कस्ताे छ गाजाको हालखबर?

शुक्रवार युद्ध सुरु भएयता सबैभन्दा धेरै सङ्ख्यामा मानवीय सहायता बोकेका गाडीका लस्कर गाजातर्फ गएका थिए। तिनमा इन्धन, खाद्यान्न र स्वास्थ्य सामग्रीहरू समावेश थिए।

शनिवार समेत इजिप्टतर्फको रफाह नाकामा बिहानैदेखि सहायता सामग्री बोकेका गाडीहरू गाजा प्रवेशका लागि तयार भएर बसेका थिए।

लगातार दोस्रो दिन इजरेलले चार-चारवटा डिजेल र खाना पकाउने ग्यास बोकेका ट्याङ्कर गाजा प्रवेश गर्न दिएको थियो।

इजरेल डिफेन्स फोर्सेस आईडीएफले शनिवार २०० ट्रकहरू त्यसतर्फ जाने अपेक्षा गरिएको जनाएको छ।

एकजना राष्ट्रसङ्घीय प्रवक्ताले गाजामा आपत्कालीन रूपमा सबै खाले सहायता आवश्यक रहेको बताएका छन्।

गाजामा मानिसहरू बसिरहेका सार्वजनिक भवनहरूमा निकै भिडभाड देखिन्छ।

राष्ट्रसङ्घीय सहायतासम्बन्धी निकायले विद्यालय र अन्य भवनहरूमा गरेर झण्डै १० लाख विस्थापितहरू बसिरहेका जनाएको छ।

गाजामा धेरै मानिसहरूले आफूले लगाइराखेकै लुगाका भरमा मात्र भाग्नु परेको अवस्था बताएका छन्।

धेरै मानिसहरू राम्ररी हातमुख धुन समेत पाइरहेका छैनन्।

अस्थायी युद्धविराम सुरु भएपछि प्यालेस्टिनीहरू आफ्ना ध्वस्त भएका घर पुग्दै भग्नावशेषमा बचेका हुनसक्ने आफ्ना उपयोगी सामानहरू खोजिरहेका देखिन्छन्।

इजरेल नयाँ चरणको अभियानका लागि जुटेको छ र नागरिकहरूसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा कुनै सहमति भएको छैन।

हमासका लागि लडाइँ रोकिनुको केही रणनीतिक लाभ समेत रहेको बीबीसीले जनाएकाे छ।

हप्तौँको सकसपूर्ण लडाइँमा इजरेली पक्षसँग भिडे तापनि यसले हमासलाई केही उल्लेख्य क्षति समेत पुर्‍याएको छ।

युद्धविरामको समयलाई हमासले आफ्नो चेन अफ कमाण्डलाई पुन: स्थापित गर्न, बन्दोबस्तीका सामानहरू जुटाउन र लडाकुहरूलाई इजरेली फौजलाई बढ्ता क्षति पुर्‍याउन सकिने ठाउँमा सारेर तैनाथ गर्न प्रयोग गर्नसक्ने देखिन्छ।

यस समयले उनीहरूलाई बाँकी रहेका बन्धकहरूलाई इजरेलले छुटाउन कठिन पर्ने ठाउँमा सार्ने अवसर दिन सक्छ।

प्रकाशित मिति: : 2023-11-27 07:31:00

प्रतिकृया दिनुहोस्