महेश नेपाली
डाेल्पाको सीमाना जाेड्ने जुम्लाको अन्तिम गाउँ हो, चोत्र। अग्लाे लेकमा अवस्थित हुनाले चाेत्रलाई जुम्लाको शिरान पनि भनिन्छ।
उत्पादनमा आलु र सिमीमात्रै हुने भएपनि जीवन धान्ने र मुखमा माड पसाल्ने अनेक उपाय छन्। संघर्षपूर्ण र कष्ठसाध्य जीवन भएपनि चोत्रलगायत हिमाली भेगका बस्तीलाई प्रकृतिले अपार साथ दिएको छ।
जंगलमा हुने बहुमूल्य जडिबुटी संकलन गर्ने तथा पाटनमा हुने हिराजस्तै अमूल्य यार्सागुम्बा खोज्ने कठिन र संघर्षपूर्ण यात्रा गर्ने साहस गर्नाले चोत्रबासीको जीवन सहज भन्दै गइरहेको छ।
तर, जति दु:ख कष्ट गर्दा पनि परिस्थितिले साथ नदिएकी एक पात्र हुन, तेजआङ्मु महतारा। जम्मा ३० वर्षकी उनी जिम्मेवारीको भारी बोक्दा बोक्दै थाकेकी जस्ती देखिन्छन्। बैँस छँदा छँदै पनि उमेरले नेटो काटेकाे जस्तो देखिन्छ। मोटाे कदमा जवानीको जोस छैन।
त्यसैले उनी जंगल, खोला किनार, पखा-पखेरालाई साक्षी राखेर लाेक विरहका भाका हालिरहन्छिन्। उनको मधुर स्वर सिंगो चोत्र गाउँले आनन्दानुभूति गर्छ। तर, उनी भने परिस्थितिको गह्रौँ भारीले थिचिदै गइरहेकी छिन्।
परिस्थितिले हानेका चोटहरु सहँदा सहँदा उनको स्वर झन् निखारिँदैछ। त्यसैले त होला चोत्र गाउँलाई तेजआङ्मुको स्वरले गुञ्जायमान गराइरहेको छ।
उनको स्वर सहरको कुनै सुविधासम्पन्न स्टुडियोमा रेकर्ड भएको छैन। खुला संसारलाई रेकर्डिङ स्टुडियो बनाएर निर्बाध गाइरहेकी उनलाई कम्तिमा एकपल्ट भएपनि गीत रेकर्ड गराउने ठुलो धोको छ। परिस्थितिले साथ नपाउँला कि भन्ने उस्तै पीर पनि छ।
आज हामी उनको स्वरसँगै संघर्षपूर्ण जीवनका मसिना रेसाहरु केलाउँदैछाैँ।
जुम्ला जिल्लाकै सुन्दर भूगाेलमा अवस्थित मनिसाँगु गाउँ तेजआङ्मुको माइत हो। १० कक्षा पढ्दा पढ्दै १७ वर्षको उमेरमा बिहे भएको थियो, उनकाे। त्यसबेला उनका श्रीमान् १२ कक्षामा पढ्थे।
स्कुलका कार्यक्रम र वार्षिकोत्सवमा सुरिलाे स्वरले गाउने उनी धेरैको नजरमा पर्थिन्। कयौंका प्रेम प्रस्ताव आउँथे। मन खाएका केटाको प्रस्तावले उनलाई टाढिन मन भएन। त्यसैले उनले निधो गरिन् भागेर बिहे गर्ने। सम्झिन्छिन्, ‘बिहे भएको १४ वर्ष बित्यो। घिसार्दै जीवन गुजारा चलिरहेको छ। रहर भने कहिल्यै पूरा गर्न सकिएन।’
उनलाई बिहे गरिसकेपछि पढ्न मन लागेको थियो। कलिलो उमेरमा बिहे पछि जिम्मेवारी कति हुन्छ भन्ने पत्तो नपाएकी उनी पढाइलाई बिनाअवरोध अगाडि बढाउन चाहन्थिन्। तर, बाधा अड्चन आएपछि मात्रै थाहा पाइन् बिहे बाेझ रहेछ भन्ने कुरा।
