकारी दिए।