रविको राजनीतिक प्रतिवेदनः व्यवस्था ठिक छ, देशकाे परिवर्तन रास्वपाकाे ‘निलाे क्रान्ति’बाट हुन्छ

‘हामी यही व्यवस्थाभित्र रहेर नागरिकको अवस्था बदल्न सक्छौँ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तयार पारेको प्रतिवेदनमा भनिएको छ। 

उनले यो प्रतिवेदन तयार पार्दै गर्दा देशको राजधानी काठमाडौंमा भने व्यवस्था परिवर्तनको नारा लागेको थियो। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईं राजतन्त्र ल्याउने नारा लगाउँदै गर्दा मधेश प्रदेशमा झरेर केन्द्रीय समितिको बैठक बसाएका लामिछानेले भने व्यवस्थामाथि प्रश्न उठाउनु पर्ने अवस्था नरहेको प्रतिवेदन तयार पारे। 

छोटो समयमै राष्ट्रिय राजनीतिमा चौथो ठुलो दल भएर आएको रास्वपका सभापति लामिछानेको यो प्रतिवेदनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि ठिक छ भन्ने प्रष्ट्याएको छ। 

नेपाल र नेपालीको जीवन परिवर्तन गर्न फेरि नागरिकले कुनै रातो क्रान्ति गर्नु नपर्ने लामिछानेले बताएका छन्। ‘विगत आठ दशकमा विभिन्न परिवर्तनहरु भए। तर नागरिकको अवस्था परिवर्तन भएन। फेरि व्यवस्था परिवर्तनको बसहमा लाग्नुभन्दा सुशासन र विकासको बहसमा केन्द्रित हुन जरुरी छ,’ प्रतिवेदनमा भनिएको छ।

गरिब, दुःखी, पीडित नागरिकको कहालीलाग्दो जीवनबारे बहस नगरेर अन्य परिवर्तनतिर बसह धकेलिने हो भने आमजनतालाई परिवर्तनको प्रतयाभूत दिने संकल्प अनिश्चिततातर्फ धकेलिने लामिछानेको बुझाइ छ। 

तर, प्रदेश संरचना भने परिवर्तन गर्नुपर्ने लामिछानेले बताएका छन्। उनले यो संरचना राजनीतिक दलका कार्यक्रता भर्तिकेन्द्र भएकोसमेत आरोप लगाएका छन्। 

अब ‘निलो क्रान्ति’
रास्वपाका सभापति लामिछानेले देशमा अब निलो क्रातिको आवश्यक रहेको बताएका छन्। चितवनका जनताले निलो क्रान्ति गरेको भन्दै अब यसलाई देशभर लागू गर्नु पर्ने उनको भनाइ छ। 

प्रतिवेदनमा भनिएको छ, ‘हामीले विश्वास र अभ्यास गर्ने भनेको चितवन मोडेलको आन्दोलन हो। अर्थात चितवनले स्थापित गरेको निलो क्रान्तिको मोडेल देशव्यापी बनाउने चुनौति हामीमाथि छ।’ 

निलो क्रान्ति भनेर लामिछानेले चितवनका जनताले आफुलाई ७५ प्रतिशत मत दिएर जिताएको भनेका छन्। जुन अन्य ठाउँमा पनि चितवन मोडेल विस्तार गर्न सकिएमा आगामी दिनमा दुईतिहाई मत पार्टीले पाउनेमा उनको प्रक्षेपण छ।

चितवनका जनताले गरेको यो निलो क्रान्ति कुनै कुनै ढुंगा, मुढा, हतियारबाट नभएर  अनुहारमा मुस्कान र हातमा फुलसहितको क्राति भएको लामिछानको बुझाइ छ। 

चितवनको निलो क्रान्तिको सन्देशले देशव्यापी हुँदा पार्टी स्थापनाको ६ महिनामा नै रास्वपा देशको चौथो दल बनेको उनले बताएका छन्।  
 

प्रकाशित मिति: : 2023-11-30 13:19:00

प्रतिकृया दिनुहोस्