वर्षदिनअघि काठमाडौं महानगरको चाबी हात पार्न सफल भएका बालेन्द्र साह (बालेन)ले सडक व्यापारीहरुमाथि लाट्ठी बर्साए। आफ्ना प्रहरी लगाए। फुटपाथ व्यापारीमाथि धरपकड गरे।
अन्ततः फुटपाथ व्यापारी काठमाडौंमा बस्न सकेनन्। घरमा चुलो नै नबलेपछि लुकिछिपी फुटपाथमा आएका व्यापारी पनि बालेनका प्रहरीबाट लखेटीलखेटी छोपिनु पर्यो।
बालेनको यो हर्कतको चौतर्फी विरोध भयो। फुटपाथ व्यापारीलाई वैकल्पिक स्थान नदिएर नहटाउन अधिकारकर्मीले आग्रह गरे। धर्ना बसे। तर, यी फुटपाथ व्यापारीको आवाज बालेनले कहाँ सुन्थे! लखेटी छाडे।
बालेनले काठमाडौंमा फुटपाथ व्यापारी लखेट्दै गर्दा राजधानी उपत्यकाको अर्को महानगरपालिका ललितपुरको प्रशंसा भइरहेको थियो। किनकि ललितपुरले फुटपाथ व्यापारीलाई व्यवस्थापन गरिरहेको थियो।
ललितपुरले छरिएर रहेका फुटपाथ व्यापारीलाई बसपार्क, कुपोण्डल, भैँसीपाटी, सातदाेबाटोलगायत ठाउँमा निश्चित समयमा व्यापार गर्न भनिरहेको थियो। व्यापारी त्यहीँ व्यापार गर्न पुगेका थिए। त्यसपछि प्रशंसा ललितपुरका प्रमुख चिरीबाबु महर्जनको भयो। उनका प्रहरी प्रमुख सीताराम हाछेथुको भयो। ललितपुरबाट पाठ सिक्नुपर्दछ भन्दै बिएल नेपाली सेवाले पनि ‘एउटा हाछेथुको आइडियाले कति फरक पार्दछ सहरमा’ भन्ने एउटा स्टोरी तयार पारेको थियो।
तर, ललितपुरको यो प्रशंसीय कार्य तानाशाही बन्ने गतिमा लागेको छ। अहिले ललितपुरमा पनि काठमाडौंको रोग सरेको छ। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे दिन हिजोदेखि अर्थात् डिसेम्बर १० (मंसिर २४) मा ललिपुरले फुटपाथ व्यापारीमाथि डन्डा चलाएको छ।
ललितपुरले १९ र १२ नम्बर वडाको लगनखेलदेखि मंगलबजारसम्मका फुटपाथ व्यापारीलाई लखेटेको छ। जहाँ पाँच सय बढीले सडकमा दुःखका साथ व्यापार गरेर गर्जो टारेका थिए।
गाडी गुड्न असहज भएको, मान्छे हिँड्न समस्या भएको, सटरमा व्यापार गरेकालाई समस्या भएको र फुटपाथ व्यापारीले फोहोर गरेको भन्दै उनीहरुलाई त्यहाँबाट ललितपुरले लखेटको हो।
लगनखेलदेखि मंगलबारसम्मका व्यापारीलाई लखेट्नुअघि महानगरले निर्मम सूचना जारी गर्दै यी ठाउँमा व्यापार गरे कानूनी कारबाही गर्नेसम्मको चेतावनी दिएको थियो।
ललितपुर महानगर प्रहरी प्रमुख हाछेथुले काठमाडौंबाट लखेटिएका व्यापारी यी ठाउँमा आएकाले यस क्षेत्रमा व्यापार गर्न नदिएको बताए। यद्यपि, उनले यस ठाउँमा व्यापार गर्न नदिएपनि महानगरले तोकेको ठाउँमा व्यापार गर्न पाइने बताए।
तर, महानगरले तोकेको ठाउँमा अन्य पुराना व्यापारीले नयाँ व्यापारीलाई पस्न दिँदैनन्। पुराना फुटपाथ व्यापारीको हानाहानसमेत हुने गरेको छ। लगनखेलदेखि मंगलबाजरसम्म तीन महिना अघिसम्म २४७ जनाले व्यापार गरेका थिए।
पछिल्लो ३ महिनामा यस क्षेत्रमा दाेब्बर बढेर पाँच सय बढी व्यापारी पुग्दा यहाँ भीडभाड बढेको हो। महानगरले अहिले पछि थपिएकासँगै पहिलेदेखि नै व्यापार गर्दै आइरहेका सबै व्यापारीलाई हटाएको छ।
‘कसैलाई हटाउने, कसलाई राख्ने कुरा भएन। सबैलाई यस क्षेत्रमा पसल राख्ने निषेध गरेका छौँ,’ हाछेथुले बिएल नेपाली सेवासँग भने, ‘उनीहरुलाई ललितपुरबाट लखेको नभई अन्य ठाउँमा व्यवस्थापन गरेका हौँ।’
ललितपुरले व्यापारका लागि तोकेको ठाउँमा पुराना व्यापारीले पस्न नदिने गरेको त्यहाँबाट लखेटिएका एक व्यापारी बताउँछन्।
ललितपुरको यो कदमको विरोध भएको छ। विरोधमात्र होइन ललितपुरको गरिब फुटपाथ व्यापारी लखेट्ने निर्णयविरुद्ध आन्दोलनको घोषणा भएको छ।
फुटपाथ व्यापारीका अधिकारका लागि लडिरहेका ई: नामका व्यक्ति भोलि सोमबार ३ बजे १०८ घण्टा उभिएर विरोध गर्ने भएका छन्। उनले ललितपुरलाई आफ्नो सपना नमार्न आग्रह पनि गरेका छन्।
उनले सहर कार भएकाहरुको मात्र नभएको भन्दै फुटपाथ व्यापारीलाई विस्थापन नभएर व्यवस्थापन गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘सहर भनेको कार भएकाहरूको लागि मात्र नभएर सबैका लागि हो भन्ने यसको प्रयासलाई सबैले प्रशंसा गरिरहेका छन,’ ‘कर लेऊ, गरी खान देऊ, विस्थापन होइन, व्यवस्थापन गर।’
ईः काठमाडौँ महानगरले फुटपाथ व्यापारी लखेट्दा पनि उभिएर विरोध गरेका थिए। फुटपाथ व्यापारीको व्यवस्थापन गर्नका लागि महानगररको गेट अगाडि शान्तिपूर्ण रुपमा १९९ घण्टा उभिएर उनले विरोध गरेका थिए।
उनको विरोधपछि काठमाडौं महानगर फुटपाथ व्यापारीलाई व्यवस्थापन गर्न तयार रहेको भन्दै चार बुँदे सम्झौता गरेको थियो। यद्यपि, उक्त सम्झौता गरेकाे महिना दिन पुग्दा पनि काठमाडौंले कुनै प्रगति गरेको छैन।