‘एसएलसीपछि ११ मा कक्षा भर्ना भएकी हुँ। जाँच पनि दिएँ। एक विषय लागेको थियो,’ उनले भनिन्, ‘घरमा पढ्ने वातावरण थिएन। लागेको विषय पास हुने गरि पढ्न पाइनँ र छाेड्नु पर्यो।’
स्कुलमा पढुन्जेल मञ्चहरु पाइन्थे। स्कुल छुटेसँगै दुनियाँले तेजआङ्मुको स्वर सुन्नुपर्यो भनेर सम्झिने मञ्चहरु पनि छुटे। त्यसपछि उनले वनपाखा, खोला किनारलाई आफ्ना मञ्च बनाइन्।
माइतमा उनका बुबा अपाङ्ग छन्। आमा पनि अपाङ्ग छिन्। एउटा भाइ, एउटा दाइ र एक दिदी छन्। आमा बाबुको कठिन दैनिकी देखेकी उनलाई पाेइली घरमा पनि उस्तै दृश्य देख्नुपर्यो। ससुरा अपाङ्ग थिए। गएको वैशाखमा खुट्टा भाँचिदा सासू पनि अपाङ्ग बनेकी छिन्।
‘माइत र पोइल उस्तै दृश्य देखिन्छ। जता सम्झ्याे बैरागमात्रै लाग्छन्,’ उनले भनिन्, ‘रुवाइ छुट्छ। जीवनमा निराशाको घनघाेर बादल मडारिरहेजस्तो लाग्छ। अनि पीर भुलाउन गाउने गरेकी छु।’
पीर भुलाउन र बह पखाल्न गाउने तेजआङ्मुको रहर त स्टुडियोमा पुगेर गाउने छ। तर, परिस्थितिले घरको ढोका अगाडि अजङ्गको अवरोध उभ्याइदिएको छ। उनी अवरोध छिचाेलेर फुत्किन सक्ने अवस्थामा छैनन्।
ऋणको भारीले पारिवारिक बिछाेड सहनु परिसरहेको स्थितिमा आफ्नै खर्चले गीत रेकर्ड गर्ने सम्भावना छैन। श्रीमानले ह्याड्या(सेतो चिनी)को व्यापार गरे। त्यसबाट घाटा लाग्यो। यार्साको व्यापार गर्दा पनि डुबे। एकमुष्ट २५ लाख ऋण लाग्यो। उनलाई ऋण थपेर गीत रेकर्ड गर्ने आँट आएन।
‘आधा तिरी सकियो। आधा जति बाँकी छन्। ऋण तिर्न भनी श्रीमान् इन्डियामै छन्,’ उनले सुनाइन्, ‘ऋण तिरेर सकिन्जेल स्वरले साथ दिएछ भने मनको धोको पूरा होला सर। नभए यत्तिकै हुने भयो।’
उनी अहिले घरका लागि दाउरा ल्याउने, खेतबारीका लागि स्याउला सोहोर्ने काम गरिरहेकी छिन्। यी सबै काम गर्ने बेला उनी एक्लै हुन्छिन्। एक्लै हुँदा उनी मन बहलाउन गीत गाउँछिन्। उनीसँगै वनपाखाले पनि लय हालेजस्तो लाग्छ। उमल कट्टा भएजस्तो लाग्छ।
सासू ससुरा केही गर्न सक्दैनन्। बच्चासमेत अरुको घरमा राख्दै काममा जाने उनले रहरका पोकाहरुलाई बलियो गाँठो पारेर राखेकी छिन्। भन्छिन्, ‘पूरा गर्न सक्ने स्थिति बनेछ भने फुकाउँदै गरुँला। नसक्या यो जोवन यत्तिकै जाने भैगो।’
काम र घरधन्दाबाट उम्किनै नपाउँदा उनलाई जीवनदेखि साह्रै उराठ लाग्छ। कमाएको जति ऋण तिर्दै ठिक्क छ। हिमाली भेगका मान्छे कोही व्यापार गरेर धेरै अगाडि बढेका छन्। कोही परिस्थितिको साथ नपाएकाहरु झन् रसातलमा जाँदैछन्। त्यसमा उनको परिवार पनि पर्छ।
उनी यार्सागुम्बा टिप्न जानलागेको पनि सात आठ वर्ष नै भयो। यो वर्ष पनि गएकी थिइन्। दुई लाख ५५ हजार कमाइ भएको थियो। सबै ऋण तिर्दा नै ठिक्क भयो। उनले सुनाइन्, ‘ऋण तिर्नुपर्ने नभएको भए त ती पैसाले गीत रेकर्ड भइहाल्थ्यो होला।’
