राष्ट्रियसभा निर्वाचनः गठबन्धनले एमालेलाई कठिन, रास्वपा पनि नजर लगाउँदै

२० सिटका लागि हुन लागेको राष्ट्रियसभा निर्वाचन आउन महिना दिन पनि छैन। माघ ११ गते सातै प्रदेशमा हुने निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ। 

आयोगले पार्टी दर्तादेखि उमेवार मनोनयनको समयतालिका निकालिसको छ। दलहरू पनि निर्वाचनलाई लिएर आन्तरिक तयारी थालिसकेका छन्। 

२०७४ मा ६ वर्षका लागि निर्वाचित भएका २० सांसद फागुन २०मा बिदा हुँदैछन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पदावधि सकिनु ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार आयोग निर्वाचनको तयारीमा जुटेको छ। 

फागुन २० मा बिदा हुनेमा एमालेका ८, काँग्रेसका ४, माओवादी केन्द्रका ३, एकिकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, राष्ट्रपतिबाट मनोनित एक र एक जना स्वतन्त्र छन्।

गठबन्धनले एमालेलाई चुनाैती
राष्ट्रियसभामा रिक्त हुन लागेको २० सिटमा कोशी, मधेश, लुम्बिनीबाट दुई–दुई जना, बागमतीबाट चार जना, गण्डकी, कर्णाली र सुदुरपश्चिमबाट तीन–तीन निर्वाचित भएर र एक जना राष्ट्रपतिबाट मनोनित भएर आउनेछन्। 

राष्ट्रियसभामा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरू मतदाता रहन्छन्। सरकारमा रहेका दलहरूबीच गठनबन्धन कायम रहे गठबन्धनको स्पष्ट बहुमत छ। जसले गर्दा एमाले सबै सिट गुमाउने अवस्था देखिन्छ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल राष्ट्रियसभा गठबन्धन भएर चुनावमा जाने बताउँछन्। ‘हाम्रो गठबन्धन स्थानीय तहदेखिको हो। प्रदेशमा भयो। संघमा भयो। राष्ट्रियसभाको निर्वाचनमा पनि कायमै हुन्छ,’ उनले बिएल नेपाली सेवासँग भने। 

राष्ट्रियसभा रास्वपाको दाउ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रियसभामा आफ्नो उपस्थितिका लागि दाउ हेरिरहेको छ। स्पष्ट रुपमा अहिले मतदातको संख्या हेर्दा रास्वपाका मतदाता नै छैनन भन्दा हुन्छ। 

राष्ट्रियसभा सदस्य चुन्नका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुन्छन्। यी दुबै तहमा रास्वपाका एक जनाको पनि उपस्थिति छैन। 

दलबाट निर्वाचित भएकाहरूले स्वभाविकैले दलका उम्मेदवारलाई भोट गर्छन्। स्वतन्त्र रुपमा निर्वाचितहरूको रास्वपालाई भोटिङ गर्ने सम्भाना रहेपनि उक्त संख्या किनै न्यून भएकाले रास्वपा एक्लैले निर्वाचन जितिनै हाल्ने सम्भाना देखिदैन। 

त्यसैले गर्दा पनि रास्वपा गठबन्धनसँग कुनै सहमति गरेर राष्ट्रियसभामा आफ्नो उपस्थितिलाई सुनिश्चित गर्न चाहन्छ। रास्वपाका कतिपय नेताहरू गठबन्धन सरकामा सहभागी हुने र उनीहरूको सहयोगमा राष्ट्रियसभामा आफ्नो सहभागीता शून्य हुनबाट बचाउनुपर्ने धारणा राख्छन्। 

रास्वपाका सहप्रवक्ता मनिस झा राष्ट्रियसभाका विषयमा अहिले नै पार्टीमा कुनै छलफल नभएको बताउँछन्। तर, राष्ट्रियसभामा आफ्नो दलको उपस्थितिका लागि पार्टीमा छलफल हुने उनले बिएल नेपाली सेवासँग बताए। 

उनले कुनै दलसँग सहमति भएमा अहिलेको गठबन्धन दलसँग सहमति गरेर जान सकिने बताए। 

यस्तो छ निर्वाचनको कार्यतालिका
माग ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। जसअनुसार मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ताको समय तोकिएको छ। 

पुस १ गते राजनीतिक दललाई चुनाव चिन्ह प्रदान, ४ गते राजनीतिक दलको नामावली नेपाल राजपत्रमा प्रकाशन, पुस १६ गते निर्वाचन अधिकृत नियुक्ति, सोही दिन सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। 

२० देखि २८ गतेसम्म निर्वाचन कार्यालयमा निर्वाचन कार्यक्रम हुनेछ। जसमा पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता, २४ गते उम्मेदवारमाथि उजुरी, २६ गते अन्तिम नामावली प्रकाशण, २७ गते उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।  

त्यसपछि माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। मतदान सातै प्रदेशका सात निर्वाचन केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ। 

प्रकाशित मिति: : 2023-12-03 18:28:00

प्रतिकृया दिनुहोस्