घरेलु मैदानमा स्तब्ध बनेको नेपाल

Photo - ANFA
Photo - ANFA

फिफा विश्वकप एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यमनसँग घरेलु मैदानमा हार्यो। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा यमनले घरेलु टोली नेपाललाई २-० ले सहज रुपमा पराजित गर्यो।

१३ हजारभन्दा बढी दर्शकको दरिलो साथ पाएको नेपाली फुटबलले अन्तत: निराशाजनक प्रदर्शन गर्न पुग्यो। यमनसँग दुई गोलले पराजित भएपछि नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसेले सोचेको जस्तो प्रदर्शन गर्न नसकेको बताए। उनले भने, 'मैले टोलीबाट राम्रै खेले अपेक्षा गरेको थिएँ, सोचेको जस्तो नतिजा आउन सकेन।'

सुरुवातीदेखि नै निकै रोमान्चक बनेको खेल अन्तत: यमनले आफ्नो पक्षमा पार्न सफल भयो। पहिलो हाफ बराबरीमा रोकिएको खेल दोस्रो हाफमा यमनले उत्कृष्ट सुरुवात दिलाउन थाल्यो। खेलको ७२औँ मिनेटमा यमनले नेपालविरुद्ध अग्रता लियो।

यमनका ओमर अब्दुलह दाहीले डि बक्स बाहिरबाट गरेको गोलले खेलको सबैभन्दा उत्कृष्ट गोल रहन पुग्यो। 'यमनको दुबै गोल एकदमै उत्कृष्ट थियो, अझै ओमरले गरेको त्यो पहिलो गोल एकदमै राम्रो थियो,' प्रशिक्षक एनेसेले भने।

त्यसपछि यमनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गर्यो। जुन गोल यमनका लागि पर्याप्त हुन पुग्यो। यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाह अल–दाहीले गरे। नेपालविरुद्धकाे जितसँगै यमनले ३ अंक बटुल्न सफल भएको छ।

यता, घरेलु मैदानमा नेपाललाई हराएको यमनका प्रशिक्षक मिलोस्लाभ सुकुपले नेपालसँग खेल्न सजिलो नरहेको बताए।

उनले भने, 'नेपालविरुद्ध हामीले उसैको घरेलु मैदानमा खेल्न सहज थिएन, नेपाल राम्रो टोली हो', उनले भने, 'अझै नेपाली समर्थकहरु देखेर हामी निकै खुसी छौँ।'

छनोटअन्तर्गतको दोस्रो चरणको पहिलो खेलमा नेपाल र यमन दुबै पराजित भएका थिए। त्यसअर्थ दुबै टोली मंगलबार बेलुका भएको खेलमा दुबै टोलीले जित चाहन्थे।

घरेलु मैदानमै समर्थकलाई निराश बनाएको भन्दै प्रशिक्षक एनेसेले माफी मागे। 'नेपाली फुटबलाई माया गर्ने समर्थक उल्लेखनीय छ, तर हिजो हामीले यो नतिजा सोचेका थिएनौँ', उनले भने, 'यो हारको जिम्मेवारी म लिन चाहन्छु र सबै समर्थकसँग माफी माग्न चाहन्छु।'

नेपालले यमनविरुद्ध गोल गर्ने धेरै अवसर पाएको थियो तर अवसरको सदुपयोग गर्न नसक्दा नेपाल चुक्न पुग्यो।

यसअघि भएको पहिलो खेलमा नेपाल यूएईसँग ४-० ले हारेको थियो। तर, नेपाल घरेलु मैदानमा यमनलाई हराउने दाउमा थियो। अब नेपालले चैतमा बहराइनसँग होम एण्ड अवे दुबै खेल खेल्नेछ।

प्रकाशित मिति: : 2023-11-22 17:05:00

प्रतिकृया दिनुहोस्