शनिबार, ०६ डिसेम्बर २०२५

भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु बुद्धिहीनताः ओली

News Image
• • •

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को प्रतिगमनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु बुद्धिहीनता भएको बताएका छन्।

शनिबार नवयुग ई–बुलेटिन शुभारम्भ समारोहमा उनले प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यस्तो प्रतिगमन देशका लागि दुर्भाग्य भएको भन्दै यसलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु बुद्धिहीनता भएको बताए।

उनले भने, ‘यति धेरै परिवर्तन भएको छ। तैपनि केही मान्छे व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्छन्। बितेको तीन महिनामा चाही परिवर्तन भयो कि? तीन महिनामा परिवर्तन भयो भनेर बौद्धिक व्यक्तित्वहरूको विश्लेषण र तर्क सुन्दा दया लाग्छ। जे होस् प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यो प्रतिगमन देशका लागि दुर्भाग्य थियो। यसलाई क्रान्ति भनेर महिमा मण्डन गर्नु बुद्धिहीनता हो। आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैन।’

यस्तै, उनले वर्तमान सरकार अनाधिकृत सरकार भएको भन्दै यस्तो सरकारको  सिफारिसमा प्रतिनिधि सभा भंग हुनु हदैसम्मको लोकतन्त्रको उपहास भएको बताए।

उनले भने, ‘सरकार त्यसलाई चलाउने अधिकार छ जसलाई जनताबाट विश्वास गरिएको हुन्छ, निर्वाचनबाट निर्वाचित हुन्छ। त्यसपछि मात्रै शासन गर्ने अधिकार हुन्छ। गोरखामा राजाको पालामा दौडेर त राजा हुन्थे तर यहाँ त दौडिन पनि नपरिकन एकैचोटि गएर कुर्सी झ्याप्प समातेर थ्याच्च बस्या छ। र आफूलाई शासक घोषणा गरेको छ। यस्तो अनाधिकृत सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग हुनु हदैसम्मको लोकतन्त्रको उपहास हो।’

आफू पुरानो हुने तर आफूभन्दा साढे तीन महिना कान्छी चुनाव नलडि प्रधानमन्त्री हुने भन्दै यो कुनै जेनजी र परिवर्तनको सरकार नभएको तर्क गरे।

‘अनि को फर्कने त? अब सरकार कसको रे? यसमा पनि दुविधा हुने? आगो लगाएर सरकार बनाउने? फेरि पनि यस्तै गरेर सरकार बनाउने? अब फेरि हाहुकै भरमा सरकार बन्छ? पार्टीको नबनेर,’ ओलीले भने, ‘अनि उनै पूराना नेता आउने रे? केही थाहा नपाएका चाहीँ पुराना किन आएका त? हामी चाहीँ बुढा हुने। म भन्दा साँढे तीन महिनामात्रै कान्छि चाहीँ, जित्नु न सित्नु उसै प्रधानमन्त्री हुँ भन्ने?’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!