आफ्नै भिड ठेगान लगाउन नसकेका प्रसाईं 

एकहुल युवा आउँछन्, हुरुरु..। मोटरसाइकलको कर्कस लिएर। ८ लेनको सडकलाई मात खुवाउने गरी। त्यो पनि ठप्प रहेको चक्रपथमा।

काठमाडौँको चक्रपथ आज (बिहीबार) ठप्प त छ। तर, मोटरसाइकलको कर्कस धेरैबेरसम्म रोकिएन।

एम्बुलेन्ससमेत गुड्न नपाउने गरी छेकिएको यो चक्रपथमा ती बाइक भने निर्वाध ओहोरदोहोर गरिरहेका छन्।

यी बाइक दुर्गा प्रसाईंका हुन्, उनका समर्थनमा आएका हुन्। आजबाहेक अरु दिनमा यस्तै कर्कस आवाज दिएर गुड्थे भने ती बाइक ट्राफिक प्रहरीको फन्दामा पर्थे। जरिवानाको भागिदार हुन्थे।

आज ट्राफिक प्रहरीले ती बाइकलाई देखे पनि नदेखेझैँ गरे। देख्न त नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि देखे। कसैले केही गरेनन्। हेरे मात्रै।

किनकि आज उनीहरू उग्र थिए। उग्र त बाइक हाक्ने मात्र कहाँ थिए र? चक्रपथमा देशभरबाट मान्छे ल्याएका स्वयम् दुर्गा प्रसाईं पनि उग्र थिए। उस्तै थिए समर्थकहरु पनि।

दुर्गा प्रसाईं मेडिकल व्यवसायी हुन्। राजतन्त्रको उन्मादमा उनी अहिले छन्। त्यसैले त उनी उग्रता प्रदर्शन गर्दै खुलमखुला कसैलाई आक्रमण गर्न आह्वान गरिरहेका छन्।

बल्खुमा कार्यक्रम आयोजना गरेर प्रसाईंले पार्टीका नेताहरुलाई जहाँ भेट्यो त्यही ‘ठेगान’ लगाउन अराजक अभिव्यक्ति दिए। कोही नेताको घर घेरा हाल्न आह्वान गरे। जुन नेपालको संविधानसम्मत छैन।

उनले नेताहरूमाथि अराजक अभिव्यक्ति दिएनन् मात्र देश नै ठप्प पार्ने बताए। राजतन्त्र ल्याउनका लागि सिंहदरबार कब्जा गर्नेदेखि फेरि देश नै ठप्प पार्ने उनको भनाइ छ।

अराजक त उनी मात्र कहाँ भएर र? उनका समर्थक पनि भए। देशभरबाट काठडमाडौँ आएका उनीहरुले प्रसाईंको अराजक अभिव्यक्ति सुनेपछि प्रहरीमाथि जाइ लागे।

प्रहरीलाई ढुंगामुढा गरे।

प्रसाईंले यस्तै अराजकता प्रर्दशन गर्छन् भन्ने सुँइको पाएको काठमाडौं प्रशासनले उनलाई माइतीघरमा प्रदर्शन गर्न निषेध गरिदियो। र, बल्खुतिर पठाइदियो।

बिहीबार बिहान ११ बजेसम्म बल्खु शान्त थियो। कीर्तिपुरबाट आएका केही मान्छे प्रसाईंका समर्थक सडकमा थिए। गाडी निर्वाध रुपमा चलेको थियो।

तर, १२ बज्यो। एकहुल कलंकी क्षेत्रबाट प्रसाईंको आह्वानमा आएकाहरु आए, बल्खुको कार्यक्रमस्थल अगाडि। गणतन्त्रविरुद्ध नारा लगाए। शंख फुके। हल्ला गरे। माहोल ठिकै थियो। यत्ति स्वभाविक थियो।

कार्यक्रमलाई क-कसले सम्बोधन गर्ने पूर्वतयारी त्यति थिएन। प्रसाईं मुख्य वक्ता भनिएका थियो। वक्ताका लागि दुई गाडी स्टेज बनेर कार्यक्रम स्थलमा अडिएका थिए।

प्रहरी सोही तयारीका साथ कार्यक्रम स्थलभन्दा केही अगाडि काँडेतार लगाएर सुरक्षामा उभिएको थियो, ललितपुरतर्फ। सम्भवतः प्रहरीले प्रदर्शनकारीलाई काँडेतार अगाडि जान नदिने सोच बनाएको थियो।

शंख बजाउँदै कार्यक्रमस्थलमा आएका प्रदर्शनकारीले कहाँ प्रहरीलाई मान्थे र? कार्यक्रम स्थलभन्दा अगाडि बढ्न थाले। प्रहरीले रोक्ने खोजे। उनीहरुले मानेन्, काँडेतारभन्दा अगाडि बढिहाले, बल्खु चोकतिर। बल्खु चोकमा प्रहरी सुरक्षाका लागि अर्को घेरा थियो।

उनीहरु काँडेतारभन्दा अगाडि बढेपछि चक्रपथको यातायात ठप्प भयो। चक्रपथ प्रदर्शनकारीले भरिन थाले। ललितपुरबाट अर्को हुल प्रदर्शनकारी आए। प्रसाईंको प्रदर्शनले आकार ठुलो बनाउँदै गयो।

यहीबीचमा हो, बाइकको कर्कस आवाज लिएर केही हुल युवाले उग्रता प्रदर्शन गरेको। बाइकको उग्रताबाट सुरु भएको प्रदर्शन यत्तिमै रोकिएन।

दुर्गा प्रसाईंले कसैलाई ठेगान लगाउने अभिव्यक्ति दिनु र संघीय सरकार सांसद राप्रपाका नेता ज्ञानेन्द्र शाहीले कार्यक्रममा आएपछि प्रदर्शनस्थलको माहोल थप बिग्रियो। अर्थात्, थप उग्र बन्दै गयो।

त्यसैमा एक जनाले भनिदिए, ‘अब यो हुल सहर पस्छ।’ त्यसपछि प्रदर्शनमा उत्रिएकाहरु सहर पस्ने तयारी गरे। र, बढे बल्खु चोकतिर।

यसै प्रशासनले तोकिदिएको ठाउँमा प्रसाईंले कार्यक्रम गरेनन्। बीच सडकमा कार्यकम गरे। प्रशासनले भनेको ठाउँमा नगरेर प्रहरी प्रशासनलाई प्रसाईंहरुले पहिल्यै चिढाइसकेका थिए।

त्यसैमा निषेध क्षेत्रतर्फ जाने योजनासहित उनीहरु अगाडि बढे। प्रहरीलाई रोक्न हम्मेहम्मे बनाए। त्यसैमा प्रदर्शनकारीहरुले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले प्रतिकार गर्‍याे।

पटक–पटक अश्रुग्यास प्रहार गर्‍यो। पानीको फोहराले हान्यो। र, दुई पक्षबीचमा झडपको स्थिति बन्यो। तर, प्रर्शनकारीहरु बल्खु चोकबाट कालीमाटीतिर छिर्ने प्रयास भने गरिरहे।

यति गर्दा पनि प्रहरी भने संयमित बनिरह्यो। ठूलो संख्यामा उपस्थित सुरक्षाकर्मीले त्यति बल प्रयोग गरेनन्। तर, जब बढी ढुङ्गा प्रहार भयो, प्रहरीले लाठी प्रहार गर्‍यो।

अनि दुर्गा प्रसाईंहरु तितबितर बने। कोही घर फर्किए। दुई पक्षकोबीचको झडपमा केही घाइते भएका छन्। तर, एकिन विवरण यो समाचार तयार पर्दासम्म आइसकेको छैन।

पुनः शुक्रबार प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन्। जुन आज एमालेको युवा संघले कार्यक्रम गरेको स्थल हो।

अहिले एमालेका नेता महेश बस्नेत र प्रसाईंबीच दोहोरो आरोपप्रति आरोप भइरहेको छ।

प्रकाशित मिति: : 2023-11-23 20:11:00

प्रतिकृया दिनुहोस्