उनी बुहारी हुनुका अनगिन्ती दु:ख सम्झिन्छिन्। कहिल्यै नसकिने दु:खको हिसाब आफ्नाे भागमा परेजस्ताे मान्छिन्। दु:ख हिसाब गर्ने क्याल्कुलेटर नपाएकी उनी दु:ख कष्टको हिसाब पनि गीतबाटै गर्छिन्। त्यसले उनलाई हल्का पनि हुन्छ, पानी परिसकेपछि निख्रिएको आकाशजस्ताे। उनी चाहन्छिन् यस्तो बेला श्रीमान पनि सँगै भइदिएको भए। तर, बाध्यताले पारिवारिक बिछाेट सहनु परिरहेको छ।
‘मनभित्रका पीडाहरु गुम्सिएका छन्। गीत गाएर कट्टा गर्ने गरेकी छु,’ उनले लजाउँदै भनिन्, ‘श्रीमान सँगै भए थोरै राहत हुन्थ्यो। उहाँको अंगालोमा केही पीर बिसाउन पाउँथेँ। आज-भोलि त परिस्थिति मेरा लागि होइन जस्तो लाग्छ।’
पाखो जग्गा जमिन मस्तै छ। तर, उत्पादन साह्रै कम हुन्छ। पानी कम परेको बेला आलु राम्राे हुन्छ। पानी परेको बेला आलु पनि हुँदैन। सिमी अलिअलि हुन्छ। यीबाहेक अन्नपात अरु केही हुँदैन। खानाको जोहो गर्दा गर्दै थकाइ लाग्छ। रगत पसिनाले कमाएको सबै सकिन्छ। अनि गीत निकाल्ने रहरलाई पोकोमा गाँठाे पारेर थन्क्याउनुबाहेक विकल्प हुँदैन।
उनको साेच त आफ्नै लगानीबाट भएपनि गीत रेकर्ड गर्ने भन्ने थियो। ‘तर जति कमाइ छ त्यो एक गाँस नखाइकन पनि ऋण तिर्न परिरहेको छ। त्यसैले मनको धोको कहिल्यै पूरा नहुने हो कि भन्ने पीरले सताइरहन्छ।’
दुवै बच्चाको पढाइ खर्च नलाग्ने हुनाले थोरै सुबिस्ता छ। नत्र पराचेत हुने थिए। उनले थपिन्, ‘यस्तो अवस्थामा म आफ्नाे खर्चले कसरी गीत गाउँला? त्यसमाथि उमेर दिनदिनै बढ्दैछ। स्वरले साथ देला नदेला।’
उनी अरुले गाएको सुनेर दुरुस्तै गाउन सक्छिन्। कहिलेकाहिँ ती लयमा आफ्ना शब्द हालेर पनि गाउँछिन्। सुन्दा उस्तै लाग्छ।
पुस्तान्तरण हुँदै आएका आफ्ना शब्दहरु उनले पनि टिपेर राखेकी छिन्। तीनमा नयाँ लय हालेर गीत रेकर्ड गराउने उनको धोकाे पूरा हुन्छ हुँदैन थाह छैन। तर, चाेत्रगाउँदेखि मनिसाँगुसम्मका वनपाखाले उनको स्वर रेकर्ड गरिरहेका छन्।
उनी आफूलाई मन परेको गीत सुनेको एकछिनमै कन्ठ गर्छिन्। गीत कन्ठ गर्ने उनको बानीले मस्तै रहर उब्जाउँछ। लाग्छ परिस्थिति दमनकारी छ। त्यसैले उनका तमाम रहरहरु दबिइरहेका छन्।
उनीजस्ता प्रतिभाहरु दबिन नहुने त्यहाँका वडा अध्यक्ष अर्जुनकुमार महताराको राय छ। ‘तेजआङ्मुको आर्थिक अवस्था अत्यन्तै कमजोर हुँदा समस्या भएको छ,’ उनले भने, ‘उनमा रहेको अद्भूत प्रतिभालाई बाहिर ल्याउन सहयोगी मन भएकाहरुबाट सहयोग हुने विश्वास लिएको छु।’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया