बेला-बेला हल्लिरहेको जमिनमाथि ढलेका घरहरू असरल्ल थिए। चर्किएर पनि ठिङ्ग उभिइरहेका घरभित्र कोही थिएनन्। चर्किएर ती बस्न लायक थिएनन् सायद।
मान्छेहरू घरभित्र छिर्ने आँट गरिरहेका थिएनन्।
जाजरकोटको कुशे गाउँपालिका– ९ धनरासीबासीले घरबाहिरै त्रिपालमुनि दिन रात कटाउन थालेको आठ दिन बितिसकेको थियो।
मन्दिरा श्रेष्ठ पनि त्यसपछिका करिब १० रातहरू टेन्टमुनि साथीहरूसँगै कोचिएर कटाइन्।
टेन्टमाथिबाट तप्–तप् चुहिरहेका शीतका थोपा र एकनासले चलिरहेको चिसो सिरेटोले पनि बिथोल्न नसकेको मन्दिराको निन्द्रा एउटा आवाजले बिथोल्यो।
त्यो दिन रातिको ११ बजे एकजना पुरुष गुहार माग्दै आएका थिए। उनै पुरुषको आवाजले मन्दिरालाई ब्यूँतायो।
केही पर त्रिपालमुनि सुतिरहेकी गर्भवती महिलालाई ब्यथा लागेछ।
त्रिपालमुनि ब्यथाले अत्तालिएकी ती महिलाले स्वभाविक रुपमा बच्चा जन्माउन नसकेपछि उनका ससुरा जयधन टमाटा गुहार माग्दै मन्दिराको टोली सुतेको टेन्टसम्म पुगेका थिए।
मन्दिरा र उनको टोली अँध्यारोमा भित्ता छाम्दै ती महिलाको टेन्टसम्म पुग्यो।
सग्ला घरहरू थिएनन्। बत्ती थिएन। उज्यालो थिएन। गर्भवती महिलाको परिवारसँग उज्यालोको लागि वैकल्पिक स्रोत जुटाउने सामर्थ्य पनि थिएन कि!
साथीहरूले चार्ज सकिन लागेका तीनवटा मोबाइलको टर्च बाले।
बच्चा पाठेघरको मुखमा अड्किएको थियो। धर्ती टेक्न आतुर बच्चाको घाँटीमा गर्भनली बेरिएको थियो।
त्यो प्रसव पीडा कस्तो हुँदो हो!
स्वास्थ्य टोलीसँग जाजरकोट पुगेकी नर्स मन्दिराका कानभरि अहिले पनि ती चित्कार उस्तै विदारक छन्।
गर्भनलीसँगै अड्किएको बच्चा कसरी निकाल्ने?
गाउँनजिक अस्पताल थिएन। प्रविधि थिएनन्। औषधि थिएनन्। अस्पतालसम्म पुग्ने बाटो थिएन र उपाय पनि थिएन।
समस्याको पहाड झन अग्लिएजस्तै भयो।
मन्दिराले आँट गरिन्, घरेलु सरसामानको प्रयोग र जानेजतिको सीप प्रयोग गरिन्। उनको साथमा गाउँका महिलाहरू पनि थिए, उनीहरूले पनि आफ्नो अनुभव प्रयोग गरे।
केहीबेरमै बच्चाको पहिलो रुन्चे आवाज आयो। आमाको ओंठमा मुस्कान।
बच्चा जन्मिएपछि आमा (निरुता टमाटा)लाई अस्वभाविक रक्तस्राव भयो। उनको रक्तस्राव रोक्न र स्वास्थ्य अवस्था सामान्य स्थितिमा पुर्याउन पनि घरेलु स्रोत साधानको प्रयोग गरियो।
एउटा संकटको बिचमा आइलागेको अर्को संकट पनि टर्यो।
बच्चा जन्मिनासाथ उनका परिवारले मन्दिरालाई भने- ‘तपाईंको नाउ जेसुकै होस्, हामी यिनको नाउ पनि त्यही राख्छौँ।’
२०८० कात्तिक २४ गते जन्मिएकी उनको त्यहीँ न्वारान भयो- मन्दिरा टमाटा।
०००
रामेछापकी २२ वर्षीया मन्दिरा नर्स हुन्। कोरोना महामारीदेखि वीर अस्पतालमा ‘करार’ नर्सका रुपमा काम गर्न गएकी उनले दसैयता जागिरे जीवनबाट बिदा लिइसकेकी छिन्।
मन्दिराको नर्सभन्दा फराकिलो परिचय सामाजिक अभियान्ता हो। उनी १० वर्षको उमेरबाटै सामाजिक कामहरूमा अग्रसर छिन्।
गत कात्तिक १७ गते राति ११:४७ मा जाजरकोटको बारेकोट गाउँपालिका– २ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प जाँदा उनी चितवनमा थिइन्।
चितवनमा हुँदा उनलाई सामान्य भूकम्प गएको हो जस्तो लागेको थियो। तर, त्यसको भोलिपल्ट उनी काठमाडौँमा आइपुग्दासम्म जाजरकोट भूकम्पबाट ५७ जना बढीको ज्यान गएको तथा सयौं घाइते भएको समाचार सबै मिडियाले सार्वजनिक गरिसकेका थिए।
समाचार देखेर उनी चिन्तित भइन्।
उनले तत्कालै एकल निर्णय गरिन्, जसरी पनि जाजरकोट पुग्ने र उद्दार कार्यमा संलग्न हुने।
जाजरकोट त जाने तर कसरी?
उनले आफूले चिने-जानेका सबैतिर फोन सम्पर्क गरिन्। सुरुमा कोही भेटिएनन्। उनको प्रयास जारी थियो, त्यही क्रममा भेटिएका हाम्रो टिम नेपाल, राष्ट्रका लागि युवा र हन्ड्रेड ग्रुपको टोली। उनी तिनै टोलीको साथ दुई दिनमा जाजरकोट पुगिन्।
उनको टोली भूकम्प गएको तीन दिनपछि जाजरकोट पुग्दा उद्धारका सबै काम सकिएका थिए। त्यतिबेलासम्म मृत्यु हुनेको संख्या १ सय ५३ पुगेको थियो। कयौँ घाइतेहरू अस्पताल र घरहरूमा उपचाररत थिए।
भूकम्प गएको तेस्रो दिनको राति जाजरकोट सदरमुकाम पुगेको मन्दिराको टोली त्यसैरात बढी प्रभावित मध्येको एक कुशे गाउँपालिका वडा नं. ५ को धिमे पुग्यो। बिहान उठ्नासाथ मन्दिराको नजरमा परे, भूकम्पले क्षतिग्रस्त दृश्यहरू।
‘हामीले सुरुमा सानो सानो दुईवटा बच्चा देखेका थियौँ, जसको आमा–बाबा दुवै बित्नुभएको रहेछ। उहाँहरू दुवै जना कपाल खौरिएर बस्नु भएको थियो। बाँकी सबैजना समूह-समूह भएर पालमुनि बस्नु भएको थियो। जाडो धेरै थियो, हामीलाई पनि जाडो सहन गाह्रो भइरहेको थियो तर उहाँहरू छोटा लुगा लगाएर बस्नु भएको थियो। सायद उहाँहरू नयाँ मान्छेले केही दिनुहुन्छ कि भन्ने आशले बस्नुभएको थियो,’ मन्दिरा भूकम्प प्रभावित क्षेत्रमा पुग्दा देखेको पहिलो दृश्य बयान गर्छिन्।
मन्दिरा सहभागी टोलीले कुशे गाउँपालिका वडा नं. ७ स्थित धनरासीमा स्वास्थ्य शिविर चलायो। उनीहरूले राहत सामाग्री वितरणसँगै बिरामीको उपचार गर्यो।
मन्दिराको लागि जाजरकोट र समग्र कर्णाली नयाँ भूगोल थियो। उनलाई त्यहाँको भौगोलिक र प्राकृति सौन्दर्यता र त्यहाँका मानिसहरू मन पर्यो। तर, उनीहरूको स्वास्थ्य सामाग्री प्रयोगबारेको अज्ञानता देखेर उनी अचम्मै परिन्। ‘त्यो ठाउँमा धेरै जना गएर प्याडहरू पनि दिनुभयो। तर, त्यहाँको फिमेलहरूलाई प्याड भनेको के हो केही थाहा छैन। हामीले पनि औषधि दिँदा दिँदै प्याड पनि दियौँ, पछि उहाँहरू फर्किएर आउनु भयो र भन्नु भयो– यो चाहिँ किन दिएको? कतिबेला प्रयोग गर्ने? भन्नु भयो। उहाँहरूलाई प्याड भनेको थाहा रहिन्छ,’ उनले भनिन्। मन्दिराले धनरासीका महिलाहरूलाई प्याड प्रयोगबारे जानकारी दिइन्।
त्यहाँ रहँदा मन्दिराको टोलीले तीनवटा जिम्मेवारी पूरा गर्यो। पहिलो राहत वितरण, दोस्रो स्वास्थ्य शिविर सञ्चालन र तेस्रो विशेषगरी महिला तथा बालबालिका लक्षित मनोपरामर्श।
ती जिम्मेवारी पूरा गर्न मन्दिरा पनि रात-दिन, भोक-तिर्खा नभनी खटिइन्। त्यही क्रममा जन्मिएकी थिइन्, मन्दिरा। जसलाई मन्दिरा भन्छिन् ‘मिनी मन्दिरा’।
त्यो घटनापछि आफूमा आत्मविश्वास बढेको महसुस गर्छिन्, मन्दिरा।
‘त्रासको बिचमा पनि मैले कसैको जीवनमा केही फरक पारेको छु भनेर थाहा पाउँदा मेरो आँखामा खुसीको आँसु आयो। त्यो हृदयविदारक घटनाको सम्झनाले यस सम्पूर्ण अनुभवको दौडान मेरो हृदयमा भारी भार पार्यो, जसले आमा र बच्चा दुवैको लागि सुरक्षित प्रसूति सुनिश्चित गर्ने मेरो अठोटलाई अझ बलियो बनायो,’ मन्दिरा भन्छिन्।
०००
मन्दिरा जाजरकोट पुग्दा भूकम्प पीडितहरूको लागि राहत वितरणका कार्यक्रमहरू चलिरहेका थिए। भूकम्प पीडितको लागि आवश्यक पर्ने टेन्ट, त्रिपाल, खाद्यन्न, लत्ताकपडालगायत सामाग्रीहरू सरकारी र गैरसरकारी संघ संस्थाले जाजरकोट र रुकुम (पश्चिम) पुर्याइरहेका थिए। विगतमा राहत वितरणको क्रममा बेथिति भएको भन्दै यसपटक सरकारले सम्पूर्ण राहत सामाग्री एकद्वार प्रणालीमार्फत् विरण गर्ने घोषणा गरेको थियो।
यद्यपि, सरकारको त्यो नीति प्रभावकारी हुन नसकेको मन्दिराका बुझाइ छ।
‘राहत दिन त्यहाँ धेरै जना पुग्नु भएको छ तर उहाँहरूको राहत जहाँसम्म यातायात पुगेको छ त्यहीसम्म लिमिट छ,’ मन्दिराले भनिन्।
त्यहाँका जनताले पालिकाहरूलाई सामान दिएपछि आफूहरूसम्म नआएको गुनासो गरेको पाइएको उनले सुनाइन्। त्यहाँको अवस्था देखेर आफू बढी चिन्तित भएका उनको भनाइ छ। ‘मान्छेहरूले त्यहाँको अवस्थाको जुन फाइदा लिइरहेको छ नि त्यो चाहिँ सबैभन्दा चिन्तामय छ। उहाँहरूको अवस्था दयनीय छ, चिन्तित छ त्यो अवस्था देखेर सबैले सहयोग गरिरहेका छन्। तर, पीडितको हातमा पुगेको छैन,’ उनले भनिन्।
उचित तरिकाले राहत वितरण नभएको कारण त्यहाँका पीडितहरू चिसोबाट मर्नुपर्ने अवस्था आउन सक्ने जोखिम रहेको उनको भनाइ छ।
०००
अब जाजरकोटबासीहरूलाई चिसोबाट जोगाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको मन्दिराको भनाइ छ। उचित तरिकाले राहत वितरण नहुँदा वास्तविक पीडितसमक्ष आवश्यक राहत सामाग्री नपुगेको र त्यसकारण पीडितहरू चिसोमा बस्न बाध्य भएकोले थप समस्या उत्पन्न हुनसक्ने उनले बताइन्।
उनको सुझाव छ, राहत वितरण गर्ने टोलीले चिसोबाट बँच्ने सामाग्रीहरूमा केन्द्रित होउन्। उनले भनिन्, ‘त्यो ठाउँमा एकदम चिसो छ, मुख्यगरी त्यो ठाउँमा बच्चाहरू धेरै हुनुहुन्छ। त्यही भएर चिसोबाट बच्नको लागि त्यहीअनुसार सामानहरू वितरण गर्न मेरो अनुरोध छ।’
भिडियो: