रास्वपामा नेता बनाउन ‘लिडरशीप एकेडेमी’, उम्मेदवार बनाउन ‘उम्मेदवार क्लव’

BreaknLinks
BreaknLinks

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई नयाँ अवधारणा ल्याएको छ। जुन हाे, लिडरशीप एकेडेमी र उम्मेदवार क्लव।

महोत्तरीको जलेश्वरमा तीन दिन चलेको केन्द्रीय समितिको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो अवधारणा सार्वजनिक गरेका हुन्।

यी दुई अवधारणा ल्याउनुका कारण के? लामिछानेले प्रतिवेदनमा भनेका छन्, ‘पुराना दलका प्रवृत्ति पार्टीमा निषेध गर्न र पार्टीभित्र विनाकारण निषेध गरिएका असल मानिसलाई ल्याउन।’

यी दुई अवधारणाले कसरी काम गर्नेछ? लिडरशीप एकेडेमीले पार्टीको नेतृत्व निर्माण गर्नेछ भने उम्मेदवार क्लवले निर्वाचनका लागि सक्षम उम्मेदवार पठाउने व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख छ।

वि.सं. २०८२ को अन्तिमतिर लिडरशीप एकेडेमी तयार पारिने लामिछानेले जानकारी दिएका छन्। जसले नेतालाई सबैकुराको प्रशिक्षण दिनेछ। लिडरशीप एकेडेमीमा पढ्ने मात्र नभएर सिक्ने र गलत सिकाइ बिर्सने कार्य हुनेछ।

यस एकेडेमीमा प्रशिक्षण नलिएसम्म उम्मेदवारी दिन नपाइने प्रतिवेदनमा भनिएको छ। ‘आज लिडेरशीप एकेडेमीबाट प्रशिक्षित गरेर नेता उत्पादन गर्ने अवस्थामा आइपुगेका छौँ,’ प्रतिवेनमा भनिएको छ, ‘लिडरशीप एकेडेमीबाट प्रशिक्षणको प्रमाणीकरण नभएका कुनै पनि व्यक्ति कुनै पनि तहमा उम्मेदवारी दिन पाउने छैनन्।’

उम्मेदवार बन्न पाँच चरण पार गर्नुपर्ने

लामिछानेले तयार पारेको प्रतिवेदनमा उम्मेदवार बन्नका लागि ‘उम्मेदवार क्लव’मा पाँच चरणको चयन प्रकृया पार गर्नुपर्ने मापदण्ड लागू गरिने भनिएको छ। पालिका र वडाबाट उम्मेदवार छान्ने र प्रशिक्षण दिने काम यो क्लवले गर्नेछ।

कुनै वडा र पालिकामा उम्मेदवार बन्नका लागि पहिले उम्मेदवार क्लव मा आवेदन दिनुपर्ने र त्यहाँबाट पाँच चरणको चयन प्रकृया पार गरेपछि मात्र उम्मेदवार बन्न पाइने प्रतिवेदनमा समावेश छ।

हालका वडा र पालिकाका संयोजकहरुले भने चौथौ र पाँचौँ चरणमा मात्र प्रतिस्पर्धा गर्न पाउने छन्। पार्टी बाहिरकाले उम्मेदवार दिनु परेकामा पाँचै चरणको चयन प्रकृयामा भाग लिनु पर्नेछ।

यसरी उम्मेदवार चयन गर्दा योग्य मानिस कोही नछुट्ने र पार्टीमा लागिसकेकाले प्राथमिकता पनि पाउने लामिछानेले प्रतिवेदनमा भनेका छन्। उम्मेदवार क्लवको पूर्ण कार्यविधि, प्रकृया र विवरण छिट्टै सार्वजनिक हुने पनि बताइएको छ। 

याे पनि

रविको राजनीतिक प्रतिवेदनः व्यवस्था ठिक छ, देशकाे परिवर्तन रास्वपाकाे ‘निलाे क्रान्ति’बाट हुन्छ

यस्तो बन्यो ‘रविको कोर टिम’: उपसभापतिमा स्वर्णिम, सहमहामन्त्रीमा सुमना

प्रकाशित मिति: : 2023-11-30 17:03:00

प्रतिकृया दिनुहोस्